Logo

मध्यमर्स्याङ्दी जलविध्युत परियोजना १० दिन बन्द हुने, उक्त अवधिमा लोडसेडिङ नहुने कुलमानको दाबी

स्तावेज,फाल्गुण ६ गते, आइतवार, २०७४,काठमाण्डौं – विध्युतको माग वृद्धि भइरहेको र उत्पादन घटिरहेका बेला मुलुककै दोस्रो ठूलो जलविध्युत परियोजना मध्य मर्स्याङ्दी (७० मेगावाट) करिब १० दिनका लागि बन्द हुने भएको छ। मध्यमर्स्याङ्दीको बाँधको बायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षति पुगेपछि मर्मत गर्नुपरेको प्राधिकरणले जनाएको छ।

आगामी बिहीबारदेखि उक्त विध्युत केन्द्र बन्द भए पनि सर्वसाधारणका लागि लोडसेडिङ नहुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। कदाचित् प्रणालीमा कुनै समस्या आएमा विध्युत आपूर्ति कतै कुनै समय अवरुद्ध हुन सक्ने घिसिङले बताए। ‘मर्मतका समयमा लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत गृह पूर्ण क्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्थाको बन्दोवस्ती गरिसकेका छौं।’

कुलेखानी जलाशयमा पानीको सतह १५२१।९८।मिटर छ, जुन गत वर्षको यही अवधिको तुलनामा करिव ३ं.८३ मिटर बढी हो। कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विध्युत उत्पादन हुन्छ।

थप क्षति हुन नदिन मर्मत गर्न लागिएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए। ‘गतवर्ष नै मर्मत गर्न लागेका थियौं तर भार प्रेषण केन्द्र (एलडिसी)बाट विध्युत व्यवस्थापनमा गाह्रो हुने बताएपछि रोकिएको थियो’, गौतमको भनाई उद्धृत गर्दै प्राधिकरणले जारी गरेको प्रेस नोटमा छ, ‘यस वर्ष पनि गरिएन भने थप क्षति पुग्ने देखिए पछि सात दिनभित्र मर्मत सक्ने गरी विध्युत परियोजना बन्द हुनेछ। ’ केन्द्रबाट विध्युतको माग बढी हुने साँझ र बिहान (पिकआवर) मा ७० मेगावाट र अन्य समयमा करिब ३० मेगावाट विध्युत उत्पादन हुनेछ।

प्रतिक्रिया दिनुहोस्