Logo

खुट्टाको शल्यक्रियामा गल्ती भएपछि बिरामीसँग अस्पतालले गर्‍याे सहमति

स्तावेज,फाल्गुण १२ गते, शनिबार,२०७४,काठमाण्डौं – नर्भिक अस्पतालका डा. प्रवीण नेपालले शल्यक्रियाका क्रममा लापरबाही भएको स्वीकार गरेका छन्। चितवनकी बिन्दू पौडेलको लिगामेन्ट च्यातिएको देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा भुलवश दाहिने घुँडाको शल्यक्रिया गरिएको भन्दै शल्यक्रियामा संलग्न डा नेपाल र डा. शैलेश रञ्जितकारले गल्ती स्वीकार गरेका हुन्।

डा. नेपालले चितवनमै रहेकी पौडेलको एमआरआई रिपोर्ट हेरेर शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएपछि उनी चितवनबाट बिहीबार काठमाडौं आई नर्भिक अस्पताल आएकी थिइन्। बिरामी पौडेलले धेरै दुखाइ नरहेको बताए पनि डा. नेपालले शल्यक्रिया नगरे समस्या पर्ने बताउँदै उनको शुक्रबार शल्यक्रिया भएको थियो। 

शल्यक्रियापछि आफन्त भेट्न जाँदा देब्रेको ठाउँमा दाहिने खुट्टाको शल्यक्रिया भएको पत्ता लागेको थियो। उक्त घटनामा बिरामीका आफन्तले आपत्ति जनाएपछि डा. नेपालले देब्रे खुट्टा ठानेर शल्यक्रिया गर्दा दाहिने खुट्टाको शल्यक्रिया गल्तीले भएको भनी स्वीकारेका छन्।

चिकित्सकले गल्ती भएको स्वीकार गरेपछि अस्पतालले बिरामीका आफन्तसँग सहमति गरेको छ। बिरामी पौडेलको दुवै खुट्टाको निःशुल्क उपचार गर्ने, विज्ञ चिकित्सकका आधारमा सबै उपचार अस्पतालले गरिदिने र बिरामीको घुँडाको उपचार नेपालमा सम्भव नभए विदेश लगेर गर्ने र खर्च अस्पतालले व्यहोर्ने सहमति अस्पतालले गरेको हो।

प्रतिक्रिया दिनुहोस्