Logo

बन्यो १० सेकेन्डमा क्यान्सर पत्ता लगाउने कलम

स्तावेज,माघ २१ गते आईतवार,२०७४, काठमाडौं – क्यान्सरलाई प्राणघातक रोग मानिन्छ । सबै किसिमका क्यान्सरको औषधि उपचार गरी पूर्णतया रोगमुक्त पार्न सकिँदैन । सबैखाले क्यान्सरको उपचार नभए पनि वैज्ञानिकहरूले १० सेकेन्डमा क्यान्सर पत्ता लगाउने कलम भने आविष्कार गरेका छन्।अमेरिकाको टेक्सस विश्वविध्यालयका वैज्ञानिकहरूले १० सेकेन्डमा सजिलै क्यान्सर टिस्यु पत्ता लगाउने कलम जस्तै डिभाइस निर्माण गरेको दाबी गरेका छन् । उनीहरूको दाबी सही भए क्यान्सर बेलैमा पत्ता लगाउन र उपचार गर्न सहज हुनेछ ।साइन्स ट्रान्स्लेस्नल मेडिसिनमा प्रकाशित रिपोर्ट अनुसार यो डिभाइसबाट गरिएको परीक्षण ९६ प्रतिशत सही पाइएको छ ।

शरीरमा क्यान्सरको सम्भावना भएको ठाउँमा यो कलमलाई राखेपछि यसबाट पानीको एक थोपा निस्कन्छ । यसपछि जीवित टिस्युमा भएका रसायनहरू त्यो पानीको थोपातिर आएर मिसिन्छन् र पानीको थोपालाई परीक्षणका लागि कलमले नै सोस्छ ।
यो कलमलाई एक सेकेन्डमा नै हजारौं रसायनको द्रव्यमान नाप्न सक्ने स्पेट्रोमिटरसँग जोडिएको छ । स्पेट्रोमिटरसहितको कलमको सहायताबाट टिस्युको रासायनिक फिंगरप्रिन्ट तयार हुन्छ, जसले त्यो टिस्युमा क्यान्सर छ÷छैन पत्ता लगाउन चिकित्सकलाई सजिलो पार्छ । चिकित्सकहरूका लागि सामान्य र क्यान्सरयुक्त टिस्यु छुट्याउन सधैं कठिन चुनौती बन्दै आएको छ । यो कलमले क्यान्सर पत्ता लगाउन चिकित्सकलाई सहज बनाउनेछ ।

टेक्सस विश्वविध्यालयको रसायनशास्त्रकी सहायक प्रोफेसर लिविया एबरलिन भन्छिन्, ‘यो डिभाइसको सबैभन्दा महत्वपूर्ण कुरा सजिलै क्यान्सरका टिस्यु पत्ता लगाउँछ र यो प्रयोग गर्न पनि सजिलो छ ।’यो प्रविधिको परीक्षण २ सय ५३ नमुना (स्याम्पल) मा  गरिएको छ । यो डिभाइस आगामी वर्षसम्म प्रयोगमा आउने सम्भावना छ । प्रयोगमा ल्याउनुअघि अनेकौं तरिकाले यसको विश्वसनीयता परीक्षण भइरहेको छ ।

अहिले भने यो कलमले १.५ मिलिमिटरसम्मको सानो टिस्यु क्यान्सरयुक्त भए/नभएको पत्ता लगाउन सकिन्छ । तर, वैज्ञानिकहरूले भने यसको क्षमता बढाएर ०.६ मिलिमिटरका साना टिस्यु पनि पत्ता लगाउन सक्ने बनाउन प्रयास गरिरहेको बताएका छन् ।

यो कलमको अर्को राम्रो पक्ष भनेको यसको थोरै मूल्य पनि हो । तर, कलममा जोडिने स्पेक्ट्रोमिटर निकै महँगो र भारी हुन्छ । डा. एबरलिन भन्छिन्, ‘यो डिभाइस सहज र सर्वसुलभ हुनमा स्पेक्ट्रोमिटर नै प्रमुख अवरोध भएको छ । हुन त हामी सजिलै प्रयोग गर्न सकिने सानो स्पेक्ट्रोमिटर निर्माण गर्ने प्रयास गरिरहेका छौं ।’

विश्वविध्यालयमा यसअघि पनि क्यान्सर उपचारमा प्रयोग हुने अनेकौं डिभाइस निर्माण गरिएको छ । लन्डनस्थित इम्पेरियल कलेजमा पनि क्यान्सर पत्ता लगाउन सक्ने चक्कुको आविष्कार गरिएको थियो । यसैगरी हार्भर्ड विश्वविध्यालयका वैज्ञानिकहरूको एउटा समूहले लेजर प्रविधिको उपयोग गरेर ब्रेन क्यान्सरको उपचार गर्दै आएका छन्।

     एजेन्सी 

प्रतिक्रिया दिनुहोस्