Logo

गोरखाकी बालिकालाई देखेपछि डा. देवकोटा भए भावुक

स्तावेज , बैशाख २३ गते आइतवार २०७५, काठमाण्डौं – आफैंले स्थापना गरेको बाँसबारीस्थित न्युरो अस्पतालको दोस्रो तलाको ‘होप’ वार्डको एउटा कोठामा सोफाअगाडि खुट्टा फैलाएर बस्न सहज हुने गरी साना टेबुल राखिएका छन्। अगाडि उपचार सहायताका विभिन्न उपकरण तयारी अवस्थामा छन्। वरिष्ठ स्नायु विशेषज्ञ डा.उपेन्द्र देवकोटासँगै सोफामा लहरै बसेका छन्, पत्नी डा.मधु, छोरीहरु मेघा, बसुधा र मन्जरी।

बेलायतमा आफ्नो उपचार सम्भव नभएपछि बाँकी जीवन नेपालमै बिताउने अठोट सहित फर्किएका डा.देवकोटालाई भेट्न अस्पतालमा दिनहुँ आफन्त र शुभेच्छुकको भीड लाग्ने गरेको खबर आजको नागरिक दैनिकमा छापिएको छ । उनी अस्पतालको सोही वार्डमा बसेर आफन्त र चिकित्सा सेवामार्फत आफूले जीवन दिएकाहरुसँग पीडा भुल्दै आत्मविश्वास बटुलिरहेका छन्। शुभेच्छुकसँग नातासम्बन्धदेखि उनीहरुसँग जोडिएका घटना कोट्याउन भुल्दैनन् डा. देवकोटा।

शुभेच्छुकहरुको सदासयताले उनलाई आफ्नो जीवनमा कुनै चमत्कार (मिराकल) हुने आशाको दियो निभ्न दिएको छैन। ६ महिनासम्म उपचार गरी अघिल्लो शनिबार बेलायतबाट स्वदेश फर्किएपछि डा. देवकोटा दिनचर्या यसरी नै बित्दै आएको छ। यस्तो दिनचर्यामा शनिबार उनका अगाडि एउटा विशेष पात्रको प्रवेश भयो। ती पात्र हुन् गोरखा पालुङटारकी १३ वर्षीया बालिका राधिका बस्नेत। राधिका देखेपछि डा. देवकोटा केहीबेर टोलाए।

उपचारका लागि बेलायत जानुअघि उनले गत मंसिर १ गते राधिकाको ब्रेन ट्युमरको शल्यक्रिया गरेका थिए। उनी त्यसपछि शल्यकक्षमा छिरेका छैनन्। ‘अब म सायद बिरामीको सेवामा फर्किन पाउने छैन’ डा. देवकोटाले यसअघि नै भनिसकेका छन्। राधिका नजिकै आएपछि परिवारका सदस्यलाई सोफाबाट उठ्न लगाई डा. देवकोटाले उनलाई बोलाएर आफूसँगै बसाले।

उनले सोधे, ‘तिमीलाई कस्तो छ? पढ्न जान्छ्यौ ? पहिलाजस्तो अप्ठेरो त छैन नि?’ बिस्तारै बालिकाको टाउकोमा हात पु¥याएर र मुसारे, एउटा कलाकारले रचना गरेको सुन्दर सिर्जना सुस्तरी छोएजस्तै । ‘सी वाज माई लास्ट केस’ डा. देवकोटाले बालिकालाई चिनाउँदै आफन्तसँग भने। उनले बालिकालाई मास्क खोल्न लगाएर सँगै तस्बिर खिचाए। ‘लाइट बाल न, राम्रो आउँछ,’ उनले भने। त्यसपछि पत्नी मधुले कोठाको पर्दा बन्द गरिन्। छोरी मेघाले लाइट बालेर तस्बिर खिचिन्। डा. देवकोटालाई देखाइन् ।

उनले बालिकालाई ‘हेर त’ भन्दै फोटो देखाए । बालिका मुस्कुराइन्। देवकोटाको अनुहारमा सन्तोष झल्कियो । डा. देवकोटाको परिवारले भेट्न जाने शुभेच्छुक र सञ्चारमाध्यमलाई फोटो नखिच्न आग्रह गरेको छ। उनले चाहेका क्षणहरु भने छोरीहरुले मोबाइलमा कैद गरिदिन्छन्। देवकोटा नेपाल फर्किएको थाहा पाएपछि राधिकालाई लिएर बाबु ईश्वर र आमा सीता शुक्रबार गोरखाबाट काठमाडौं आएका हुन्। राधिका पालुङटारकै भवानी माविमा कक्षा ७ मा पढ्छिन्।

एक दिन अचानक बान्ता भई टाउकोमा समस्या भएपछि अभिभावकले राधिकालाई काठमाडौं ल्याएका थिए। बागबजारस्थित एक अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा ब्रेन ट्युमर पुष्टि भएपछि उनका अभिभावक देवकोटाको घरमै पुगेका थिए। ‘नआत्तिनुस्, यो नानीको अप्रेसन मै गर्छु,’ आमा सीताले सम्झिइन्, ‘बिरामी हुनुभएको रहेछ, तर वचन दिएको छु भनेर अप्रेसन गर्नुभयो।’

डा. देवकोटालाई भेट्न शनिबार पालुङटारकै राधिका देवकोटा पनि आएकी थिइन्। उनको पनि देवकोटाले १५ वर्षअघि शल्यक्रिया गरेका थिए। ‘अब १० वर्ष केही हुँदैन,’ त्यतिबेला डा. देवकोटाले भनेको राधिकाले सम्झिइन् ‘१५ वर्ष भयो स्वस्थ छु ।’

देवकोटालाई देखेपछि उनी भक्कानिँदै कोठाबाट बाहिरिइन्। त्यसपछि डा. देवकोटाले आफन्तसँग भने, ‘ठूली राधिका खै ? बोलाउनुस् त।’ उनी पनि नजिकै आइन्। डा. देवकोटाले उनको हालखबर सोधे । केही समयअघि गाउँ जाँदा डा. देवकोटाले राधिकालाई के छ भनेर धाप मारेका थिए।

‘उपेन्द्र डाक्टर साप्ले धाप मारेको मान्छे भनेर मलाई सबैले भने, उहाँ गाउँ, जिल्लामात्रै होइन, देशकै गहना हो,’ राधिका देवकोटाले भनिन्। देवकोटा गाउँ जाँदा पनि आफूले उपचार गरेका व्यक्तिको स्वास्थ्य अवस्थाबारे सोधखोज गरिहरन्छन्।

‘आफू असाध्य रोग लागेर बसिरहनुभएको छ, उहाँलाई भेट्न आउनेहरुको स्वास्थ्यको बढी चिन्ता छ,’ ईश्वरले भने।

पित्तथैलीको क्यान्सर भएका देवकोटालाई दीर्घजीवनको शुभकामना दिन आउनेमा उनले नयाँ जीवन दिएका बिरामीदेखि उच्चपदस्थ, समाजका लब्धप्रतिष्ठित र साथी/सहकर्मीसमेत छन्। डा. देवकोटालाई भेट्न शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी र गृहमन्त्री रामबहादुर थापा अस्पताल पुगेका थिए।

कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्य पत्नी शारदासहित पुगेका थिए। आचार्यलाई केही वर्षअघि मस्तिष्कघात हुँदा देवकोटाले नै उपचार गरेका थिए। अस्पताल पुगेका शुभेच्छुकहरुले विशिष्ट क्षमताको डाक्टरमाथि आइपरेको विपत्तिप्रति दुःखेसो व्यक्त गरिरहेका छन्।

पूर्व स्वास्थ्य सचिव डा.सुधा शर्माले शुभेच्छा पुस्तिकामा चिकित्सा पेसामा उच्च सीप आर्जन गरका डा. देवकोटा आँट र साहसजस्ता विशिष्ट गुणका कारण सम्मानित व्यक्तित्व भएको लेखेकी छन्। उनले डा. देवकोटाका यी विशिष्ट गुणलाई निरन्तरता दिएर दीर्घजीवनका लागि भगवानसँग प्रार्थना गरेकी छन्।

‘असाध्य रोग लाग्दा पनि म मेरै देशमै शुभेच्छुक, आफन्त र परिवारसँगै बिताउँछु भनेर फर्किएर फेरि सकारात्मक सन्देश दिनुभएको छ,’ डा. शर्माले लेखेकी छन्, ‘यसले उहाँप्रतिको सम्मान अझै बढाएको छ।’

डा. देवकोटालाई गत कात्तिकमा स्वास्थ्य समस्या देखिएको थियो। सर्वप्रथम उनको ग्यास्ट्राइटिसको उपचार गरिएको थियो । केही दिनपछि सिटी र एमआरआई गर्दा पित्तनली थिचिएर ‘अबस्ट्रक्टिभ जन्डिस’ भएको देखिएको डा. देवकोटा आफैंले बताएका छन्।उनी मंसिर ५ गते थप उपचारका लागि बेलायत गएका थिए । बेलायतको किङ्स कलेज हस्पिटलमा अल्ट्रासाउन्ड र वायस्पी गर्दा उनको कोलोन्जियो कार्सिनो (पित्तथैली) मा क्यान्सर प्रमाणित भएको थियो।

त्यहाँ माघ ११ मा केमोथेरापी सुरु गरिएको थियो । तीन चरणसम्म केमोथेरापी गर्दा पनि उनको स्वास्थ्यमा सुधार भएन । पित्तथैलीको शल्यक्रियासमेत गर्न नमिल्ने अवस्था आएपछि उनले ‘एक्सपेरिमेन्टल ट्रिटमेन्ट’ गरेर विदेशमा बस्नुभन्दा स्वदेश फर्केर बाँकी जीवन बिताउने अठोट गरी फर्केको बताएका छन्।

अस्पताल पुगेका सबै शुभेच्छुकसँग आफ्नो भेट गराउन उनले आफन्तलाई आग्रह गरेका छन् । ‘सबैसँग भेट्नुहुन्छ र छोटो कुरा पनि गर्नुहुन्छ, कसैलाई हेरेर अभिवादन फर्काउनुहुन्छ,’ भतिजा वसन्त देवकोटाले भने। ३७ वर्ष लामो चिकित्सा पेसामा बिताएका डा. देवकोटाले करिब ३४ हजार व्यक्तिको शल्यक्रिया गरेका छन्। यस्तै आफूले सात लाख ५० हजारभन्दा बढी बिरामीको उपचार गरेको आफन्तसँग बताउने गरेका छन्।

गोरखाको अमरज्योति जनता माविबाट विद्यालय शिक्षा पूरा गरेका देवकोटा एसएलसीमा बोर्डमा परेका थिए । उनी कलेजमा पनि अब्बल विद्यार्थीका रुपमा चिनिए।

२५ वर्षसम्म वीर अस्पतालमा सेवा गरेका डा. देवकोटा सात महिना स्वास्थ्यमन्त्री भएका थिए। त्यसपछि उनी न्युरो अस्पताल स्थापना गरेर सेवा पु¥याउँदै आएका छन्। कविराज होमनाथ देवकोटाका छोरा उपेन्द्रले पाँच वर्षअघिको एउटा अन्तरवार्तामा बुबाले गाउँमा पु¥याएको सेवा देखेरै डाक्टर हुने इच्छा जागेको बताएका थिए ।

देवकोटाले अमृत साइन्स क्याम्पसबाट आइएसी र शिक्षा मन्त्रालयको छात्रवृत्तिमा भारतको आसाम मेडिकल कलेजबाट एमबिबिएस गरेका हुन् । एमबिबिएसपछि उनले उनले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज क्याम्पसमा पढाएका थिए।त्यसपछि मेडिकल अफिसरका रुपमा वीर अस्पतालको सर्जरी विभागमा प्रवेश गरेका उनी चर्चित सर्जन डा. दिनेशनाथ गंगोलसँगको निकटताले शल्यचिकित्सातर्फ आकर्षित भएका थिए।

वीरमा काम गर्दागर्दै उनी न्युरो सर्जरी पढ्न बेलायत गएका थिए । चिकित्साशास्त्रमै सबैभन्दा जटिल विधा न्युरोसर्जरी उनले तालिम अवधि नसकिँदै पूरा गरेका थिए। बेलायतमा रहँदा उनले करिब ६ वर्षसम्म सिटी स्क्यान आविष्कारमा नोबेल पुरस्कार प्राप्त संस्थामा काम गर्ने अवसर पाएका थिए। ‘बेलायतको उत्कृष्ट संस्थाको एक्स्पोजरले नै आफ्नो सोचाइ, आँट र सीपलाई अझै परिष्कृत गरेको’ डा। देवकोटाले एक प्रसंगमा बताएका छन्।

वीरमा उनकै नेतृत्वमा सन् १९८९ मा न्युरो सर्जरी विभाग स्थापना भएको थियो । २५ वर्षे सरकारी सेवामा देवकोटाले उपचार सेवासँगै थुपै न्युरो सर्जनसमेत जन्माएको चिकित्सकहरु बताउँछन्। उनी स्वास्थ्यमन्त्री भएका बेला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) स्थापना भएको थियो।

मन्त्रीबाट हटेको केही समयपछि देवकोटाले बाँसबारीमा न्युरो अस्पताल एवं तालिम केन्द्र स्थापना गरेका थिए। नेपालमा न्युरो सर्जरी क्षेत्रको विकासमा डा. देवकोटाको विशेष योगदान रहेको मानिन्छ। पछिल्लो समयमा चिकित्सा शिक्षा क्षेत्रमा भएको अनियमिततासम्बन्धी जाँचबुझका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगको सदस्य भएर डा.देवकोटाले काम गरेका थिए। आयोगले चिकित्सा शिक्षामा सम्बन्धन, सिट निर्धारणलगायतका प्रक्रियामा दोषी ४३ जनामाथि कारबाहीसहित अन्य विभिन्न सुधारको सुझाव सरकारालाई दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्