Logo

सबैभन्दा महँगो सेयर मूल्य भएको युनिलिभरको नाफा बढ्यो

स्तावेज संवाददाता, कार्तिक २८ गते मंगलवार, २०७४, काठमाण्डौं – नेपाली सेयर बजारमा सबैभन्दा महँगो मूल्य रहेको युनिलिभरले वित्तीय विवरण पनि प्रगति उन्मुख देखाएको छ । कम्पनीले सार्वजनिक गरेको साउन, भदौ र असोज महिनाको वित्तीय विवरणअनुसार खुद नाफा ३० करोड १७ लाख रहेको छ। जवकि गत वर्षको यस अवधिमा यो नाफा १७ करोड २ लाख थियो।

कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। गत वर्ष प्रतिसेयर आम्दानी १८५ रुपैयाँ रहेकोमा ३२८ पुगेको छ। समग्र आम्दानी बढेपछि कम्पनीको नाफा बढेको हो। कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ छ। जगेडाकोषको आकार १ अर्ब ९ करोड २८ लाख रुपैयाँको छ। कम्पनीको बजारमा सेयर मूल्य प्रतिकित्ता २९ हजार रुपैयाँभन्दा बढी छ। वित्तीय विवरण सन्तोषजनक देखिएपछि मंगलबार कम्पनीको मूल्य बढेको छ।

युनिलिभर कम्पनीका कुल ४ सय ब्राण्डका सामानहरु उत्पादन हुने गर्दछ। नेपालमा मकवानपुरको हेटौंडामा मुख्य कार्यालय रहेको यो कम्पनीको सनसिल्क, डोभ, क्लिनिक प्लस, क्लियर ब्राण्डका सैम्फू प्रख्यात छ। लक्स, लिरिल र लाइफब्वाय ब्राण्डको साबुन तथा पेप्सुडेन्ट र क्लोजअप ब्राण्डको मञ्जन पनि नेपालमा प्रख्यात छ।

ह्विल, रिन, भिम, डोमेक्स, सर्फ एक्सल ब्राण्डका कपडा धुने सर्फ चर्चित छन् भने फेयर एण्ड लब्ली, भेसलिन, पोण्ड, एभियन्स ब्राण्डका क्रिमको बजार राम्रो छ। यीबाहेक विभिन्न प्रकारका सुगन्धित तेल र स्प्रे पनि बजारमा पाइने गर्दछ। कम्पनीका प्याकेजिङ खाद्यान्न तथा पिय पदार्थ पनि पाइने गर्दछ। मोर्डन कुकिज, ब्रु कफी, ताज महल र ताजा चिया, किसान ससेज, लिप्टन जुसको पनि नेपालमा बजार विस्तार हुँदै गएको छ।

प्रतिक्रिया दिनुहोस्