Logo

भारतीय महिलाद्दारा एकपटकमा चार शिशुको जन्म

स्तावेज, पौष १३ गते विहिवार २०७४,पटना  – भारतीय राज्य बिहारको राजधानी पटनास्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा बुधबार एक महिलाले ४ बच्चालाई जन्म दिएकी छन्।

नवजात बच्चामा तीन छोरी र एक छोरा छन् । समयपूर्व नै जन्मिएकाले उनीहरूलाई हाल ‘चाइल्ड केयर युनिट’मा राखिएको छ । एम्सकी महिला चिकित्सक एवं प्रसूति विभागकी प्रमुख डा. मुक्ता अग्रवालले उक्त जानकारी दिएकी छन् । अरवलको बम्बुई गाउँका बासिन्दा मुन्ना सावकी पत्नी रिंकु अनितादेवी पेटमा पीडा भएपछि तीन साताअघि उपचारका लागि अस्पताल आएकी थिइन् ।

साढे ६ महिनामा नै अनितालाई प्रसव पीडा सुरु भएको थियो । त्यसपछि २५ वर्षीया रिंकुको मंगलबार अपरेशन गरिएको थियो । अपरेशनपछि उनले तीन छोरी र एक छोरालाई जन्म दिएकी हुन् । डा. अग्रवालले भनिन्, ‘एक बच्चाको तौल ८५० ग्रामभन्दा बढी छ भने अरू सबै त्योभन्दा कम तौलका छन् । सबै बच्चा स्वस्थ छन् ।’ समयभन्दा पहिले नै जन्मिएका हुनाले उनीहरूको उचित विकास नभएको अग्रवालले जानकारी दिइन् ।

ती सबै बच्चालाई खतरामुक्त नहुन्जेल भेन्टिलेटरमा राखिने उनले बताइन् । एम्समा यस्तो सुविधा भएकाले उनीहरूलाई बचाउन सकिने आशा गरेका छन् । मुन्नाको विवाह चार वर्षअघि अनितासँग भएको थियो । नवजात शिशुका लागि खर्च गर्न उक्त दम्पतीलाई कठिन भएको छ । उनका आफन्तहरूले औषधि महँगो भएकाले खर्च धान्न गाह्रो भएको बताएका छन् । महिला चिकित्सक डा. अग्रवालले ती शिशुलाई सहयोग गर्न स्वयंसेवी संस्थालाई आग्रह गरेकी छन् । एकैसाथ चार सन्तान जन्मिएको खबरपछि अस्पतालमा मानिसको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्