Logo

सिभिलको ३१ लाख २१ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

स्तावेज , चैत २१ गते बुधवार ,२०७४,काठमाडौं –  सिभिल बैंक को ३१ लाख २१ हजार ६००.२५ कित्ता संस्थापक सेयर लिलामी भर्ने बुधबार (चैत २१ गते) अन्तिम दिन हो । बुधबार कार्यालय समयभित्र इच्छुक व्यक्ति तथा संस्थाले बोलपत्र फारम बुझाइसक्नु पर्नेछ । चैत १४ गतेदेखि लिलामीमा ल्याइएको यो सेयरमा सर्वसाधारण लगानी कर्ताले समेत आवेदन दिन पाउनेछन् । यसअघि बैंकले फागुन २३ देखि चैत १ गतेसम्म संस्थापक समूहको ३२ लाख ४४ हजार ६००.२५ कित्ता र सर्वसाधारण समूहको ९ लाख ९४ हजार ३५८.७५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।
 
जसमध्ये संस्थापक समूहको ३१ लाख २१ हजार ६००.२५ कित्तामा आवेदन नपरेपछि फेरि सर्वसाधारणले पनि किन्न पाउने गरी बिक्री खुला गरिएको हो । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ ।
 
बोलपत्र बिहीबार (चैत २२ गते) सिभिल बैंक लिमिटेड कमलादी, काठमाडौंमा बिहान ११ बजे खोलिनेछ । हाल सिभिलको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ छ । लिलामीमा सेयर बिक्रीपछि भने चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिभिलले २१ करोड ६९ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिक्रिया दिनुहोस्