Logo

आफूलाई ‘ठूलो मान्छे’ ठान्ने रोग मेनिया के हो ?

स्तावेज , चैत २१ गते बुधवार ,२०७४,काठमाडौं –श्याम आजकाल बिहान ३ नबज्दै उठ्छ । सामान्यतः ऊ यति छिटो चाँडै ब्युझिने मान्छे होइन ।  यति चाँडोे उठ्दा पनि उसलाई थकाई भने लाग्दैन । बरु अझै खुशी देखिन्थ्यो। अाजकाल ऊ धेरै गीत गाउने र नाच्ने भएको थियो ।  अनि ‘त्यसो नगर’ भनेर सम्झाउँदा झनै रिसाउथ्यो । पहिले–पहिले खास बोल्ने मान्छे होइन । आजकाल नचिनेको मान्छेसँग पनि खुलेर बोल्छ । ठूला–ठूला कुरा गर्छ । करोडौंका व्यापार गर्ने, विदेशमा शाखा खोल्ने र कहिले त आफूलाई भगवानको अवतारझैँ कुरा गर्थ्यो ।

 चार दिन भइसकेको थियो । ऊ आफूले २० वर्षदेखि जागिर  गर्दै आएको अफिस पनि नगएको । अफिस जाँदा जोसँग पनि झगडा हुन्थ्यो उसको । अझ हाकिमको कोठामा गएर ‘तपाईंलाई काम गर्न आउदैन’ भन्थ्यो रे ।  पैसा त उसले खोलाजस्तै बगाएको थियो ।  साथीहरुलाई दिनहुँ पार्टी दिने, ऋण लिएर मस्ती गर्ने, जे देख्यो त्यहीँ किन्ने, नसा सेवन गर्ने, तेज गाडी कुदाउने, केटी जिस्क्याउने, र नयाँ महँगो लुगा लगाउने जस्ता काम गर्न थाल्यो । यसअघि श्यामको बानी  यस्तो थिएन । जसबाट श्यामको परिवारका सदस्यहरु अचम्मित थिए।

भूतप्रेत लाग्यो भनेर परिवारका सदस्यले झारफुक पनि गरे । तर, समस्या समाधान भएन । श्याामको बानी उस्तै रह्यो । केही दिनअघि उसले प्रहरीलाई पनि पिटेछ । त्यसपछि पुलिसले थुन्यो । बल्ल परिवारले शंका गरे, श्याममा कुनै स्वास्थ्य समस्या पो छ कि भनेर । श्याम भने आफू ठीक  रहेको जिद्दी गरिरहन्थ्यो । वास्तवमा श्यामलाई मेनिया भन्ने मानसिक समस्या रहेछ ।  बल्ल–बल्ल मनोचिकित्सकलाई देखाएर उपचार गरेपछि ठीक हुँदैछ ।

१. के हो मेनिया ? 
यो  एकप्रकारको मानसिक र मनोरोग हो ।
२. यसका लक्षण के–के हुन्छन् ?

यसका लक्षण सामान्य स्वभावभन्दा विपरित हुन्छ । जस्तै, 

निन्द्राको आवश्यकता कम हुने

शरीरमा धेरै तागत वा फूर्ति हुने

धेरै खुशी हुने वा धेरै रिसाउने 

धेरै बोल्ने, झगडा गर्ने, ठूला कुरा गर्ने 

आफूलाई ठूलो मान्छे भन्ठान्ने, अत्याधिक पैसा खर्च गर्ने

नचाहिने लगानी गर्ने, फाल्तु खर्च गर्ने 

अरुलाई मान्छे नगन्ने, कहिले धेरै पूजापाठ गर्ने, कहिले आफूलाई भगवानको अवतारसम्म दाबी गर्ने

एक ठाउँमा स्थिर भएर नबस्ने, मनमा एकपछि अर्को कुरा खलाउने 

नशा  सेवन बढी गर्ने

यौन इन्छा बढी हुने

(तर बिरामीलाई आफू ठीक छु भन्ने लागिरहेको हुन्छ । उनीहरुले (धेरैले )आफ्नो स्वभावमा आएको परिवर्तन महशुस गर्न सक्दैनन्)

३. माथिका सबै लक्षण मेनिया रोगभित्रै पर्छन् ? 
होइन, कम वा धेरै वा अलि फरक पनि हुनसक्ने हुनाले मनोचिकित्सकलाई देखाउन जरुरी हुन्छ ।

४. के यो भूतप्रेतले गर्दा हुने हो, किनभने यस्तो स्वभाव त श्यामको पहिले थिएन ? 

होइन, यो दिमागको रसायनको गडबडीले हुन्छ । अनि तनावले बल्झिन  सक्छ । पारिवारिक वा वंशाणुगत पनि हुनसक्छ । धेरैजसोमा मौसम बद्लिदा पनि रोग बल्झिन सक्छ।

५. रोग लागेर मान्छे आफूलाई भगवानझैँ कसरी मान्छ, त्यो पनि पूर्ण विश्वासका साथ ? 

जसरी मानिसहरु शिवरात्रीमा भाङ खाँदा आफू उडेको, रङहरु नाचेको देख्छन् । किनकि त्यसबेला नशाले दिमागी रसायनको गडबडी गर्छ। त्यसैगरी जब दिमागी रसायन गडबड हुन्छ, यस्तो रोग लाग्छ ।  अनि थुप्रै हुन नसक्ने कुरा हुन थाल्छ । यस्तो समस्या महिला पुरुष दुवैमा हुन सक्छ। 

६. यो रोग लागेपछि ठीक हुँदैन ?

औषधि उपचारले यो रोग ठीक हुन्छ। बिरामी पूरानो स्वभावमा फर्कन्छ । तर, फेरि बल्झिन सक्ने सम्भावना हुन्छ ।

७. के जीवन भर औषधि खाइरहनु पर्छ ?
त्यस्तो होइन ।  कसै–कसैलाई धेरैपटक बल्झन्छ । उनीहरुले चाहिँ  लामो समयसम्म औषधि खाने हुन सक्छ । 

८.  यस्ता बिरामीले आफ्ना नियमित काम गर्न सक्दैनन् ? 

होइन, ठीक भएपछि धेरैजना आफ्नो नियमीत काममा फर्कन्छन् र यसका थुप्रै उदाहरण छन्। 

९. यस्ता बिरामीलाई अरु के रोग लाग्न सक्छ ?
यस्तो मेनिया भएका बिरामीलाई कुनै बेला डिप्रेसन हुन सक्छ । एनफ्लुडिप्रेसन र बाइपोलार डिप्रेसन हुन्छ । यसका लागि फरक उपचार छन् । 

साभार, स्वास्थ्य खबर पत्रिका

प्रतिक्रिया दिनुहोस्