Logo

एक जिंउदो अध्यायको अन्त्य, श्रीदेवीको अन्तिम बिदाइ !

  

स्तावेज,फाल्गुण १७ गते बिहिवार,२०७४,मुम्बई – विश्वभरका आफ्ना करोडौँ फ्यानलाई रुवाउँदै वलिवूडकी प्रख्यात अभिनेत्री श्रीदेवी जिन्दगीको अन्तिम यात्रामा निस्केकी छन् । करोडौँ फ्यानको मन मष्तिष्कमा बस्न सफल उनको पार्थिव शरीरलाई बेहुलीजस्तै रंगीन बस्त्रले सजाईएको  थियो । सेतो फूलले सजाइएको ट्रकमा राखेर मुम्बईबाट अन्तिम यात्रामा निकालिएको थियो । 

वलिवूडमा ‘चाँदनी’उपनामले बिभुषित श्रीदेवीको अन्तिम दर्शनका लागि लाखौँ मानिस सहित वलिवूडका चर्चित हस्तीहरु मुम्बईको  अन्धेरीस्थित लोखण्डवाला सेलिब्रेशन स्पोर्ट्स क्लब पुगेका थिए । भारतिय सेलीब्रेटीहरु काजोल र अजय देवगन सलमान खान, शाहरुख,  विध्या बालन, तब्बु, मधुरी दीक्षित, सुस्मिता सेन, अक्षय खन्‍ना लगायतका बलिउड  स्टारहरु श्रीदेवीलाई श्रद्धाञ्जली दिन पुगेका थिए ।

त्यसैगरी अभिनेत्री ऐश्वर्या राय बच्चन र जया बच्चन फराह खान र रवि किशन पनि श्रीदेवीको अन्तिम दर्शनका लागि सेलिब्रेशन स्पोर्ट्स क्लब पुगेका थिए । ‘चाँदनी’ को अन्तिम यात्रा अघि अन्तिम श्रद्धाञ्जलीका लागि हेमा मालिनी आफ्नी छोरी ईशा देओलसहित पुगेकी थिइन् । अधिकांश सेलीब्रेटीहरु श्रीदेवीको निधनप्रति गहिरो समवेदना प्रकट गर्दै डाँको छोडेर रोएका थिए । 

त्यहाँ श्रीदेवीका फ्यान तथा शुभचिन्तकहरूको पनि बाक्लो उपस्थिति थियो। श्रीदेवीको आकस्मिक निधनले कसैले पनि मन थाम्न सकिरहेका थिएनन् । उनको आकस्मिक निधनले विश्वभरीका उनका फ्यानहरु स्तब्धित छन् । सिंगो संसार नै शोकमा डुबेको छ, वलिवूड चलचित्र जगतमा एउटा अपूरणिय क्षती भएको छ । 

अन्तिम विदाई समारोहमा सेतो फूलले सजाइएको ट्रकमा श्रीदेवीको पार्थिव शरिर सँगै ट्रकमा पति बोनी कपुर, छोरा अर्जुन कपुर र छोरी जान्हवी रहेका थिए । श्रीदेवीलाई राजकीय सम्मानका साथ अन्तिम विदाइ गरिएको थियो । शवयात्रा अघि नै मुम्बई पुलिसको ब्यान्ड पनि स्पोर्ट्स क्लबमा पुगेको थियो । 

श्रीदेवीको अन्तिम संस्कार ३ बजेर ३० मिनेट जाँदा बिले पर्ले सेवा समाज शवदाह गृहमा गरिएको थियो । गत शनिबार राती दुबईमा बाथ टबमा डुबेर श्रीदेवीको निधन भएको थियो। सुरुमा हृदयाघातका कारण उनको मृत्यु भएको अनुमान लगाइएको भए पनि साउदीको प्रहरीले उनको मृत्यु बाथटबमा दुर्घटनावश डुबेका कारण भएको निष्कर्ष निकालेको छ । 

  श्रीदेवीको निधनले जन्माएका शंकाहरु

वलिवूड सुपरस्टार श्रीदेवीको मृत्युले केही अनुमानहरूलाई जन्म दिएको छ । तीमध्ये केही चाहिँ निराधार छन् । तर उनको निधनले वलिवूडलाई भित्रैबाट थाहा पाउने मानिसहरूलाई यस कथित स्वप्न संसारमा महिला माथिका दबाबका बारेमा बोल्ने हिम्मत दियो । 

वलिवूडका कलाकारहरू हिन्दी फिल्म इन्डस्ट्रीलाई एक ठूलो परिवारका रूपमा उल्लेख गर्छन् तर यस सिर्जनात्मक समुदायमा एउटा ठूलो खाडल बन्दै गएको छ र यसलाई बेवास्ता गर्न मिल्दैन । श्रीदेवीको मृत्युपछि वलिवूडमा महिलाहरूमाथि परेका दबाब र उनीहरूको सफलताको पछाडि रहेको अँध्यारो पाटोसँग जोडिएका सन्देशहरूले सामाजिक सञ्जाल भरिए ।

वलिवूडमा केही ठूलो गर्ने सपना सजाएर मुम्बई पुग्ने मानिसको मनोदशा कस्तो हुन्छ भन्ने यसले प्रष्ट पारेको छ । सेलीब्रेटी भएपछि उमेर बढ्दै जाँदा जवान देखिने थपबोझ र विवादहरूलाई लुकाउने परिदृश्यबाट शुरू भएका मीटू जस्ता अभियानहरू हलिउडका मात्र तथ्य होइनन् । वलिवूडमा सफल र आकर्षक देखिनका लागि शीर्ष कलाकारहरूका लागि धेरै दबाब छ।

विगत दुई दशकदेखि केही वेबसाइटहरूले वलिवूडका कलाकारहरूको रोमान्स, ब्रेकअप, मादक पदार्थ तथा रक्सी सेवनका साथै आपराधिक कृत्यहरूसँग जोडिएका गोप्य जानकारीहरु सम्प्रेषण गरिरहेका छन् । श्रीदेवीको मृत्यु बाथटबमा दुर्घटनावश डुबेर भएको खबर आएपछि वलिवूड अभिनेत्री सिमी गरेवालले श्रीदेवी र हलिउड अभिनेत्री ह्विट्नी ह्युस्टनको मृत्युबीचका विचित्र समानताका बारेमा ट्वीट गरेकी छिन् । हलिवूड अभिनेत्री ह्विट्नी ह्युस्टन र वलिवूड अभिनेत्री श्रीदेवीको मृत्यको पोस्टमार्टम रिपोर्ट मेल खाएको छ । पोस्टमोर्टम रिपोर्टअनुसार, सन् २०१२ को ११ फेब्रुअरीमा ह्युस्टन होटलको बाथटबमा कोकेनको नशा तथा हृदयरोगका कारण दुर्घटनावश डुबेकी थिइन् । 

भारतमा अहिलेसम्म कम्तीमा १६ अभिनेत्री र नौ अभिनेताले आत्महत्या गरिसकेका छन् । बलिउडको दबाब झेल्न नसकेर वा प्रेममा धोका खाएर डिप्रेसनमा पुगी यी मध्ये अधिकांशले आत्महत्या गरेका हुन् । सफल अभिनेत्री दीपिका पादुकोणले सार्वजनिक रूपमै वलिवूडको वातावरणमा डिप्रेसन पीडित भएको स्वीकारिन् । फिल्म निर्माता रामगोपाल वर्माले सामाजिक सञ्जालमा लेखेअनुसार, श्रीदेवी निजी जीवनमा अत्यन्तै दुःखी थिइन् । वर्माले श्रीदेवीलाई तेलुगु फिल्ममा खेलाएका थिए ।

उनले लेखेका छन्, ‘श्रीदेवी आफ्नो जीवनको कठिन समयबाट अघि बढिसकेकी थिइन् । बाल कलाकारका रूपमा करीयरको छिटो आरम्भले उनलाई जीवनमा सामान्य गतिमा अघि बढ्ने समय दिएन ।’बाहिरी शान्तिभन्दा बढी उनको आन्तरिक मानसिक स्थिति चिन्ताको विषय थियो । वर्माले फेसबूकमा लेखेका छन्, ‘भविष्य सम्बन्धी अनिश्चितता र उनको निजी जीवनमा अनेकौं परिवर्तनले संवेदनशील दिमागमा गहिरो छाप छोड्यो जसले गर्दा उनलाई कहिल्यै शान्ति भएन ।’ उनी वलिवूडको चमकधमकमा लुकेको अँध्यारोको शिकार थिइन् । 
 

वलिवूडमा शाहरुख खान, अनुष्का शर्मा, रणवीर सिंह र दीपिका पादुकोण जस्ता बाहिरबाट आएर सफल भएका मानिसलाई पारम्परिक स्टुडियो र फिल्म निर्माताहरूको बलियो समर्थन प्राप्त छ । बलिउडका यी जटिल विषयलाई सार्वजनिक क्षेत्रमा दबाइएको थियो । श्रीदेवीको दुःखद अन्त्यले वलिवूड भित्रबाट कति सुन्दर छ भन्ने विषयमा आत्मालोचनाको मौका दिएकोछ ।

     एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्