Logo

प्रदेश नं २ को राजधानी राजविराज हुनुपर्ने सप्तरीवासीको माग

स्तावेज,पौष,१५ गते,शनीवार,२०७४, राजविराज- मुलुकमा लोकतन्त्र प्राप्तिका लागि सप्तरीवासीले नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रदेश नं २ को राजधानी राजविराज नै हुनुपर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । 

सप्तरीको राजविराजमा आज नागरिक सञ्जाल र बृहत् नागरिक सञ्जालले आयोजना गरेको ‘प्रदेश नं २ को राजधानी राजविराजमा’ विषयक विचार गोष्ठीमा सहभागी वक्ताले यस्तो बताएका हुन् । 

सो गोष्ठीमा नेकपा (एमाले) का केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले लोकतन्त्रका लागि भएका सबैजसो आन्दोलनमा सप्तरीवासीको भूमिका नेतृत्वदायी नै रहेकाले जिल्लाको विकास र इतिहास जोगाउनका निम्ति प्रदेश नं २ को राजधानी राजविराज नै हुनुपर्ने बताए  । 

उनले जिल्लाको समृद्धि, विकास र राजविराज राजधानी हुनुपर्ने विषयमा एमाले पार्टीको पूर्ण सहयोग र साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरे । 

विचार गोष्ठीमा वरिष्ठ पत्रकार अनिलकुमार अनल, प्राध्यापक देवनारायण यादव, अधिवक्ताद्वय भूपेन्द्रनारायण मण्डल र राजेन्द्रप्रसाद देव, समाजसेवी हासिम अन्सारी, महिला अधिकारकर्मी अभासेतु सिंह र समाजसेवी जगरनाथ मुन्धडाले राजविराजको विकासका लागि प्रदेश नं २ को राजधानी हुनुपर्ने धारणा राखे  । 

गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह, मधेशका लागि अधिकार सुरक्षित गर्ने र प्रान्तको माग गर्ने मधेशका मसिहा गजेन्द्रनारायण सिंहको जन्मथलो सप्तरी नै भएकाले गोष्ठीका सहभागी वक्ताले राजविराजलाई नै राजधानी बनाउनुपर्नेमा समेत जोड दिएका छन् । 

नागरिक सञ्जालका संस्थापक अध्यक्ष सुखराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल आबद्ध नेता, कानून व्यवसायी, बुद्धिजीवी, नागरिक अगुवालगायतले समेत राजविराज प्रदेश नं २ को राजधानी हुनुपर्नेमा आ–आफ्नो विचार प्रस्तुत गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस्