Logo

समातिएका ‘अवैध डाक्टर’ छुटाउन प्रहरीमाथि सञ्चालकहरुकै दवाव

स्तावेज संवादादाता,माघ १७ गते बुधवार,२०७४, काठमाण्डौं –  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत सोमबार पक्राउ गरेका विदेशी चिकित्सकहरुलाई छोड्न अस्पताल सञ्चालकहरुले दवाव दिन थालेका छन्।

ब्युरोको टोलीले राजधानीका पाँच अस्पताल र क्लिनिकबाट २० जना विदेशीलाई पक्रेको थियो। उनीहरुलाई बिरामी जाँचिरहेकै अवस्थामा पक्राउ गरिएको थियो। डाक्टरहरुलाई छोड्नको लागि अस्पताल सञ्चालक र चर्चित डाक्टरहरुले नै फोन गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए।

ब्युरोको टोलीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा राजधानीका चाइना ग्रेटवाल, चाइना पिपुल, निजामती अस्पताल, चाइना डेन्टल, एपोलो क्लिनिक र सिम्रिक अस्पतालमा छापा मारेको थियो। 

प्रहरीले नियन्त्रणमा लिएकामध्ये १७ जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने तयारी गरेको छ। व्यूरोले बुधवार म्याद थपका लागि अदालतमा उपस्थित गराउँदै छ। ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीले ‘कसैको थ्रेट र दबाबमा उन्मुक्ति नपाउने’ दावी गरे। ‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैसँग छैन। प्रहरीले अनुसन्धानमा कुनै कसुर छोड्दैन,’ उनले भने।

अमेरिका, चीनलगायत विभिन्न मुलुकका नागरिकहरु पक्राउ परेको डिआइजी कार्कीले बताए। मेडिकल काउन्सिलको अनुमति नलिइकन लामो समयदेखि उनीहरुले काम गरेको पाइएको छ। 

यसअघि ब्युरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदले केही समय अगाडि १६ हजार डाक्टरको शैक्षिक प्रमाणपत्र छानबिन सुरू गरेको थियो। ‘अपरेसन क्वाक’ नाम दिइएको यो अभियानका क्रममा देशका विभिन्न स्थानबाट ७० जनाभन्दा बढी चिकित्सकलाई नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया दिनुहोस्