Logo

१७ वर्षपछि घर फर्किएकी चेली भन्छिन्ः मलाई बेच्नेलाई फाँसीको सजाय हुनुपर्छ

स्तावेज , चैत २१ गते बुधवार ,२०७४,काठमाडौं – भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९, सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताएकी थिइनन्।पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर सशस्त्र द्दन्दको  मौका छोप्दै विसं २०५८ मा दलालहरुले अपहरण गरी उनलाई भारत पुर्याएर बेचेका हुन् ।

‘यहाँबाट लगेपछि कोठामा थुनेर राख्थे, होशमा आउने बित्तिकै नशालु सूई लगाएर बेहोस बनाउँथे,’ ताराले भनिन्, ‘कहाँ लग्दैछ थाहा पाउने कुरै भएन । कार चढेर आउनेसँग एक हातमा पैसा लिन्थे, अर्का हातले मेरो हात सुम्पन्थे । चार पाँच ठाउँमा यसैगरी बेचिएँ।’

‘डेढ वर्षसम्म रोइ नै रहें , रोएको कसैले सुनेनन्, नशालु सूईका कारण अहिलेसम्म मेरो दिमागले कति बेला कामै गर्दैन, के बोल्दैछु, कहाँ हिँड्दैछु थाहा हुँदैन’ उनले भनिन्। भारतको पन्जाब प्रान्त हुँदै हरियाणाको कैथल जिल्ला गुलाँ तहसिलका जसकरण सिंहसँग बेचिएपछि उनी सँगै कामीले अहिले घरजम गरेकी छन्। यो दम्पतीको अहिले १५ वर्षको छोरो छ। सिसैया झलारी नेपाल मात्रै नाम थाहा थियो

ताराले भनिन्, ‘छोरोले गुगल म्याप हेर्दै यहाँ ल्याए । यसमा भारतमा काम गर्दै आएका नेपालीको पनि सहयोग छ।’

‘यहाँ आउँला, परिवारजनसँग भेटघाट होला भनेर सपनामा समेत कल्पना गरेको थिइनँ, छोरोको प्रयासले सबै जनासँग भेटन पाएँ,’ उनले गहभरि आँशु पार्दै भनिन्, ‘मलाई यहाँबाट लगेर बेच्नेलाई फाँसी दिनुपर्छ। मैले त हुनसम्म यातना पाएँ । अरूले पाउन नपरोस्।’

नशालु पदार्थ खुवाएर बेहोश बनाउनेलाई भने चिन्न नसकेको उनले सुनाइन्। उनले भनिन्, ‘अहिले कुनै दुःख छैन, घर र गाउँमै सल्लाह गरेर माइती भेट्न पुगेकी छु।’

घरजमका लागि आफू बस्दैआएको गाउँमा भारतकै उत्तराखण्डका र नेपाली चेलीलाई आफूलाई जस्तै किनेर घरजम गर्नेहरू धेरै रहेको उनी बताउँछिन्। उनका अनुसार यस गाउँमा किनेर विवाह गर्ने चलन छ। उनी भन्छिन्, ‘धनीले किनेर विवाह गर्छन्, गरिब भए विवाह नै हुँदैन।’

‘छोरी अब जीवित छैन भनेर माया मारिसकेका थियौँ,’ ताराकी आमा वीरमा कामीले भनिन्, ‘भेट्न पाएपछि हर्षका आँसु थाम्नै सकिनँ।’ चेलीबेटी बेचबिखनमा संलग्नको खोजी गरी सरकारले कार्वाही गर्नुपर्ने उनले बताइन्।

‘धेरै चेली गाउँबाट हराएका छन्, सबैको अवस्था पत्ता लगाउनुपर्छ,’ उनले भनिन्, ‘दलालहरुको पहिचान गरी न्याय दिन सक्नुपर्छ।’

स्थानीय बासिन्दाका अनुसार सिसैया गाउँबाट मात्रै छ जनाभन्दा बढी किशोरी बेपत्ता भएकामा अहिलेसम्म तीन जना मात्रै दलालको पञ्जाबाट छुटेर गाउँ फर्केका छन्। तीन जनाको अवस्था अज्ञात छ।

रासस

प्रतिक्रिया दिनुहोस्