Logo

इस्लामिक स्टेट्स (आइएस) समूहसँग आबद्ध भएको अभियोगमा टर्कीका १६ महिलालाई मृत्युदण्ड

स्तावेज,फाल्गुण १६ गते बुधवार ,२०७४,बगदाद – इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहसँग आबद्ध भएको अभियोगमा टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ। यहाँको एक अदालतका प्रवक्ता अब्दुल सत्तार अलले यस्तो जानकारी दिएका छन्। इराकको सर्वोच्च न्याय परिषद्का प्रवक्ताका अनुसार ती महिलाहरूले आइएस लडाकुसँग विवाह गरेका र उनीहरूलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ।

न्यायाधीशका अनुसार ती महिलाहरूले आइएस लडाकुहरूसँग बिहे गरेको र आवश्यक सामग्री उपलब्ध गराएर आक्रमणका लागि सघाएको स्वीकार गरेका छन्। ती महिलाहरूको उमेर २० देखि ५० वर्षसम्मको रहेको र उनीहरूलाई कालो पोशाकमा गत आइतबार बगदादस्थित फौजदारी अदालतमा उपस्थित गराइएको थियो।

ती १६ महिलामध्ये चारजनाको स-साना बालबालिका पनि रहेका छन्। आइएस लडाकुहरूको आफन्त भएको आशंकामा कम्तीमा ५६० जना महिला र ६०० बालबालिका इराकमा पक्राउ परेका एएफपी समाचार समितिले जानकारी दिएको छ।

सजाय सुनाइएकामध्ये एक महिलाले आइएस लडाकुहरूसँग इराकी फौजविरूद्ध आफूले लडाइँ गरेको न्यायाधीशसमक्ष स्वीकार गरेका छन्। सन् २०१७ मा मोसुल सहरका लागि भएको लडाइँमा लडेको आरोपमा गत जनवरीमा एकजना जर्मन महिलालाई मृत्युदण्ड सुनाइएको थियो। यसै महिनाको शुरुतिर पनि टर्कीकी एक महिलालाई मृत्युदण्ड दिइएको थियो भने अरू १० जनालाई आजीवन कारावासको सजाय सुनाइएको पनि समाचारमा जनाइएको छ।

   रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्