Logo

भारी हिमपातले अमेरिकाको जनजीवन प्रभावित

                                 न्यूयोर्कमा भएको हिमपात

स्तावेज,पौष २१ गते शुक्रवार ,२०७४,न्युयोर्क/अमेरिका – अमेरिकाको उत्तरपूर्वी राज्यहरूमा बिहीबार बिहाननैदेखि परेको हिमपातले जनजीवन प्रभावित बनेको छ । न्यु योर्क, न्युजर्सी, कनेक्टिकट, भर्जिनिया, म्यासाचुसेट्स लगायत राज्यमा बाक्लो हिउँसँगै उच्च वेगमा हुरी आएकाले जनजीवन अस्तव्यस्त बनेको हो ।

सडकमा १० देखि १४ इन्चसम्म हिउँ पर्ने ‘वेदर फरकास्ट’ले अनुमान गरे अनुसार नै न्युयोर्कको कुइन्समा १३ इन्चसम्म हिउँ परेको छ । हिउँसँगै ५० देखि ६० माइल प्रतिघण्टाको वेगमा चलेको हावाहुरीका कारण मानिसहरू घर बाहिर निस्कनै कठिन भएको छ ।

बिहीबार अत्यन्तै वेगमा हिमहुरी आउने जानकारी पाएपछि ‘न्यूयोर्क सिटी डिपार्टमेन्ट अफ एजुकेशन’ले बुधवार राति नै सूचना सार्वजनिक गरी स्कुल, कलेज बन्द गर्ने घोषणा गरेको थियो । जसका कारण सम्पूर्ण विद्यालयहरू बिहीबार बन्द रहे ।

कतिपय मेट्रो स्टेसन र ट्रेनको लिकमा समेत हिउँ जमेकाले ट्रेन समयमै सुचारु हुन नसकेको न्यु योर्क टाइम्सले जनाएको छ । नेवार्क विमानस्थलबाट हुने ७५ प्रतिशत हवाई रद्द भए भने जेएफके विमानस्थलबाट २३ प्रतिशत हवाई उडान रद्द भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिका भरी लगभग ३ हजार हवाई उडान रद्द भएको छ ।

भारी हिमपातका कारण उत्तर पूर्वी यी राज्यहरूको तामक्रम पनि निकै चिसिएको छ । बिहीबार रातीको तापक्रम माइनस ५ फरेनहाइट देखि माइनस २० सम्म पुग्ने जनाइएको छ । राष्ट्रिय मौसम सेवाले हिमआँधीसमेत हुनसक्ने चेतावनी सहित शुक्रवार मध्यान्ह १ बजे देखि शनिवार दिउसो सम्म हावाको वेग बढ्न सक्ने जनाएको छ ।

नेपालीहरूको बाक्लो बस्ती रहेको कुइन्समा पनि १३ इन्चसम्म परेको हिमपातले अधिकांश दैनिक कामकाजमा जान सकेनन् । कुइन्सको ज्याक्सन हाइटमा बस्दै आएका झोक बहादुर छन्त्याल बिहीबार काममा जान सकेनन् । ‘कहिल्यै बिदा नहुने मेरो काम गर्ने ठाउँबाट समेत बिहानै फोन गरेर घरैमा बस्नु भन्यो’ उनले भने, ‘बाहिर त निस्कन सक्ने अवस्था छैन तर के गर्नु दिनभर गाडीको हिउँ सोरिरहनु पर्छ नत्र भोलि गाडी बाहिर निकाल्न सकिन्दैन ।’ घण्टा लगाएर सडकको किनारमा राखेको गाडी वरिपरिको हिउँ सोरेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्