संसारका धनाढ्य बिल गेट्सलाई मन पर्यो ‘ट्वाइलेट’
दस्तावेज, पौष १४ गते ,शुक्रवार,२०७४,नयाँदिल्ली – संसारका धनाढ्य बिल गेट्सले भारतका ग्रामीण इलाकामा सरसफाइ गर्न तथा दूरदराज गाउँका घरमा शौचालय बनाउन प्रेरित गर्ने चलचित्र ‘ट्वाइलेट : एक प्रेमकथा’ को प्रशंसा गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ट्वाइलेट : एक प्रेमकथा’ बलिउडको चलचित्र हो । यसमा एक नवविवाहित जोडीको रोमान्स देखाइएको छ । यो चलचित्रले भारतमा भएको सरसफाइको चुनौतीबारे दर्शकलाई जागरुक बनाउँछ ।’
११ अगस्टमा रिलिज गरिएको अक्षय कुमार र भूमि पेडनेकर अभिनीत यो चलचित्रमा देशका लागि सामाजिक सन्देशमात्र थिएन, सर्वसाधारणलाई ट्वाइलेटको आवश्यकताबारे जानकारी गराउँदै ट्वाइलेट बनाउन जागरुक बनाइएको थियो । चलचित्रमा सरसफाइलाई विशेष ध्यान दिँदै खुला स्थानमा शौच गर्दा महिलाले भोग्नु परेका पीडा पनि देखाइएको छ ।
अक्षय कुमार अभिनीत चलचित्रको प्रशंसा गर्दै गेट्सले ट्विटरमा प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छता अभियानलाई चलचित्रले सघाएको बताएका छन् । प्रधानमन्त्री मोदीले पनि अक्षय कुमारको यो चलचित्रको तारिफ गर्दै ट्वीट गरेका थिए । ‘यसलाई एक चलचित्र मात्र नभनेर सरसफाइ आन्दोलन भन्नुपर्छ’, प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन् ।