Logo

निर्माण व्यवसायी गौचनको हत्यामा संलग्न सुटर राजीव लामासहित ५ जना पक्राउ,प्रहरीले आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

स्तावेज संवाददाता कार्तिक २८ गते मंगलवार २०७४ काठमाण्डौं – निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित पाँच जना पक्राउ परेका छन् । महानगरीय प्रहरीले आजै पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने भएको छ। सुटर राजीव लामा रहेको स्रोतले पुष्टि गरेको छ। लामाले गुन्डा समिरमानसिंह बस्नेतको निर्देशनमा व्यवसायी गौचनमाथि गोली हानेको प्रहरी अनुसन्धानमा देखिएको छ।

गोली हान्न निर्देशन दिने बस्नेत भने फरार रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले भने, ‘हत्यामा संलग्न सुटरसहित पाँच जना पक्राउ परेका छन्। आज ३ बजे सार्वजनिक गर्दै छौं।’

गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए । प्रहरीले यसअघि हत्यामा प्रयोग गरिएको आशंकामा दुई वटा मोटरसाइकल बरामद गरेको थियो। जसमध्ये एउटा चोरीको मोटरसाइकल भएको प्रहरीको अनुसन्धान समितिले पत्ता लगाएको थियो।  

प्रतिक्रिया दिनुहोस्