Logo

लोपोन्मुख जातिको सूचीमा राख्न नटुवाको माग

स्तावेज, माघ २४ गते बुधवार,२०७४,तौलिहवा – उमेरले लगभग चालीस काटेका महेन्द्र नटुवा तीन पटक काठमाडौं धाए। जीवनमा कहिल्यै काठमाडौं नदेखेका महेन्द्र पहिलो पटक काठमाडौं पुग्दा स्वर्ग गएजस्तो महसुस भएको सुनाए। उनी हातमा नागरिकता बोकेर गृह मन्त्रालयको दैलो ढकढकाउन पुगेका थिए।

‘सरकारसँग लोपोन्मुख जातिको सूचीमा राख्न माग गर्न थालेको तीन दशक बित्यो,’ उनले भने, ‘राज्यले अझै सुनेको छैन।’ कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ प्रगतिनगरमा १४ घरमा दुई सय बढी नटुवाको बसोबास छ। सुकुम्बासी बस्तीमा बसेका उनीहरूको नागरिकताबाहेक केही छैन। रातदिन उनीहरूलाई गाँस, बास र कपासकै पिरलो छ।

३१ वर्षीय मनोज नटुवा राज्यले आफूहरूलाई लोपोन्मुख जातिको सूचीमा नराखेकोमा गुनासो गर्छन्। राज्यसँग लोपोन्मुख जातिको सूचीमा राख्न माग गर्न थालेको तीन दशक बित्यो। अझै माग पूरा भएको छैन, ‘उनले गुनासो गरे।’ थर नटुवा भएको नागरिकता बनाए पनि आफूहरू ‘पत्थरकट्टा’ भन्दा तल्लो जाति भएको उनले बताए। ‘हामीभन्दा पत्थरकट्टा उपल्लो जाति हो,’ उनले भने, ‘हामीले छोएको पानी पनि खाँदैनन् पथ्थकट्टाहरू।’ पत्थरकट्टालाई राज्यले लोपोन्मुखको सूचीमा राखेर सरकारी सेवासुविधा दिएको छ तर हामीलाई दिएन,’ उनले भने, ‘सरकारी सुविधा माग्न जाँदा किन दिँदैनन् ? ’ उनले प्रश्न गरे।

दिनभरि भिक्षा मागेर जीविकोपार्जन गर्ने उनीहरूको दैनिकी बनेको छ। पुरुषले सर्प नचाएरै भिक्षा माग्ने गर्छन् भने महिला तथा बालबालिकाले भिक्षा मागेर ज्यान पाल्दै आएका छन्। नटुवा बसोबास वरपर ठल्ठूला पक्की घर छन्, अगाडि हुलाकी मार्ग छ, नजिकै विद्यालय छ। तर, उनीहरूको जीवन अन्धकार छ। सरोकारवा निकायले नटुवालाई लोपोन्मुख जातिको सूचीमा पहल गर्ने आश्वासन दिन थालेको करिब एक दशक बित्न थालेको महेन्द्र नटुवाले बताए। ‘हरेक पटक आउने प्रमुख जिल्ला अधिकारीलाई भेटेरै माग गर्ने गरेका छौं,’ उनले भने।

नेपाली भाषा कमैले मात्र बुझ्ने र बोल्ने गर्दा पनि उनीहरूको माग पूरा हुन सकेको छैन। मजदुरी गर्न जाँदा पनि हेपाइ खानुपरेको उनीहरू गुनासो गर्छन्। खाने र बस्ने ठेगान नहुँदा धेरैजसोले खान नपाएका र इन्डियन नागरिक नेपाल आएको भनी हेप्ने गरेको उनीहरूले दुखेसो गरे। ‘कतिपयले हामीलाई भारतीय भनेर हेप्ने गरेका छन्,’ गशेण नटुवाले भने, तर हामीसँग तीनपुस्ते नेपाली नागरिकताको प्रमाणपत्र छ।’

२०६८ सालको राष्ट्रिय जनगणनाअनुसार कपिलवस्तुमा तीन सयको हारहारीमा नटुवा जातिको बसोबास रहेको छ।

   अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्