Logo

अकस्मात आकाशबाट सुन, हिरा बर्सिन थालेपछि…

स्तावेज,चैत्र ३ गते शनिवार ,२०७४,काठमाण्डौं – तपाईँले आकाशबाट माछा, गड्यौला आदि खसेको खबर त सुन्नुभएको थियो होला। तर, सुन, हिराजस्ता बहुमूल्य धातु बर्सिएको सायदै सुन्नुभएको होला। रुसको एक विमानस्थलमा यस्तै घटना घट्यो। आकाशबाट धमाधम सुन, हिरा लगायत बहुमूल्य धातु बर्सिन थाल्यो। विमानस्थलका कर्मचारीहरू छक्क परेर हेरेकाे हेर्‍यै भए। पछि बुझ्दा यो कुनै अाश्चर्यजनक घटना थिएन। विमानमा भएको प्राविधिक गडबडीका कारण आकाशबाट बहुमूल्य धातु बर्सिएका थिए।

याकुस्क विमानस्थलबाट उडान भरेको केही छिनमै निम्बुस एयरलाइन्सको कार्गो विमानबाट सुन, हिरालगायत बहुमूल्य धातु बर्सिन थालेको थियो। उडान भरिरहेको उक्त विमानको ढोका अचानक खुलेपछि विमानबाट करिब तीन हजार किलो सुन, हिरा लगायत बहुमूल्य धातु खसेको थियो। विमानमा भएकोमध्ये एक तिहाइभन्दा बढी बहुमूल्य धातु त्यसरी खसेको अधिकारीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार खानीसम्बन्धी कम्पनीले ती धातु लैजान लागेका थिए।

अधिकारीहरूका अनुसार ढोका खुलेपछि विमानलाई करिब १२ किलोमिटर पर एउटा गाउँमा आपतकालीन अवतरण गराइएको थियो। विमानका चालक दलका सदस्यहरू सुरक्षित रहेको बताइएको छ। विमानस्थल रन–वे बन्द गरेर धातुका खोजीमा एक टोली परिचालन गरिएको छ। विमानबाट रन–वेमा खसेको बहुमूल्य धातुका भिडियो र तस्बिर सोसल मिडियामा अहिले भाइरल बनेको छ।

प्रतिक्रिया दिनुहोस्