Logo

‘शिवको प्रसाद’ गाँजा र भाङको शारीरिक र मानसिक असर

स्तावेज,फाल्गुण, १ गते,मंगलवार, २०७४,काठमाडौं– आज शिवरात्री । गाँजा र भाङलाई ‘शिवको प्रसाद’ भन्दै ग्रहण गर्नेको सँख्या ठूलो हुन्छ । गाँजा खाएर आफूलाई भक्त कहलाउने उपक्रममा एकथरी हुन्छन् भने आफूलाई शिवजस्तै शक्तिशाली महशुस गर्ने अर्काेथरी । यसबाहेक परम्पराको निरन्तरता स्वरुप ग्रहण गर्ने धेरै हुन्छन् । त्यसैले अन्य समय यसको प्रयोगमा प्रहरी प्रशासनको कडा निगरानी रहेपनि आजको दिन अघोषित छुट जस्तै देखिन्छ ।

गाँजा वा भाङ खाँदा फाइदा हुन्छ कि बेफाइदा ? सामान्य हिसाबले कुरा गर्दा गाँजा खाएपछि कतिले रमाइलो भएको बताउँछन् भने कतिलाई यसले असर गरेको पनि भेटिन्छ । यसको असरका विषयमा पनि वरिष्ठ नेपाली चिकित्सकका फरक–फरक धारणा छन् ।

अनुसन्धानहरुले पनि गाँजाले कतिलाई हानी पुर्‍याएको देखाएको छ भने कतिलाई फाइदा । वरिष्ठ नशारोग विशेषज्ञ डा गोपालरमण शर्माका अनुसार विदेशका केही ठाउँमा त केही विशेष प्रकारका रोगीहरूलाई गाँजाको प्रयोगबाट उपचार समेत गर्न थालिएको छ । तर, यसको अर्थ यो हानिकारक चिज होइन भन्न नसकिने उनी बताउँछन् ।

गाँजाको धुवाँबाट जाने रसायानिक तत्व दिमागको रगतमा मिसिएर मस्तिष्क र शरीरका अन्य भागमा पुग्ने गरेको डा शर्मा बताउँछन् ।  मष्तिष्कका नशामा हुने ट्रान्समिटर खोल्ने तथा बन्द गर्ने काम यसले गर्छ र जसको प्रभाव स्वरुप कतिलाई रमाइलो महशुस हुने र कतिपयलाई उल्टो असर हुने गरेको उनले बताए ।

वरिष्ठ मनोरोग विशेषज्ञ डा कपिलदेव उपाध्यायका अनुसार यसले कसलाई कस्तो असर पुर्‍याउँछ भन्न नसकिएपनि आफूकहाँ हानी गरेर उपचारका लागि बिरामीहरु आउने गरेको बताउँछन् । उनको अनुसार यसले कसैलाई खुशी अनुभव गराउने, आनन्द महशुस गराउने तनाव घटाउने, निद्रा लगाउने, भोक लगाउने गर्छ । कतिलाई चाहिँ यसका कारण नरमाइलो महशुस हुने, डराउनेलगायतका समस्या देखिन्छन् । बेहोस हुने र उल्टी हुने जस्ता समस्या पनि देखिन्छन् ।

खाशगरी दुःखपीरमा रहेका व्यक्तिको मष्तिष्कमा उक्त भावना ल्याउने रसायन बन्द गरी रमाइलो महशुस गराउन सक्ने डा शर्मा बताउँछन् । उनी भन्छन्, ‘त्यस्ता व्यक्तिहरु अर्कै दुनियाँमा पुगेको महशुस गर्ने, सपना देख्ने र स्वप्निल वातावरण सिर्जना गर्ने काम गर्छ ।’

स्वास्थ्यमा पर्न सक्ने असर

हरेक नशालु पदार्थको नकारात्मक असर हुनेमा चिकित्सकहरु सहमत छन् । एउटा स्वस्थ व्यक्तिलाई यसले मानसिक र शाररिक असर पार्न सक्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलका अनुसार कतिपयलाई एकपल्ट गरेको गाँजा सेवनले पछिसम्म असर पारेको भेटिएको छ । उनीकहाँ आइपुगेका बिरामीको उदाहरण दिँदै भने, ‘एकपल्ट गाँजा सेवन गरपछि मुटुको धड्कन बढेको महशुस हुने, निद्रा डिस्टर्व हुने  र श्वास फेर्न गाह्रो हुने जस्ता समस्या लिएर बिरामी आएका छन् ।’

यसबाहेक गाँजाले मुटुको चाल बिगार्ने, रक्तचाप बढाउने, हृदयाघातसम्म गराउन सक्ने उनी बताउँछन् । उनले भने, ‘मुटुसम्बन्धि समस्या भएकाहरुले यसको प्रयोग गर्दै गर्नुहुन्न।’

मानसिक स्वास्थ्यमा पनि गाँजाका असर छन् । वरिष्ठ मनोरोग विशेषज्ञ डा उपाध्यायकहाँ एकचोटी गाँजा खाएर डराएको व्यक्ति सधैं डराउने गरेको भन्दै उपचारका लागि आएका थिए । उनले भने, ‘कतिपयको मन आत्तिने, डराउने र काँप्ने हुन सक्छ । गाँजा खाएको समयमा डराएको व्यक्ति पछिसम्म पनि डराइनरहने  हुन सक्छ।’

उनका अनुसार कतिपयमा एकपल्ट खाँदा आनन्द महशुस गरेका कारण निरन्तर सेवन गर्ने इच्छा जाग्न सक्छ । जसले गर्दा कुलतको दलदलमा फस्न सकिन्छ ।

हाल अष्ट्रेलिलियामा रहेर सेवा दिइरहेका मनोरोग विशेषज्ञ डा अनुपम पोखरेलका अनुसार यसको सेवनबाट मानसिक रोग लाग्ने सम्भावना बढ्दै जान्छ ।  उनले आफ्नो ब्लगमा उल्लेख गरे अनुसार अष्ट्रेलियामा गरिएको एक अध्ययनले १४–१५ वर्षका गाँजा सेवन गर्ने बालबालिकाहरूमा डिप्रेसन वा आत्तिने रोग गाँजा सेवन नगर्नेहरूको भन्दा पाँच गुणा बढी देखिएको थियो । १६ सय विद्यार्थीहरूमा सात वर्षसम्म उक्त अध्ययन गरिएको थियो ।

उनले लेखेका छन्, ‘त्यस्तै १५ वर्षको उमेर अगाडि गाँजा सेवन गर्न सुरु गरेका व्यक्तिहरूमा २६ वर्ष पुग्दा नपुग्दै साइकोसिस (कडा मानसिक रोग) लाग्ने सम्भावना ४ गुणा बढी देखियो । अझ कसैको नजिकको नातामा (आमा बाबु, दाजुभाई, दिदी–बहिनी)लाई साइकोसिस भएको रहेछ भने त गाँजा सेवनकर्ताहरूमा साइकोसिस हुने सम्भावना झन् बढ्ने देखियो ।’

त्यसैगरी डेनमार्कमा गरिएको अनुसन्धानले गाँजा सेवनकर्ताहरूमा साइकोसिस बढी मात्रामा देखिने र गाँजा खान बन्द गरेपछि चाँडै घट्ने देखिएको छ ।  तर, यी मध्ये ७५ प्रतिशतलाई एक वर्षभित्रमै फेरि अर्को साइकोसिस (पागलपन)को रोगले च्याप्ने देखिएको र यी मध्ये आधाभन्दा धेरै तीन वर्ष पश्चात पनि यो रोगबाट पीडित हुने गरेको पाइएको डा. पोखरेलले उल्लेख गरेका छन् ।

उनका अनुसार भारतमा गरिएका अनुसन्धानहरू नेपालको परिप्रेक्ष्यमा मिल्दाजुल्दा हुन सक्ने देखिन्छन् । भारतमा गाँजा र भाङको लामो समयसम्मको प्रयोगले हुने साइकोसिस (पागलपन)मा जाँगर नचल्ने र केही गर्न मन नलाग्ने अवस्थाको विकास हुने र उक्त व्यक्ति केही कुरामा पनि मतलब नगर्ने हुन सक्ने देखिएको छ  ।

प्रतिक्रिया दिनुहोस्