Logo

जनप्रतिनिधिद्दारा छोराछोरीलाई सामुदायिक विध्यालयमा भर्ना गर्ने लहर

स्तावेज, बैसाख ६ गते, बिहिवार २०७५, काठमाण्डौं – कालीकोट – राष्ट्रिय भर्ना अभियानलाई सफल बनाउन कालीकोटका जनप्रतिनिधिहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विध्यालयमा भर्ना गर्न थालेका छन्। सामुदायिक विध्यालयको गुणस्तर सुधारका लागि जनप्रतिनिधिहरूले निजी विध्यालयमा पढ्ने छोराछोरीलाई सामुदायिक विध्यालयमा भर्ना गर्न थालेका हुन् ।

तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सोसल एकेडेमी बोर्डिङ स्कुलमा पढ्ने छोरा समीर शाही र छोरी शिलु शाहीलाई बोर्डिङ स्कुलबाट छुटाएर तिलागुफा नगरपालिका- ३ स्थित सत्यदेव माध्यमिक विध्यालयमा भर्ना गरेका छन्। समीर कक्षा ८ मा र शिलु कक्षा १ मा अध्ययनरत छन्। सामुदायिक विध्यालयमा शैक्षिक सुधार ल्याउन आफूले निजी विध्यालयमा पढ्ने छोराछोरीलाई गाउँकै सामुदायिक विध्यालयमा पढाउन थालेको प्रमुख शाहीको भनाइ छ।

उनले सामुदायिक विध्यालयमा नेता, शिक्षक, सरकारी कर्मचारीका छोराछोरी नपढाउने प्रचलनको अन्त्य गर्नुपर्ने बताए। ‘नेता, शिक्षक र सरकारी कर्मचारीले छोराछोरीलाई सामुदायिक विध्यालयमा नपढाउने भएका कारण शैक्षिक सुधार आउन सकेन’, उनले भने, ‘त्यसको अन्त्य गर्नका लागि मैले शहरका निजी विद्यालयमा पढ्ने छोराछोरीलाई सामुदायिक विध्यालयमा भर्ना गरेको हुँ।’ नगरपालिकाका सबै कर्मचारी, नगर कार्यपालिका पदाधिकारीहरू र शिक्षकका छोराछोरीलाई सामुदायिक विध्यालयमा अध्यायन गराउने नीति ल्याउन लागेको प्रमुख शाहीले बताए।

त्यस्तै, नरहरिनाथ गाउँपालिका- १ का वडा अध्यक्ष पृथ्वीबहादुर विष्टले पनि निजी विध्यालयमा पढिरहेका आफ्ना दुई छोराछोरीलाई गाउँकै सरकारी विध्यालयमा भर्ना गरेका छन्। नरहरिनाथ गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरूले आफ्नो पायक पर्ने सामुदायिक विध्यालयमा छोराछोरी पढाउनुपर्ने निर्णय गरेपछि गाउँपालिका शिक्षा विभाग प्रमुखसमेत रहेका विष्टले निजी विध्यालयमा पढिरहेका एक छोरा र एक छोरीलाई गाउँकै सरकारी विध्यालयमा भर्ना गरेका हुन्।

गाउँपालिकाका नौवटै वडाहरूमा भर्ना अभियान थालिएको अध्यक्ष विष्टले बताए। ‘भर्ना अभियान निरन्तर संचालन गरिनेछ’, उनले भने, ‘विध्यालय बाहिर रहेका बालबालिका र जनप्रतिनिधिहरूका छोराछोरी अनिवार्य सामुदायिक विध्यालयमा भर्ना गर्नुपर्नेछ।’ उनका अनुसार कार्यालय सहायक उदयराम विष्टले पनि निजी विध्यालयमा पढिरहेको छोरालाई गाउँको सरकारी विध्यालयमा भर्ना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्