Logo

एक दशकदेखि निरन्तर दुर्व्यवहार गर्ने चिकित्सक, जसलाई सुनाइयो ३ सय ६० वर्षको जेल सजाय

स्तावेज, माघ २४ गते बुधवार,२०७४, मिचिगन– अमेरिकी जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासारलाई थप ४० देखि १ सय २५ वर्षको जेल सजाय सुनाइएको छ। पछिल्लो एक दशकमा आफ्नै टोलीका महिला जिम्न्यास्टसँगै अन्य महिला, युवती तथा बालबालिका गरी करिब २ सय ६५ जनालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई १ सय २५ वर्षसम्मको जेल सजाय सुनाइएको हो। यसअघि १ सय ५६ जनालाई दुर्व्यवहार गरेको आरोप पुष्टि भएपछि मिचिगनस्थित इन्घाम काउन्टी अदालतकी न्यायाधिश रोजमेरी एक्वेलिनाले ४० देखि १ सय ७५ वर्षसम्मको जेल सजायको फैसला सुनाएकी थिइन्। 

५४ वर्षीय नासार बालबालिकामाथि गरिएका यौन दुर्व्यवहारसँग सम्बन्धित फोटोहरु कम्प्युटरमा संग्रह गरेको आरोपमा हाल ६० वर्ष लामो जेल सजाय भोगिरहेका छन्। अहिलेसम्म भएको फैसलालाई आधार मान्ने हो अब नासारले ३ सय ६० वर्षको जेल सजाय भुक्तान गर्नुपर्नेछ।  बयानका क्रममा सोमबार नासारले माफी माग्दै भने, ‘तपाईंहरुको भनाइको आशय जिन्दगीभर मेरो सोचमा रहनेछ।’

तर इटन काउन्टी अदालतकी न्यायाधीश जानिस कुनिनघमका अनुसार नासारले पेश गरेको पुनरावेदनमा हालसम्म सही चिकित्सकीय उपचार प्रदान गरेको उल्लेख गरेका छन्। ‘मलाई विश्वास छैन कि तपाईं वास्तवमै आफूले गरेका कार्यहरु गलत थिए भनेर सोच्नुहुन्छ। साथै पीडित तथा उनका परिवारलाई कस्तो असर परिरहेको छ भन्ने बारेमा पनि तपाईंलाई चिन्ता छैन,’ फैसला सुनाउँदै न्यायाधीश कुनिनघमले भनिन्, ‘तपाईं स्पष्ट रुपमा इन्कार गर्नुहुन्छ कि तपाईं यी घटनाहरुमा सामेल हुनुहुन्छ।’ 

यसअघिको फैसलापछि मात्रै ६५ जनामाथि दुर्व्यवहारको पुष्टि भएको तथा ५४ जनाले गतसाता मात्रै अदालतमा उपस्थित भई बयान दिएको अदालतले जनाएको छ। सोमबार फैसला हुनुअघि मुद्दाको सुनुवाइ तीन दिनसम्म चलेको थियो। यस क्रममा थप पीडितहरुको बयानसमेत लिइएको थियो। बयानका क्रममा नासारमाथि पीडित र तिनका आफन्तले आक्रमणको प्रयास पनि गरेका थिए।

पीडितहरुले इन्घाम तथा इटन काउन्टी दुवै अदालतमा नासारले आफूहरुलाई कुन हदसम्मको दुर्व्यवहार गरेका थिए भन्ने निकै निर्भिक ढंगबाट बयान दिएका अदालतले जनाएको छ। उनीहरुले कतिपय अवस्थामा आफ्ना परिवारका सदस्यले पनि घटनाको बारेमा बताउँदा वास्ता नगरेको तथा बयान दिन पनि नमानेको बताएका थिए। कतिपयले भने धेरै पीडितहरु नासारको विपक्षमा उभिएपछि मात्रै बयान दिन उभिएको दुखेसो पोखे। पछिल्लो सुनुवाइका क्रममा एक १७ वर्षीया बालिकाले नासारलाई सैतानको संज्ञा दिएकी थिइन्। 

यसअघि सिमोन बाइल्स, ग्याबी डोग्लाससहित, अलि रइसम्यान तथा जोर्डन वाइबर गरी ४ ओलम्पिक स्वर्ण पदक विजेता खेलाडीहरुले आफूहरु पनि नासारको सिकार भएको बताएका थिए।सोमबार नासारलाई फैसला सुनाएपछि हतकडी लगाएर बाहिर निकालिँदै गर्दा पहिलो पटक उनीविरुद्ध मुद्दा दायर गर्ने रचेल डेनहोलन्डर निकै खुसी देखिन्थिन्।  फैसलापछि निकै हर्षित मुद्रामा देखिएकी उनले नजिकै रहेका आफ्ना श्रीमान्‌लाई बलियोसँग अँगालो मारेकी थिइन्। नासारलाई जेल लगिएपछि अन्य पीडितहरुले डेनहोलन्डरलाई अँगालो मार्दै धन्यवाद दिएका थिए। 

अमेरिकाको स्पोर्ट्स नेसनल गभर्निङ बडीले नासारलाई आफ्नो टोलीमा १९८० को दशकमा सामेल गराएको थियो। उनी सन् २०१५ को जुलाइसम्म टिममा आबद्ध भए। नासारमाथि आरोप लागेपछि अमेरिकी जिम्न्यास्टिक टोलीका प्रमुख स्टिभ पेनीले सन् २०१६ मा राजीनामा दिइसकेका छन्।

एक साताअघि मात्रै अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने घोषणा गरेका थिए। ल्यारी नासार यौन दुर्व्यवहार प्रकरणलाई सही ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटीले कारबाही गर्ने तयारी गरेपछि राजीनामा गर्ने निर्णयमा उनीहरु पुगेका थिए। जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक नासारलाई किशोरी खेलाडीलाई यौन दुर्व्यवहार गरेकोमा ४० देखि १७५ वर्षको सजाय सुनाइएपछि अमेरिकी ओलिम्पिक कमिटीले बोर्डका पदाधिकारीलाई राजीनामा दिन अल्टिमेटम दिएको थियो।

 श्रोत ,नेपाली लाईभ 

प्रतिक्रिया दिनुहोस्