Logo

धुर्मुस/सुन्तलीको चौथो परियोजना एकीकृत नमूना बस्ती राष्ट्रपतिबाट हस्तान्तरण

स्तावेज, माघ २४ गते बुधवार,२०७४,रौतहट –  धुर्मुस– सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको एकीकृत नमूना बस्ती अन्तत पूरा भएको छ । तोकिएको समयमा फाउन्डेशनले आफ्नो ड्रीम प्रोजेक्ट स्थानीय समूहलाई हस्तान्तरण गर्न सफल भएको हो । गरे के हुँदो रहेनछ र ? १०० दिनमा ५० वटा घर निर्माण गरी संस्थाका अध्यक्ष सिताराम कट्टेलले असम्भव कामलाई सम्भव  गरेर  सरकारलाई थप चुनौती दिएका छन् ।  रौतहटको चन्द्रपुर – ८ सन्तपुरमा निर्माण गरिएको एकीकृत दलित बस्ती फाउण्डेसनले आज राष्ट्रपति विध्यादेवी भण्डारी मार्फत समुदायलाई हस्तान्तरण गरेको छ । 

मंगलबार चन्द्रपुर – ८ सन्तपुरको दलित बस्तीमा छुटै रौनक थियो । राष्ट्रपतिसँगै बिशिष्ठ अतिथिको उपस्थिति, सयौं सर्वसाधारणको जमघट र एकनासका चिटिक्क परेका घरले सन्तपुरबासीलाई जीवनमै सबैभन्दा बढी खुसी बनायो । राष्ट्रपतिले बस्तीका अगुवा सत्यनारायण माझीलाई साँचो हस्तान्तरण गरेसँगै वागमती नहरको किनारमा फुसको टहरा बनाएर बस्दै आएका बाढी पीडितले पक्की घर पाएका छन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले दुई नम्बर प्रदेशलाई समृद्ध बनाउनु पर्ने भन्दै कलाकार दम्पति सिताराम कट्टेल र कुञ्जना घिमिरेको प्रशंसा गर्नुभयो । कलाकारले सामाजिक दायित्व पूरा गर्दा समाज स्वतः परिवर्तन हुने उदाहरण कट्टेल र घिमिरेले प्रस्तुत गरेको भन्दै राष्ट्रपति भण्डारीले प्रेरणादायी कामको अनुशरण अरुले पनि गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुषाल तथा कलाकारद्दय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नमूना बस्ती निर्माण अभियानको प्रशंसा गर्दै इच्छाशक्ति भए जस्तोसुकै कठिन  कामपनि सहजै गर्न सकिने उदाहरण फाउण्डेसनले प्रष्ट्याएको बताए । बस्ती हस्तान्तरण कार्यक्रममा फाउण्डेसनका अध्यक्ष कट्टेलले सहयोग दाताप्रति धन्यवाद व्यक्त गर्दै उनीहरुकै सहयोगका कारण कठिन कामपनि सहज रुपमा गर्न सकिएको बताए ।

गत साउनको बाढीका घरवारविहीन भएका दलित परिवारका लागि पाँच करोड २४ लाख खर्चिएर फाउण्डेसनले भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण गरिदिएको हो । असोज ४ गते शिलान्यास गरिएको नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब, दृश्यावलोकन स्तम्भ पनि छन् । यसअघि फाउण्डेसनले काभ्रेको पहरी गाउँ, सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरीको बर्दिबासमा एकीकृत नमूना बस्ती निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्