Logo

आजबाट मतदाता शिक्षा कार्यक्रम, आयोगले खटायो २० हजार कर्मचारी

स्तावेज संवाददाता,कार्तिक २५ गते शनिवार, २०७४ ,काठमाडौं- निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मतदातालाई शिक्षा दिन २० हजार कर्मचारी परिचालन गरेको छ।

जिल्ला सदरमुकामबाट गाउँगाउँमा परिचालित हुँदै भोट हाल्ने तरिका सिकाउन आजबाट कर्मचारी पठाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। यसअघि स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा नपुग्दा धेरै मत बदर भएको भन्दै आयोगको आलोचना भएको थियो। 

विगतको आलोचनालाई समेत सुनेर यस पटक १५ दिनअघि नै विभिन्न सरकारी र गैरसरकारी निकायसँग सम्वन्वय गर्दै कर्मचारी खटाएको ढकालको भनाइ छ। राजनीतिक दललाई समेत मतदाता शिक्षामा सहयोग गर्न आयोगले आग्रह गरेको उनले बताए। यसपटको निर्वाचनमा भने विगतको भन्दा बदर मत कम आउने आयोगको आँकलन छ।

पहिलो चरणको निर्वाचन आउन १५ दिन बाँकी रहेको बेला आयोगले आजबाट मतदाता शिक्षा सुरु गरेको हो। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र भोट हाल्ने तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो।

आयोगले एक महिनाअघि नै मतदाता शिक्षा दिने कार्य सुरु गर्न लागे पनि सर्वोच्च अदालतको मुद्दाका कारण ढिलो भएको ढकालले बताए। अदालतको आदेश नआएसम्म मतपत्र छपाइमा समेत अन्योल भएकाले योजनाभन्दा केही समय ढिलो भएको उनको भनाइ छ।

सर्वोच्चले प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र अलगअलग बनाउन निर्देशन दिएपछि आयोगले त्यसको पालना गर्दै मतपत्र तयार गरेको छ। यसअघि एउटै मतपत्र छाप्ने आयोगको तयारी थियो। सर्वोच्चको आदेशपछि आयोगले अलगअलग मतपत्र छापेर जिल्ला जिल्लामा पठाउँदा ढिला भएको हो।

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन आउँदो मंसिर १० गते र दोस्रो चरणको मंसिर २१ गते तोकिएको छ । यो निर्वाचनमा तीन वटा मतपत्र हुनेछन् । उक्त पत्रमा चार वटा छाप लगाउनुपर्ने हुन्छ। प्रत्यक्षतर्फ दुई वटा मत हुनेछन् भने समानुपातिकतर्फ एउटै मतपत्रमा दुई वटा छाप लगाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्