स्तावेज,मंसिर ६ गते बुधवार,२०७४,काठमाण्डौं –  चिट्ठा परेको भन्दै भाइबरमा ठगी गर्ने गरेको रहस्य बाहिर आएको छ । सर्वसाधारणका फोनमा आउने गरेको भाइबर कलमार्फत चिट्ठा परेको भन्दै ठग्ने गरेको कुरा बाहिर आएको हो । दुबई र भारतबाट स्मार्टफोन प्रयोगकर्ताको मोबाइलमा भाइबर चिट्ठाको नक्कली प्रमाणपत्र पठाएर ठगी धन्दा हुँदै गरेको छ ।

सिमकार्डमा दर्ता भएको नाममा तपाईंलाई चिट्ठा परेको भन्दै आफूअनुकूल बैंकमा खाता खोल्न लगाएर चिट्ठाको १ प्रतिशत रकम जम्मा गरिदिन भन्दै सर्वसाधारण ठगिने क्रम पछिल्लो समय बढेको छ ।

ठगहरूले पछिल्लो समय काभ्रेमा सर्वसाधारणलाई अनुरोध गर्दै मोबाइलमा भाइबर चिट्ठाको नक्कली प्रमाणपत्र पठाई नेपाल एसबीआई बैंकको शाखामा खाता खोली चिट्ठाको १ प्रतिशत रकम जम्मा गर्न लगाउने गरका छन् ।  यसरी खातामा पैसा हाल्न काभ्रेका केही सर्वसाधारण बैंकमा आउन थालेपछि भाइबरबाट हुने ठगीको घटना सार्वजनिक भएको हो ।

लोटरी परेका सुन तथा चाँदीका गहना दुबईबाट पठाएर भारतमा अड्किएको भन्दै सर्वसाधारण दैनिक रूपमा खाता खोल्न बैंक पुगेपछि भाइबर चिट्ठाको नाममा ठगी हुने गरेको नयाँ तथ्य फेला परेको हो । ‘सोमबार मात्रै एक जना दिदी दुबईबाट सामान भारतमा अड्किएको भन्दै आउनुभएको थियो,’ नेपाल एसबीआई बंैकका सहायक प्रबन्धकले नाम नछाप्ने सर्तमा भने, ‘साथीले सामान पठाइदिएको भने पनि नाम थरसमेत उनले भन्न सकिनन् ’ ।

उनलाई पनि नेपालमा रहेको एसबीआई बैंकमा खाता खोलेर केही रकम राजस्वबापत जम्मा गरिदिन भनिएको र नेपालमा भएको बैंकबाट भारतमा रहेको एसबीआई बैंकमा उनीहरूले दिएको खातामा रकम जम्मा गरिदिएपछि तिनीहरू सम्पर्कबाट बाहिरिने गरेको ती अधिकारीले बताए । सोमबार दिउँसो बनेपाका एक युवा व्यवसायीलाई भाइबरमा कल आएपछि उनी पनि अचम्ममा परे ।

दुबईबाट राजेशकुमार भन्नेले ९२३४९१२९५३२५ नम्बरबाट फोन गरेपछि सुरुमै उनले बधाई दिए । भाइबर चिट्ठाको २५ लाख रुपैयाँ तपाईंले प्राप्त गर्नुभएको भन्दै ती व्यवसायीले भने, ‘अब तपाईंलाई भारतबाट फोन आउँछ उठाएर पैसासमेत रिसिभ गर्नुहोला ।’

भाइबर लोटरीमा आईसी २५ लाख अर्थात् नेपाली ४० लाख रुपैयाँ थियो । केही क्षणमै उनलाई भारतका अभिषेककुमार सोनु भन्नेले ००९१८२३९७५७५९६ नम्बरबाट फोन गरे । उनले तत्कालै नेपालको बैंक खाता पठाउन अनुरोध गरे । उनले प्रभु बैंकमा भएको शून्य मौज्दातको खातानम्बर दिए पनि नेपाल एसबीआई बैंकमा भएको आफ्नो वा नजिकको व्यक्तिको खातानम्बर पठाइदिन अनुरोध गरेपछि उनलाई शंका लाग्यो । त्यसपछि नजिकका साथीलाई फोन गरेर चिट्ठाको बारेमा भनेपछि मात्रै आफू ठगिन लागेको थाहा पाएको उनले बताए ।

तिनै व्यापारीलाई पुनः राति ८ बजे कल गरेका अभिषेकलाई मंगलबार बिहान मात्रै खाता खोलेर नम्बर पठाइदिने बताएका युवालाई पुनः बिहान ८ बजे कल गर्न भनिएको थियो । उनले ती व्यवसायीलाई भाइबरको लोटरी प्रमाणपत्र भन्दै नक्कली प्रमाणपत्र पठाएका थिए । १० बजे नेपाल एसबीआई बैंक बनेपा शाखामा पुगेर युवाले अभिषेकलाई फोन गरे । अभिषेकले ती युवालाई २५ लाख भारतीय रुपैयाँको १ प्रतिशत ४० हजार रुपैयाँ जम्मा गरी खातानम्बर दिन र त्यो रकम भारतमा रहेको एसबीआई बैंकमा पठाउन अनुरोध गरे । त्यतिबेला मात्रै थाहा भयो भाइबर चिट्ठाको नक्कली प्रमाणपत्र तयार गरेर सर्वसाधारण दुबई र भारतबाट ठगिन थालेका छन् भनेर ।

राजधानी दैनिक