Logo

सुन्दर अनुहार तथा अाकर्षक शरीर बनाउन गरिने कस्मेटिक सर्जरी के हो ?

स्तावेज,कार्तिक २६ गते आईतवार , २०७४ – कस्मेटिक सर्जरी प्लास्टिक सर्जरीकै एउटा अंग हो । कस्मेटिक सर्जरीलाई सुन्दरता निखार्ने प्रक्रियाका रुपमा पनि लिने गरिन्छ । विशेषगरी अनुहारमा नमिलेको भाग र चाउरी परेको छालालाई तन्काउनेदेखि लिएर सुन्दर अनुहार तथा शरीरका लागि कस्मेटिक सर्जरी गर्न सकिन्छ । शरीरको बाहिरी अंगमा कुनै कमी महसुस भएमा कस्मेटिक सर्जरी गरेर परिपूर्ति गर्ने गरिन्छ । कस्मेटिक सर्जरीबारे सही जानकारी पाउन नसक्दा यो सेवा लिन चाहने धेरै मानिस सेवाबाट वञ्चित हुँदै आएका छन्। 

कुनै पनि सर्जरी गर्दा अरुको लहैलहैमा लागेर गर्नु भन्दा राम्रोसँग बुझेर गर्नुपर्छ । कस्मेटिक सर्जरी दुई प्रकरले गर्न सकिन्छ । एउटा सर्जरी र अर्को ननसर्जरी (सुइको माध्यमबाट)।

सबै उमेर समूहका मानिसले कस्मेटिक सर्जरी गर्न मिल्छ । विशेषगरी १८ देखि २५ वर्ष उमेर समूहका सेवाग्राही यसप्रति आकर्षित छन्। यस्तै, ३५ वर्षमाथिका मानिसले छाला तन्काएर लुकाउन कस्मेटिक सर्जरी गर्ने गर्छन् । जन्मजात अनुहारमा वा शरीरको देखिने भागमा कुनै प्रकारको खोट भएका युवाले आफ्नो सुन्दरताका लागि कस्मेटिक सर्जरी रोज्छन्।

सकेसम्म प्लास्टिक तथा कस्मेटिक सर्जनसँग सल्लाह लिएर मात्र सर्जरी गर्नु उपयुक्त हुन्छ । कस्मेटिक सर्जरी नेपालमै गरिँदै आएको छ । नेपालमा सर्वसुलभ ढंगले यो सेवा पाइन्छ । प्लास्टिक सर्जरीका लागि नेपालीहरू विदेश गएर लाखौं रुपैयाँ खर्च गर्छन् तर यहीँ पाउने सेवाबारे भने जानकारी राख्दैनन्।

किन गरिन्छ सर्जरी ?

–  साना आँखालाई अलिक ठूलो र आकर्षक देखाउन । 

–  ठूलो वा नमिलेको नाकलाई सुन्दर देखाउन । जसलाई राइनो सर्जरी भनिन्छ ।

– आँखा, नाक, छाला, नमिलेको गाला, निधार आदि मिलाएर सुन्दरतामा निखार ल्याउन। 

– महिलाको ठूलो वा झोल्लिएको छातीलाई सानो वा आकर्षक बनाउन । 

– गर्भावस्थामा महिलाको तिघ्रा तथा पेटमा आउने ‘स्ट्रेचिङ’ अर्थात् सेतो धर्सा केही हदसम्म भए पनि मेटाउन । 

– मोटो पेटलाई घटाउन । 

– पुरुषको सानै उमेरमा छाती ठूलो छ भने त्यसलाई सामान्य अवस्थामा ल्याउन ।

– आगोले पोलेको दाग हटाउन ।

– जोडिएका औंलाहरु छुटाउन ।

– बांगो कान सामान्य जस्तै बनाउन ।

– ‘सिलिकन ब्रेस्ट इम्प्लान्ट’ गरी सानो स्तनलाई ठूलो बनाउन । 

– काटिएको ओठ बनाउन, ओठ सानो वा ठूलो बनाउन । (यो इन्जेक्सनबाट पनि गराउन मिल्छ) ।

– आँखाको तलपट्टि जमेको बोसो हटाउन । आदि ।

कस्मेटिक सर्जरी गर्दा प्रकृति हेरेर खर्च लाग्ने गर्छ । अस्पताल अनुसार पनि फरक–फरक मूल्य तिर्नुपर्ने हुन सक्छ । त्यसैले कस्मेटिक सर्जरी गर्न यति नै खर्च लाग्छ भनेर किटान गर्न सकिँदैन । जति जटिल शल्यक्रिया भयो त्यति नै खर्च महँगो पर्छ । विशेषगरी, छाला टाइट गर्ने, पेटको बोसो फाल्ने जस्ता शल्यक्रिया महँगो पर्छ । 

प्लास्टिक सर्जरी वा कस्मेटिक सर्जरी जे भने पनि मुख्यतः यो काटेरै गर्ने सर्जरी हो । तर, अनुहारको सर्जरी गर्दा नदेख्ने भागको छाला काटेर जोड्ने भएकाले त्यसको दाग देखिँदैन । जस्तैः नाकको सर्जरी गर्नुपर्दा कानको पछाडिपट्टिको छाला ल्याएर गरिन्छ । 

कस्मेटिक सर्जरी गरेपछि सामान्य अवस्थामा आउन एकदेखि चार हप्तासम्म लाग्न सक्छ । सर्जरी गर्दा सुन्निने वा निलो डाम बस्ने भएकाले त्यो निको हुन समय लाग्ने हो । पेटको शल्यक्रिया गरेको छ भने निको हुन अलि बढी समय लाग्छ । केही समयसम्म काम गर्नु हुँदैन, किनकि यो जटिल  शल्यक्रियामा पर्छ । पेटको कस्मेटिक सर्जरी निको हुन एकदेखि डेढ महिनासम्म आराम गर्नुपर्ने हुन्छ । 

कस्मेटिक सर्जरी गर्दा खासै ‘साइड इफेक्ट’ नहुने भएकाले डराउनु पर्दैन । तथापि, शल्यक्रियापछि केही न केही समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर आफ्नो हेरचाह गर्नुपर्छ । अन्य शल्यक्रियामा जस्तै यसमा पनि औषधि सेवन गर्नुपर्छ । यसमा पनि अन्य शल्यक्रियामा जस्तै बिरामीलाई बेहोस बनाउनुपर्छ ।

(डा. जयनमान श्रेष्ठ  प्लास्टिक तथा कस्मेटिक सर्जन हुन्)

         स्वास्थ्य खबर पत्रिका

प्रतिक्रिया दिनुहोस्