Logo

यमपञ्चकको दोस्रो दिन भोलि, यो मन्त्र पढेर गर्नुस् कुकुरको पूजा

स्तावेज,आश्विन ३१ गते मंगलवार २०७४ ,काठमाडौं — यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गर्ने चलन छ । कुकुरलाई यमराज वा धर्मराजको प्रतीक मान्ने गरिन्छ । महाभारतमा युधिष्ठिरले स्वर्गारोहणका बेला कुकुरलाई साथै लिएर गएको र उक्त कुकुर धर्मराजकै अवतार भएको उल्लेख छ ।

कुकुरलाई भोजन गराउँदा यमराज तथा पितृहरू प्रसन्न हुनुहुन्छ । यहाँ दिइएको श्लोक पढ्दै कुकुरलाई भोजन गराउनुस् :

द्वौ श्वानौ श्यामशवलौ वैवश्वतकुलोद्भवौ ।

ताभ्यामन्नं प्रदास्यामि रक्षतां पथि सर्वदा ।।

विवश्वत अर्थात् सूर्य भगवानका छोरा यमराजका कुलमा उत्पन्न भएका कालो र सेतो दुई कुकुरलाई म अन्न चढाउँछु । तिनीहरूले यस लोक र परलोक दुवै मार्गमा मेरो रक्षा गरून् ।

कुकुरको मृत्युदेवसँग निकट सम्बन्ध छ । रातको समयमा कुकुर रोएको वा भुकेको सुनियो भने नजिकै यमराज वा अदृश्य शक्ति छन् भनी जान्नुपर्छ । कुकुर वातावरणमा हुने सानोतिनो हलचल पनि थाहा पाउने अद्भुत क्षमता भएको जीव हो । भविष्यमा कुनै खराब कुरा हुन लागेको छ भने कुकुरले रोएरै यसको चेतावनी दिन्छ । आफ्नै मृत्युको पनि आभास कुकुरलाई अगाडिबाटै हुन्छ र जोडले रोएरै मृत्युको समय आएको संकेत दिन्छ । घरमा कुकुर पाल्दा अनेकौं संकटहरू टर्छन् ।

कुकुरको पूजासँगै आज नरक चतुर्दशी पनि हो । नरकमा जानु नपरोस् भनी आजको दिन दियो बाल्ने, मासको पात खाने र अपामार्ग वा दतिवन घुमाउने चलन छ । मासको पात खाने र दतिवन घुमाउने चलन चाहिँ मान्छेले बिर्सन थालेका छन् । तल दिइएका मन्त्र पढ्दै दीपदान, माषपत्र भक्षण र अपामार्ग गर्नुहोस् ।

अपामार्ग विधि बिहान पहिला तेल दलेर अनि पानीमा अपामार्ग हालेर नुहाउनुपर्छ । यो श्लोक पढ्दै नुहाउनुस् ।

सीतालोष्ठसमायुक्त सकण्टकदलान्वितः ।

हर पापमपामार्ग भ्राम्यमाणः पुनः पुनः ।।

मासको पात खाने मन्त्र

नुद सर्वाणि पापानि नरकादर्शनं कुरु ।

प्राश्नामि तव पत्राणि माषो देहि यशो बलम् ।।

हे मास, मेरा सबै पापहरू नष्ट गरी मलाई नरकको दर्शन गर्न नपर्ने बनाऊ । म तिम्रा पातहरू खान्छु, मलाई यश र बल प्रदान गर ।

चतुर्दशी दीपदानमन्त्र

दत्तो दीपश्चतुर्दश्यां नरकप्रीतये मया ।

चतुर्वर्तिसमायुक्तः सर्वपापापनुत्तये ।।

नरकमा पनि सधैं प्रसन्नता प्राप्त होस् भन्नका लागि चतुर्दशीको दिनमा मैले दुई जोर बत्ती भएको यो दीप दान गरेको छु ताकि मेरा सम्पूर्ण पापहरू नाश हुन् ।

आजैको दिन भगवान् श्रीकृष्णले नरकासुरको वध गर्नुभएको पौराणिक प्रसंग पनि छ ।

           प्रकाशित मिती, २०७४ साल आश्विन ३ गते, मंगलवार

प्रतिक्रिया दिनुहोस्