जलवायु परिवर्तनबाट हिमाली क्षेत्रलाई जोगाउने चुनौती
दस्तावेज, जेष्ठ १४ गते सोमवार ,२०७५, काठमाण्डौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला टेकेको ६५ वर्ष पुगेको छ । दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथामाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिनुभएको थियो । सोही दिनको स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रुपमा मनाउने गरेको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो ।
संयोग पनि कस्तो परेको छ भने गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ । जनताको त्याग र बलिदानले प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र र सगरमाथा दिवस एकै दिन पर्नुलाई पनि नेपालको आफ्नै महत्व र विशिष्टता छ भन्ने पनि स्पष्ट भएको छ ।
सगरमाथामा मानव पाइला पुगेको उक्त घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपाललाई सगरमाथाको देश भनेर संसारभर चिनायो । मानिसले सगरमाथा र नेपालको परिचयलाई जोडेर हेर्नसमेत थाले । सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला पुगेसँगै हालसम्म करीब आठ हजार पर्वतारोहीले शिखर चुमिसकेका छन् । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ वटा रहेका छन् । जुन नेपालको आफ्नो सम्पत्ति हो ।
सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आएको छ । नेपालमा सन् २००८ मा साहसी आरोही हिलारीको निधन भएको सन्दर्भ पारेर यो दिवस मनाउन थालिएको हो ।
यसपटक ११औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको छ । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई महत्व दिएको सन्दर्भमा पनि विश्वको शिर सगरमाथाले आम मानिसको ध्यान केन्द्रित गरेको छ । सगरमाथा आरोहणको ६५ वर्ष वर्ष जस्तै यस वर्षको वसन्त ऋतुमा पनि देश विदेशका पर्वतारोहीले कीर्तिमान कायम गरेर साहसको परिचय दिएका छन् ।
आरोहणमा मात्रै नभई समाचार सम्प्रेषणमा समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको होडबाजी नै चल्ने गरेको छ । त्यसले नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार मात्रै नभई आन्तरिकरुपमा राजश्व वृद्धिमासमेत योगदान पु¥याएको छ । यस वर्षको वसन्तऋतुमा मात्रै ४०० जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।
सगरमाथा आरोहमा होडबाजीका साथै आरोहीले नयाँ कीर्तिमानसमेत थप्दै गएका छन् । त्यसमध्यको एक हुन् कामीरिता शेर्पा । शेर्पाले सगरमाथाको २२ पटक आरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गर्नुभयो ।
फुर्वा तेञ्जिङ शेर्पाले १३ पटक आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभयो । उहाँले २४ वर्षको उमेरमा नौ पटक, तीन दिनमा दुई पटक सगरमाथाको चुुचुरोमा पुगेर कीर्तिमान थप्नुभयो । यसैगरी ल्हाक्पा शेर्पाले नौ पटक सगरमाथाको चुचुरोमा पुगेर महिला आरोहीको नाम विश्व मानचित्रमा दर्ता गराउनुभयो ।विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल देश नेपालको शानका रुपमा रहेको सगरमाथा विश्व शान्ति र भ्रातृत्वको साझा चौतारी समेत बनेको छ ।
सगरमाथा आरोहण जोखिमपूर्ण र संवेदनशील यात्रा हो । यस जोखिमपूर्ण आरोहणका क्रममा केही आरोहीले सगरमाथाकै काखमा आफ्नो जीवन उत्सर्ग गरेका छन् । एक तथ्यांक अनुसार हालसम्म करीब २८० जना आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् । यस वर्ष पनि एक नेपाली सहित दुई विदेशी आरोहीको आरोहणकै क्रममा निधन भयो ।
पहिलो नेपाली महिला आरोही पासाङ ल्हामु शेर्पादेखि ८२ वर्षको वृद्ध उमेरमा पनि युवा जोशका साथ पूर्वपरराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायले सगरमाथा आरोहण गर्ने प्रवल इच्छा राखी सगरमाथामै काखमा आफ्नो जीवन उत्सर्ग गर्नुभयो । मीनबहादुर शेरचनलेसमेत आरोहणकै क्रममा आफूलाई बिसाउनुभयो ।
आप्पा शेर्पाले २१ औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभयो । सोह्र वर्षको उमेरमा सफल आरोहण गरी तेम्बाछिरी शेर्पाले सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने आरोहीको नाम राख्नुभयो ।
यसैगरी प्रथम महिला आरोही जापानकी जुन्को ताबेइ, प्रथम महिला नेपाली आरोही पासाङ ल्हामु शेर्पा, कृत्रिम अक्सिजनबिना आरोहण गर्ने फ्रान्सेली नागरिक राइनहोल्ड मेस्नर, सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने पेम्बादोर्जे शेर्पा, बाबुछिरी शेर्पा र कृत्रिम खुट्टाको प्रयोगले आरोहण गर्ने नवाङ शेर्पा र पहिलो दक्षिण एसियाली महिला पत्रकार शैली बस्नेतको कीर्तिमान र अदम्य साहसको नेपाल र विश्व समुदायले सधैँ कदर र सम्मान गर्दै आएको छ ।
नेपाली र विदेशी आरोहीले सगरमाथालाई विश्वमा चिनाउन तथा नेपालको पर्वतीय पर्यटन प्रवर्द्दनका क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छ । सगरमाथा दिवसका अवसरमा सरकार र पर्यटन व्यवसायी संघ संस्थाले संयुक्त रूपमा सगरमाथा आरोहीलाई सम्मान गर्ने, प्रभातफेरी, र्याली, लुक्लामा सरसफाइ अभियान, एभरेष्ट म्याराथुन, र्याफ्टिङ महोत्सवको आयोजना गरिएको छ । सगरमाथाले छ दशकको अवधिमा नेपाललाई यथेष्ट नाम र दाम दुवै दिएको छ ।
जलवायु परिवर्तनबाट हिमालय क्षेत्रमा परिरहेको नकारात्मक असरप्रति गम्भीर भई सचेतना अपनाउनुपर्ने आवश्यकता पनि उत्तिकै रहेको नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाको भनाई छ । उहाँले विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हिमालका हिउँ पग्लिदै गएका कारण हिम पहिरो जाने र हिम ताल फुटने खतराप्रति नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग प्राप्त गरी दीर्घकालीन लक्ष्यका साथ अगाडि बढ्नु जरुरी रहेको छ भन्नुभयो ।
सगरमाथालाई केही समय विश्राम दिनुपर्ने सुझाव केही आरोहीको छ । हिमाली वातावरणको संरक्षण र सरसफाइका नाममा केही खाली सिसी र सिलिन्डर संकलन गरी ल्याउने बाहेकका अन्य ठोस र दीर्घकालीन योजना तथा कार्यक्रम हुन सकेको छैन । हिमालको वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षण हुनुपर्ने हिमाली क्षेत्रका जनताको जीवनस्तरको सुधार गर्दै जानुपर्ने आवाज पनि पछिल्लो दिनमा उठेको छ ।
दिवसका अवसरमा मंगलबार बिहान ठमेलदेखि भृकुटीमण्डप सम्म प्रभातफेरीको आयोजना गरिएको छ भने राष्ट्रियसभा गृहमा सगरमाथा दिवसको विशेष समारोह हुनेछ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले सगरमाथा राष्ट्रको गौरव भएकाले यसको प्रवर्द्दनका लागि सरकारले विशेष प्रथामिकता दिएको बताउनुभयो ।
उहाँले विश्वकै शिर सगरमाथाको गरिमालाई उँचो बनाउन व्यवस्थित आरोहण र पर्यावरणीय कायम गर्न सरकार लागिपरेको धारणा व्यक्त गर्नुभयो । दिवसलाई भव्यरुपमा सफल बनाउन पर्यटन मन्त्रालयका सचिवको अध्यक्षतामा मूल समारोह समितिसमेत गठन गरिएको छ ।
रमेश लम्साल/सिबी अधिकारी ,रासस