Logo

साढे ३३ किलो सुन प्रकरण : गोरे विरुद्ध इन्टरपोलले दियो डिफ्युजन नोटिस

स्तावेज संवाददाता,बैसाख १२ गते, बुधवार २०७५,विराटनगर – प्रहरीले साढे ३३ किलो सुन प्रकरणमा पक्राउ गरेका २३ जनाविरुद्ध तीन प्रकारका अपराधमा मुद्दा चलाउने भएको छ । मोरङ प्रहरीले उनीहरूविरुद्ध संगठित अपराध, अपहरण र कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेको छ ।

तस्करीको सुन गायब गरेको आरोपमा उर्लाबारी–७ का युवा सनम शाक्यको हत्या भएको थियो । उनको शव १८ फागुनमा उर्लाबारी–१ स्थित जंगलमा भेटिएपछि प्रहरी अनुसन्धानबाट सुन प्रकरणबाहिर आएको हो । अरू १५ जना अझै फरार छन् ।

फरारमध्ये पाँचजना मुख्य आरोपी भनिएका चूडामणि उप्रेती उर्फ गोरेका आफन्त छन् । उप्रेती पनि फरार छन् । प्रहरीले सो काण्डमा संलग्न भनिएका सबै ३८ जनाको सम्पत्ति रोक्का गरेको छ । प्रहरीको निवेदनअनुसार मोरङ अदालतले २६ चैतमै संगठित अपराध निवारण ऐन २०७० को दफा १६ अनुसार आरोपी सबैको बैँक खाता, जग्गालगायत सम्पत्ति रोक्का गर्न अनुमति दिइसकेको छ ।

प्रहरीले गायब साढे ३३ किलो सुन प्रकरणमा मोरङ उर्लाबारीका ३५ वर्षीय गोरे भनिने चूडामणि उप्रेतीलाई मुख्य आरोपी बनाएको छ । उनी विरुद्ध इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरिएको छ । यस्तो नोटिस जारीपछि अभियुक्तलाई अन्तर्राष्ट्रिय रूपमै मोस्ट वान्टेड सूचीमा राखिन्छ । उर्लाबारी–७ पशुपतिटोल घर भएका गोरे भारतीय सेनाका जागिरे थिए । जागिर छाडेर कुवेत गएपछि उनी रहस्यमय तरिकाले रातारात धनी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्