Logo

सुनिल चौहानलाई भव्यताका साथ बिदाइ

“दीपावलीको दियो झैँ बल्दै जाऊ
सहयोगी हातले तेल थप्दै जाऊ
बाँचुन्जेलसम्म झापाली समाजको नाम जप्दै जाऊ
बगेका छन् घरहरू छैन लाउने केही
दिनुपर्छ आत्माबाट जे सक्छौँ त्यही
ती भत्केका घरको भित्तो टाल्दै जाऊ
बाँचुन्जेलसम्म झापाली समाजको नाम जप्दै जाऊ “

रामप्रसाद ढुंगेल,दस्तावेज आश्विन १३ गते सोमबार २०७४ – समयामयिक कविता तथा गजल लेखनमा अब्बल चारआली झापाका सुनिल चौहान आफ्नो बिदाइ कार्यक्रममा लयात्मक रूपमा प्रस्तुत भएर सबैलाई मन्त्रमुग्घ पार्न थाले । बिदाइ आफैमा भावुक शब्द हो, त्यसमाथि सारगर्भित कवितांशले वातावरण साँच्चीकै भावपूर्ण बनेको थियो ।

झापाली समाज युएईले आफ्ना सक्रिय आजीवन सदस्य तथा राक क्षेत्रीय समितिका सचिव सुनिल चौहानलाई बिदाइ गरेको छ । समाजको केन्द्रीय कमिटीको संयोजनमा २७ अक्टोबर शुक्रवार युएईको सरकारी मान्यताप्राप्त पहिलो नेपाली सामाजिक संस्था हामी नेपाली एसोसिएयनको हलमा चौहानलाई औपचारिक रूपमा बिदाइ गरिएको हो ।

समाजको हितका लागि नयाँ नयाँ भिजन तथा कार्यक्रम ल्याउने, आवश्यक सरसल्लाह, सुझाव प्रदान गरी समाजलाई मार्गदिर्नेशन गर्ने सामाजिक व्यक्तित्वको रूपमा चौहानले समाजमा पृथक स्थान बनाएका व्यक्तित्वको बिदाइ कार्यक्रममा आफू नेपाल रहनुपरेको कारण दुःख लागेको समाजका अध्यक्ष रोहितकुमार भण्डारीले अनलाइनमार्फत् प्रतिक्रिया दिएका छन् । रास अलखेमा क्षेत्रमा रहेर पनि चौहानले समाजको समग्र क्रियाकलापमा उल्लेख्य योगदान पुर्याएका चौहानलाई बिदाइ गर्दा आफू भावुक बनेको र नेपाल गए पनि समाजको सम्पर्क समितिमा रहेर सामाजिक सेवाको अभियानलाई निरन्तरता दिने विश्वास समाजका महासचिव अशोक चापागाईले प्रकट गरेका थिए ।

साहित्यको कविता, गजल विधामा दक्षता राख्ने चौहानले समाजमा निर्वाह गरेको योगदानको कदर स्वरूप झापाली समाज युएईले बिदाइ कार्यक्रम आयोजना गरेको बिदाइ कार्यक्रमका संयोजक लछुमन काफ्लेले जानकारी दिए ।
समाजका महासचिव अशोक चापागाईको सभापतित्वमा भएको औपचारिक बिदाइ कार्यक्रममा दुबई क्षेत्रका कार्यवाहक अध्यक्ष बद्री ओलीले स्वागत मन्तव्य राखेका थिए । समाजका पूर्व उपाध्यक्ष राजेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागीहरुले श्रद्धेय व्यक्तित्व चौहानको रचनात्मकता, क्रियाशीलता र सकारात्मकताको चर्चा गरेका थिए ।

उक्त बिदाइ कार्यक्रममा समाजका कोषाध्यक्ष सुमन भटराई, दुबई क्षेत्रका कार्यवाहक अध्यक्ष बद्री ओली, सदस्य विष्णुमाया दंगाल, साँस्कृतिक विभाग प्रमुख पारस लामा, केन्द्रीय सदस्य अमर राई, दुबई क्षेत्रका पूर्व उपाध्यक्ष दीपक अधिकारीले चौहानको सक्रियता र कार्यशैलीको प्रशंसा गरेका थिए । झापाली समाजले चालेका हरेक अभियान तथा कार्यक्रमहरूमा सक्रियतापूर्वक भाग लिएका चौहान आफ्नो ४ वर्षे युएईलाई अन्त्य गर्दै आगामी साता नेपाल फर्कदै छन् ।

कार्यक्रम भव्य, सभ्य र स्मरणीय बनाउन झापाली समाजका आजीवन सदस्य, केन्द्रीय, क्षेत्रीय तथा साधारण सदस्य उपस्थित भएर कदरपत्र, अबिर तथा दोसल्लाका साथमा चौहानलाई बिदाइ गरेका थिए ।

यसैबिच राखअल खेमाको नेपाली समुदायमा सहयोगी, इमानदार तथा सामाजिक व्यक्तित्वको परिचय बनाएका चौहानलाई अन्तर्राष्ट्रिय कलाकार समाज, युएई एक साङ्गीतिक कार्यक्रममा सम्मानका साथ बिदाइ गरेको इनासका महासचिव राम तामाङले जानकारी दिएका छन् । त्यसरी नै आफ्नो कमिटीको जिम्मेवार सचिव तथा मेरुदण्डको रूपमा स्थापित चौहानलाई झापाली समाज राक क्षेत्रीय समितिले पनि बिदाइ कार्यक्रम आयोजना गर्ने क्षेत्रीय अध्यक्ष खगेन्द्र बुडाथोकीले बताएका छन् । एनआरएनए युएई राक क्षेत्रका समेत सचिव रहेका चौहानलाई एनआरएनले पनि बिदाइ गर्ने अध्यक्ष जनार्दन सुवेदीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्