Logo

मेलम्ची खानेपानी आयोजना अन्तिम चरणमा, असोजदेखि १७ करोड लिटर पानी राजधानी भित्रिने

 

स्तावेज संवाददाता चैत्र २८ गते बुधवार २०७४,,काठमाडौँ – बहुप्रतीक्षित मेलम्ची खानेपानी दसैं अघि नै राजधानीमा वितरण हुने भएको छ। मेलम्ची आयोजनाको मंगलबार सिन्धु–ग्याल्थुम खण्डको साढे सात किलोमिटर सुरुङको निर्माण सम्पन्न भएपछि असोजमै दैनिक १७ करोड लिटर खानेपानी राजधानी आउने भएको हो।

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको तेस्रो एवं अन्तिम सुरुङको निर्माण सम्पन्न’ भएको जानकारी दिइन्। उनले भनिन्, ‘मेलम्ची खानेपानीका लागि २६ किलोमिटर लामो सुरुङ खन्ने काम आज सकिएको छ, अब सुरुङको फाइनल फिनिसिङ गर्ने, हेडबक्र्स र अन्य केही काम बाँकी छन् तिनलाई लगभग चार महिनामा सक्ने लक्ष्य छ।

अब राजधानीबासीले ढिलोमा दसैंअघि नै मेलम्चीको पानी पिउन पाउनेछन्।’ फागुन ६ गते मन्त्रालय सम्हालेपछि मन्त्री मगरले स्थलगत निरीक्षण गरी रोकिएको काम अघि बढाउन सम्बन्धित व्यवसायी सिएमसी र आयोजना प्रमुखलाई निर्देशन दिएकी थिइन्। उनले २५ दिनभित्र सुरुङको निर्माण सम्पन्न गर्न निर्देशन दिए पनि चार दिनअगावै सम्पन्न भएको हो। मेलम्चीको कूल लागत २७ अर्ब ७६ करोडमध्ये हालसम्म २४ अर्ब २२ करोड खर्च भइसकेको छ। बजेटको करिब ८० प्रतिशत एशियाली विकास बैंक र बाँकी सरकारले व्यहोर्नेछ।

यसअघि सन् २०१६ मा सुन्दरीजल–सिन्धु खण्डको ९.४ किलोमिटर सुरुङको निर्माण सम्पन्न’ भएको थियो भने सन् २०१७ को डिसेम्बरमा ग्याल्थुम–अम्बथान खण्डको ८.२ किलोमिटर निर्माण सम्पन्न भएको थियो। यो तेस्रो निर्माणले मेलम्ची सुन्दरीजलको २६ किलोमिटर सुरुङको सम्पूर्ण काम सकिएको छ। ‘निर्धारित समयमै काम सकिए असोजको पहिलो साता र प्राविधिक समस्या भए असोजको अन्तिम साता अर्थात् दसैंअघि मेलम्चीको पानी राजधानीमा वितरण हुनेछ’, मेलम्ची खानेपानी विकास समितिका कार्यकारीनिर्देशक रामचन्द्र देवकोटाले भने।

निर्माण सम्पन्न भएको बारेको जानकारी दिन मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘दोस्रो चरणका याङ्ग्री र लार्के नदीबाट पनि दैनिक १७/१७ करोड लिटर थप गर्ने गरी काम गर्न डिजाइन परामर्शदाता छनोट भई असारसम्ममा विस्तृत डिजाइन प्रतिवेदन प्राप्त हुँदैछ।’ दुवैका लागि ११ किलोमिटर सुरुङ खन्नुपर्ने उनको भनाइ छ।

विभिन्न दातृ निकायसँगको सहकार्यमा मेलम्ची आयोजना निर्माणका लागि लगानी जुटाउने गरी २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति स्थापना गरेर काम अघि बढाइएको थियो। काम सुरु गरेको २० वर्षपछि मेलम्चीको पानी राजधानी आउने भएको हो। झन्डै तीन वर्ष काम अवरोध गरेपछि सन् २०१२ मा निर्माण व्यवसायी सिआसीसीसँग सम्झौता तोडिएको थियो। सरकारी अनुगमनको अभाव, ठेकेदारको लापर्वाही, निर्माण सामग्रीको अभाव र भूकम्पजस्ता कारणले आयोजनाको काम लम्बिएको हो। आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले सुरुङमार्फत् सुन्दरीजलमा पानी आएको बढीमा १५ दिनमा पाइप मार्फत घरघरमा पानी पुग्ने बताए।

‘असोजदेखि मेलम्चीको पानी दैनिक १७ करोड लिटर राजधानीमा आउनेछ भने प्रत्येक घरमा दैनिक ४ घण्टा खानेपानी वितरण हुनेछ’, उनले भने। उनका अनुसार, काठमाडौं उपत्यकाका विभिन्न १० ठाउँमा रिजर्भवेयर हुने र सोमध्ये आठवटा निर्माण भइसकेका छन् भने ६ वटा पुराना प्रयोग हुनेछन्। उनले भने, ‘एक हजार किलोमिटर पाइप बिछ्याउनु पर्नेमा एक सय किलोमिटरमात्र बिछ्याउन बाँकी छ भने बिछ्याइएकोमा ७० प्रतिशतमा पानी पठाएर परीक्षण पनि गरेका छौं।’ 

प्रतिक्रिया दिनुहोस्