Logo

अपाङ्गता भएका आरोहीलाई चिकित्सकको अनुमति विना सगरमाथा आरोहण गर्न प्रतिबन्ध

स्तावेज,पौष,१५ गते,शनीवार,२०७४, काठमाण्डौ – संशोधित पर्वतारोहण नियमावली अनुसार अपाङ्गता भएका आरोहीलाई चिकित्सकको अनुमति विना सगरमाथा वा अन्य हिमाल आरोहण गर्न नदिने व्यवस्था गरिएको एक अधिकारीले बताए।पर्वतारोहणको क्रममा हुने दुर्घटना कम गर्न एक्लै हिमाल चढ्न नपाइने जस्ता नयाँ नियम ल्याइएको अधिकारीहरुको भनाइ छ। नेपालमा सर्वोच्च शिखर सगरमाथाका अतिरिक्त ४०० भन्दा बढी हिमाली चुचुराहरु आरोहणका लागि खुला गरिएका छन्।

यदाकदा पर्वतारोहीहरुले एक्लै आरोहणको प्रयास गर्ने गरेका खबरमाझ यसै साता मन्त्रिपरिषद्को विधायन समितिले पारित गरेको नयाँ नियम अनुसार अब कसैलाई एक्लै आरोहण गर्ने अनुमति दिइने छैन।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेकाअनुसार अशक्त र अपाङंगता भएका आरोहीले अनिवार्य रुपमा चिकित्सकको सिफारिस लिएर मात्र आरोहण अनुमति माग्न सक्छन्। न्यौपानेले भने, “दुवै आँखा नदेख्ने र दुवै खुट्टा नटेक्नेलाई चिकित्सकले कसरी हिमाल चढ्न सिफारिस गर्लान् र? तर यदि सिफारिस सहित कोही आयो भने त्यसलाई अनुमति दिने निकायले हेरेर निर्णय गर्ला।”

खासगरी वसन्त र शरद ऋतुमा नेपालमा हिमाल चढ्न आरोहीहरुको भीड लाग्ने गर्छ।गत वसन्त ऋतुमा आरोहणको क्रममा सबैभन्दा पाको उमेरको सगरमाथा आरोही बन्ने लक्ष्य लिएका ८५ वर्षिय मीनबहादुर शेरचनको ज्यान गएको थियो।त्यही महिना सगरमाथा नजिकै एक्लै पर्वतारोहण गर्ने अभ्यास गरिरहेका स्वीटजरल्याण्डका प्रसिद्ध आरोही उएली स्टेकको पनि ज्यान गएको थियो।

छिट्टै राजपत्रमा प्रकाशित हुने भनिएको नेपाल सरकारको नयाँ नियम अनुसार सफलतापूर्वक पर्वतारोहण गर्ने पर्वतारोहीका अतिरिक्त सहयोगी र पथप्रदर्शकलाई पनि आरोहण प्रमाणपत्र दिइनेछ। नयाँ नियमावली अनुसार सगरमाथा र अन्य हिमालको आधार शिविरमाथि हेलिकोप्टरको प्रयोग गरी हिमाल चढ्ने वा हिमालबाट तल ओर्लन समेत पर्वतारोहीलाई वर्जित गरिने भएको छ।घाइते वा बिरामीको उद्धारका लागि मात्र हेलिकोप्टर प्रयोग गर्न पाइने व्यवस्था नियमावलीमा गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्