Logo

चमेलियाको राष्ट्रिय प्रसारण शुरु

 स्तावेज,माघ २८ गते ,आईतवार २०७४,  काठमाडौं —एघार वर्षअघि शुरू भएको चमेलिया जलविध्युत आयोजना (३० मेगावाट) शनिवारदेखि औपचारिक रूपमा राष्ट्रिय प्रसारणमा जोडिएको छ । पुस ८ मा ‘वेट टेष्ट’ थालिएको आयोजनाको यसै महीनाको १६ गतेदेखि दोस्रो युनिट पनि परीक्षण प्रसारणमा जोडिएको थियो । आयोजनामा १५/१५ मेवा क्षमताका २ ओटा टर्वाइन रहेका छन् । सुरुङ खुम्चिने, भेरिएशन तथा मूल्य वृद्धि लगायत कारणले आयोजनाको लागत करीब १५ अर्ब रुपैयाँ पुगेको छ ।

दार्चुलाको बलाँचमा रहेको आयोजनाको विध्युत गृहमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजनाको शनिवार उद्घाटन गरे । उनले सुदूरपश्चिममा रहेको यस आयोजनाको लाभ पहिले सुदूरपश्चिमवासीले लिन पाउनुपर्ने बताए । चमेलिया बन्न समय लागे पनि यसले सुदू्रपश्चिमको विकासको ढोका खोलेको नेपाल विध्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘चमेलियाका लागि विकास गरिएको सडक तथा प्रसारण लाइन यो क्षेत्रको सम्पत्ति हो,’ उनले भने, ‘यी दुवै माध्यम भएर यहाँका लागि आवश्यक अन्य विकास निर्माणले अब गति लिनेछ ।’

चमेलियाको निर्माण  सँगसँगै बलाँचदेखि अत्तरियासम्मको १ सय ३१ किलोमिटर प्रसारण लाइन हालै सम्पन्न भएको छ । यसमा जोडिनेगरी ९१ मेवा विध्युत उत्पादनका लागि निजीक्षेत्रसँग विध्युत खरीद सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ । त्यसैगरी सुदूरपश्चिमका विभिन्न क्षेत्रमा निर्माण हुनेगरी सोसहित २ सय ५० मेवा विध्युत उत्पादनका लागि पीपीए विभिन्न चरणमा पुगेको प्राधिकरणको व्यापार विभाग प्रमुख एवम् प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

हाल सुदूरपश्चिम अर्थात् ७ नं. प्रदेशको विध्युत माग ४५ मेवा रहेको छ । हालसम्म उक्त क्षेत्रमा स्वदेशी उत्पादनका रूपमा अपि पावरले विकास गरेको नौगड गाढ आयोजना (८ दशमलव ५ मेवा)को मात्र विध्युत रहेको थियो । त्यसैगरी महाकाली सन्धिका आधारमा नेपालले भारतबाट निःशुल्क पाउँदै आएको १२/१५ मेवा विद्युत् टनकपुर/महेन्द्रनगर अन्तरदेशीय प्रसारण लाइन (१३२ केभी) हुँदै यस प्रदेशमा प्रवेश गर्छ । त्यस्तै आवश्यकता अनुसार उक्त प्रसारण लाइनबाट खरीद गरेको समेत गरी ४० मेवासम्म विध्युत नेपालले आयात गर्दै आएको छ ।

विध्युत माग उच्च रहेका बेला मात्र सञ्चालन गर्ने (पिकिङ आरओआर)का रूपमा विकास गरिएको चमेलिया पनि थपिएको छ । चमेलियाले प्रत्येक दिन बिहान र साँझको ३/३ घण्टा ३० मेवा क्षमतामा विध्युत उत्पादन गर्छ । यसले देशमा उक्त समयमा रहेको विध्युत मागलाई पूर्ति गर्न सघाउ पुर्याउने छ । यदि पीक आवरको समस्या नरही निरन्तर सञ्चालन गर्ने हो भने यस आयोजनाले १५ मेवा उत्पादन दिन्छ ।
चमेलियाको निर्माण साथै यसले अन्य आयोजना विकासका लागि देखाएको सम्भावनाले विस्तारै उक्त क्षेत्र विद्युत्मा आत्मनिर्भर हुने क्रममा रहेको प्रवक्ता अधिकारीले बताए । सुदूरपश्चिमको अबको प्राथमिकता रहेको विध्युत प्रसारणको काम बृहत् रूपमा अघि बढेको उनको भनाइ छ ।
‘बलाँच/अत्तरियाको हालै सम्पन्न पहिलो सर्किटले १ सय मेवा विध्युत प्रसारण गर्छ,’ उनले भने, ‘त्यसमा चाँडै थपिने दोस्रो सर्किटले क्षमता दोब्बर बनाउनेछ ।’ त्यसैगरी, लम्की/अत्तरिया/महेन्द्रनगर (१३२ केभी)को दोस्रो सर्किट चार्ज हुने क्रममा रहेको छ । वितरणका लागि सबस्टेशन निर्माणको काम पनि द्रुत गतिमा अघि बढिरहेकोे अधिकारीले जानकारी दिए । सङ्घीय व्यवस्थामा वितरण प्रणालीको नियमन तथा व्यवस्थापन गर्ने जिम्मा स्थानीय निकायलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्