Logo

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

स्तावेज संवादादाता,बैशाख,१५ गते शनिवार २०७५,रुपन्देही –  बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु भएको छ । ‘लुम्बिनी, नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमी तथा विश्व शान्तिको मुहान’ को मुल नाराका साथ यस वर्षको बुद्ध जयन्ती मनाइँदैछ । यहीँ २५६२ औँ बौद्ध जयन्तीको पूर्व सन्ध्यामा लुम्बिनीमै पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु भएको हो ।

लुम्बिनीमा आयोजित एक विशेष समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गरेका छन् । त्यस अवसरमा मन्त्री अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको उल्लेख गर्दै बुद्धको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रले अध्ययन, अनुसन्धान गर्ने थलो नै लुिम्बनी रहेको बताए ।

गुरुयोजना शुरु भएको झण्डै आधा सताब्दी पुग्नै लाग्दा पनि पूरा हुन नसकेको लुम्बिनीको बृहत्तर गुरुयोजना अबको ढाई वर्षमा पूरा हुने मन्त्री अधिकारीको भनाइ छ । अब कुनै पनि वहानामा यो गुरुयोजनामा ढिलाई स्वीकार्य नहुने मन्त्री अधिकारीले बताए । उनले बजेटको अभाव वा यस्तै कुनै वहानाले लुम्बिनीको गुरुयोजना प्रभावित हुन नहुने दोहोराएका थिए । 

केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेका बेलामा दुई वर्ष अघि लुम्बिनी आएर लुम्बिनीलाई सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै गुरुयोजना  छिटो सक्न निर्देशन दिएका थिए । उनै ओली अहिले दोस्रो पटक प्रधानमन्त्री बनेका छन् भने आज लुम्बिनीमा आउँदैछन् । 
 
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमै प्रधानमन्त्री आउने कुरा भए पनि पछि संस्कृति तथा पर्यटनमन्त्री अधिकारीले सम्मेलनको उद्घाटन गरे । मन्त्री अधिकारीले तिलौराकोट, देवदह, रामग्राम र लुम्बिनी जस्ता बुद्धसँग सम्बन्धित क्षेत्रहरुलाई जोडेर ग्रेटर लुम्बिनीको अवधारणा अघि ल्याइएको बताए । 

सम्मेलन उद्घाटन शत्रमा बोल्दै पूर्व संस्कृति तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाललाई शान्ति वार्ताको थलो र बौद्धसँग सम्बन्धित विषयको अध्ययन अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गर्न पहल गरिने बताए । 

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्ती व्यवस्थापन समितिका संयोजक तथा लुम्बिनी विश्वबिध्यालयका उपकुलपति डा. नरेशमान बज्राचार्य, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेतैया)लगायतले सम्मेलनले बुद्ध जन्मस्थललाई संसारभरका बौद्धमार्गीहरुको प्रेरणाको स्रोतका रुपमा परिचित गराउन मद्दत मिल्ने बताएका थिए । 

शनिबारदेखि शुरु भएको दुई दिने सम्मेलनमा २३ देशका विभिन्न मुलुकबाट बौद्धसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत भएका छन् । सम्मेलनमा ७० जना विदेशी प्रोफेसर, प्रकाण्ड धर्मगुरु र बौद्ध विद्वान्को सहभागिता रहेको उपाध्यक्ष त्रिपाठीले जानकारी दिए । आज लुम्बिनी घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समापन हुनेछ । 
साथै २५६२ औं बुद्ध जयन्तीको पूर्वसन्ध्यामा तीन दिने विभिन्न कार्यक्रमहरु यहाँ भएका छन् । जयन्तीको मूल समारोह भने भोलि १७ गते हुँदैछ । त्यस दिन विहान विशेष प्रभातफेरि कार्यक्रमको तयारी भइरहेको छ । 

प्रभातफेरिमा प्रधानमन्त्रीसहित विशिष्ट पाहुनाहरु सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री भने आज (आइतबार) लुम्बिनी बौद्ध विश्वबिध्यालयको दीक्षान्त समारोहमा आउने कार्यक्रम छ । 

सम्मेलनको व्यवस्थापन फितलो  ?

सम्मेलनका सहभागीहरुले भने व्यवस्थापन फितलो भएको गुनासो गरेका छन् । ठूलो महत्वको कार्यक्रम भए पनि सम्मेलनको व्यवस्थित तयारी हुन नसकेको केही सहभागीको भनाइ छ । 

लुम्बिनी विकास कोषद्वारा आयोजित बौद्ध सम्मेलनमा अतिथीहरुलाई बस्नका लागि कोषले प्रयाप्त कुर्सी, सम्पर्क व्यक्ति लगायतको राम्रो व्यवस्थापन नगर्दा बौद्ध सम्मेलनको व्यवस्थापन फितलो भएको छ । बौद्ध सम्मेलनका आमन्त्रित अतिथीहरु बस्नका लागि कुर्सी समेत नहुदा उनीहरु भुईमै बसेका थिए । समाचार संकलनका लागि सम्मेलनमा पुगेका पत्रकारहरुसमेत अन्यौलमा पर्दै भुइँमा पलेंटी कसेर बसे । 

लुम्बिनी बौद्ध विश्वबिध्यालयको पहिलो दीक्षान्त आइतवार

लुम्बिनी विश्वबिध्यालयको पहिलो दीक्षान्त समारोह आइतवार हुँदै छ । यस विश्वबिध्यालयबाट पहिलो पटक एक सय सात बिध्यार्थी दीक्षित हुने भएका छन् । दीक्षित हुनेहरुमा १५ जना बिध्यावारिधि र ९१ जना स्नातकोत्तर गरेका रहेको विश्वबिध्यालयका रजिष्टार तिलक आचार्यले जानकारी दिए । उनका अनुसार दीक्षित हुनेमा एकजना भारतीय बिध्यार्थी समेत रहेका छन् । 

आंगिक क्याम्पस एक तथा सम्बन्धनप्राप्त क्याम्पस नौवटा रहेको लुम्बिनी विश्वबिध्यालयले श्रीलंकाको एउटा बौद्ध विश्वबिध्यालयलाई सम्बन्धन दिन पत्राचार गरेको पनि रजिष्टार आचार्यले बताए । दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुलपतिको हैसियतमा अध्यक्षता गर्नेछन् । दीक्षान्त समारोहमा विसं २०६९, २०७० र २०७१ का बिध्यार्थीहरु सहभागी हुने छन् । 

प्रतिक्रिया दिनुहोस्