Logo

चलचित्र ‘भैरे’को भव्यतापूर्वक शुभ मुहुर्त गरियो,मंसिरको पहिलो हप्ताबाट छायांकन शुरु गरिने

स्तावेज,कार्तिक ३० गते, बिहीबार, २०७४, काठमाण्डौं – विध्यार्थी जीवनदेखि नै रंगमञ्चको क्षेत्रमा होमिएर सडक नाटक,भिडियो फिल्म हुँदै दर्जनौं नेपाली सिरियल एवं टेलिभिजनको पर्दामा समेत निर्देशन गरेका साथै नेपाली चलचित्रको क्षेत्रमा सुपरहिट चलचित्र दिन सफल निर्देशक श्री एभरेष्ट सूर्य बोहराको पाँचौँ चलचित्र ‘भैरे’ बन्ने भएको छ । चलचित्र ‘ठूली’ साथै ‘अग्नी परीक्षा’ र ‘मुटु’र ‘कान्छा’जस्ता सुपरहिट सिनेमाहरु बनाउन सफल निर्देशक एभरेष्ट सूर्य बोहराले केही समयको बिश्रामपछि पुन: नयाँ फिल्म निर्देशन गर्न लाग्नुभएको छ ।

२२ बर्षको उमेरदेखि नेपाली चलचित्र क्षेत्रमा बलियो निर्देशकिय छवि बनाउनुभएका निर्देशक तथा कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण गर्न लागिएको चलचित्र ‘भैरे’को आज बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन गरी भव्यताकासाथ शुभ मुहुर्त गरिएको छ । आउँदो मंसिर ४ गतेबाट छायाङ्कन सुरु गरिने चलचित्र ‘भैरे’ सुटिङ स्पटको लागि प्राकृतिक सुन्दरताले भरिएको अत्यन्त मनोरम पर्यटकीय स्थल मुस्ताङको जोमसोम, काठमाडौँ, पोखरालाई छनौट गरिएको छ ।

चलचित्रमा ‘भैरे’को लिड भूमिकामा दयाहाङ राई रहने छन् भने सुरक्षा पन्तलाई उनको जोडीका रूपमा देख्न पाईनेछ । नेपालय सिनेमा ईन्टरनेशनल प्रा.लिई. को ब्यानरमा बन्ने चलचित्र ‘भैरे’का निर्माता प्रेम प्रसाद पौडेल हुनुहुन्छ भने कार्यकारी निर्मातामा देवी माया अधिकारी रहनुभएको छ । उक्त चलचित्रमा चर्चित गायक एम बराल, लेख बहादुर गुरुङ (डेनिम) र रघु पुरी सह-निर्माता रहनुभएको छ भने सूर्य थोकर र चन्द्र पन्तको द्दन्द निर्देशन रहनेछ । पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रको छायाङ्कन अवधि ४० दिन तोकिएको छ । आगामी तिजमा धुम धडाकासाथ चलचित्र प्रदर्शनमा आउने जानकारी चलचित्र युनिटले दिएको छ ।

यस चलचित्रमा सुनिल थापा (रातेकाईंला), चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ (हैट) जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहने छन् भने बाल कलाकारहरुमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहने छ । पुरुषोत्तम प्रधानको छायाङ्कन रहने चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, वसन्त सापकोटा, अर्जुन पोख्रेल एवं चर्चित गायक एम बरालको सङ्गीत रहने छ ।

कार्यक्रममा शंखध्वनिका साथ दीप प्रज्वलन र पुजापाठ गरी आरम्भ गरिएको चलचित्र ‘भैरे’को शुभमुहुर्त समारोहमा रामकेशर बोगटी, रबिन्द्र खड्का, निर्मल शर्मा, पार्वती अधिकारी लगायकाका नयाँ तथा पुराना कलाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त अवसरमा लेखक तथा निर्देशक एभरेष्ट सूर्य बोहरा, कलाकारहरू दयाहाङ राई सुरक्षा पन्त र वर्षा शिवाकोटीले चलचित्र भैरेको कथाबस्तुबारे आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै निर्देशक श्री एभरेष्ट सूर्य बोहराले चलचित्र ‘भैरे’को कथाबस्तु अत्यन्त राम्रो रहेको र दर्शकको चाहना अनुरूपको चलचित्रको निर्माण हुन लागेको जानकारी दिनुभएको थियो ।अत्यन्त उत्साहजनक सुरुवात गरिएको चलचित्र ‘भैरे’ले शिखर चुम्न सफल रहोस् दस्तावेज डट कमको तर्फबाट अग्रिम शुभकामना ।

Deepshikha Sharma

[email protected]

 

प्रतिक्रिया दिनुहोस्