Logo

आज १ सय ६ औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाईँदै

स्तावेज,फाल्गुण २४ गते ,बिहिवार ,२०७४,काठमाण्डौं – फागुन २५ –मार्च ८ तारिख, मंगलबार आज १ सय ६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्युयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए । त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजबादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलनको आयोजना गरे, जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो ।

सन् १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्विट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइयो । त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा महिला दिवस मनाउन थालिएको हो ।अहिले नेपाली महिलाले पनि यो आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग गाँसेर दिवस मनाउने क्रमले निरन्तरता पाउंदै आएको छ । पुरुष सरह महिलाको अधिकार हुनुपर्ने आवाज उठाउँदै यो दिवस मनाइन्छ ।नेपालको संविधान २०७२ ले सबै निकायमा ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था गरेको छ । त्यस अनुसार राष्ट्रपति, सभामुखमा महिलाले नै नेतृत्व गरेका छन् ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको अधिकार, समानता, सशक्तीकरण तथा मानवअधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले महिलाको विध्यमान अवस्थालाई उठाउनका लागि समावेशीकरण, सशक्तीकरण, मूलप्रवाहीकरण, क्षमता विकास, सुरक्षा, संरक्षणजस्ता आयामलाई एकीकृत रूपमा अगाडि बढाउन जरुरी रहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अख्तियार गरेको शून्य सहनशीलताको नीति तथा महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबैलाई एक भएर लाग्न आह्वान गर्नुभएको छ ।

नेपालको संविधानले महिलाको प्रजनन स्वास्थ्य तथा हिंसा एवं विभेद विरुद्धको एकताको मौलिक हकका रुपमा प्रत्याभूत गरेको उल्लेख गर्नुभएको छ ।प्रधानमन्त्रीको सन्देशमा लैंगिक समानता, महिला सशक्तीकरण तथा महिलासँग सम्बन्धित कानुनी व्यवस्थाको अध्ययन अनुसन्धान गरी त्यस्तो कानुनमा सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई सुझाव दिइने उल्लेख छ । यसैगरी सभामुख ओनसरी घर्तीले शुभकामना सन्देश दिँदै व्यवस्थापिका/संसद्बाट बनाउनुपर्ने कानुन अधिकतम समतामूलक समाज निर्माणको पक्षमा गराउन र अधिकार प्राप्तिको अभियानमा महिलाहरू अझै चनाखो भई अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्