Logo

सर्वाधिक हेरिएको ‘डेस्पसीटो’ गीतको म्युजिक भिडियो युट्युबमा ह्याक भएको खुलासा

स्तावेज संवाददाता चैत्र २८ गते बुधवार २०७४,काठमाडौँ – हाल युट्युबमा सबैभन्दा बढी हेरिएकोे विश्व चर्चित गीत ‘डेस्पसिटो’ को म्युजिक भिडियो साइबर हमलाको शिकार बनेको छ । पाँच अर्ब भन्दा बढी मानिसहरुले हेरिसकेको यस हिट गीतको ओरिजिनल भिडियो ह्याक भएपछि अहिले त्यसको कभर तस्बिर समेत अर्कै राखिएको छ ।

भेभोको आधिकारिक च्यानलका अधिकांश भिडियोमा मास्क लगाएर बन्दुक बोकी उभिएका मानिसको समुह देखिएको छ भने वास्तविक भिडियो पनि प्ले हुन नसकेको बताइएको छ । कभर फोटोमा देखिएको सो ह्याकर समूहले आफ्नो नाम प्रोसोक्स र कुरिओइस लेखेका छन् । 

यी ह्याकरबाट प्रभावित हुनेमा अन्य दर्जनौँ चर्चित गायकहरु पनि परेको बताइएको छ । सेलिना गोमेज, साकिरा, ड्रेक र टेलर स्वीफ्ट जस्ता विश्व चर्चित कलाकारको ओरिजिनल भेभो भिडियोमा पनि यिनै ह्याकरले कब्जा गरेको बताइएको छ । 

भिडियोको तल गीतको नाम हुने स्थानमा समेत उनीहरुले ‘फ्रि प्यालेस्टाइन’ लेखेका हुन् । यसरी यी ह्याकरहरुले नाम बदलिरहेका बेला कतिपय क्लिपहरु लाइभ अवस्थामा रहेको समेत पाइएको थियो ।

कतिपय गीतका वास्तविक भिडियोको सामग्रीहरु परिवर्तन नगरिएपनि अधिकांश गीतहरुका नाम र कभर फोटो भने बदलिएको बताइएको छ । अहिले युट्युब लगायत भिभो कम्पनीले च्यानलमा नियन्त्रण पाउने प्रयास गरिरहेको बताइएको छ । हिजो मात्र ‘डेस्पसिटो’ गीतले पाँच बिलियन भन्दा बढी भ्युअर प्राप्त गरि विश्वमा सर्वाधिक हेरिएको भिडियोको रेकर्ड बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्