Logo

कार्यस्थलमा मानसिक स्वास्थ्य

मिडिया हाउसहरुले श्रमजिवि पत्रकारलाई न्यूनतम परिश्रमिक नदिएको, हस्पिटल/स्वास्थ्य संस्थाहरूले नर्सहरुलाई पारिश्रमिक नदिइ काममा लगाएको, सलुट नहान्दा हाकिमले सिपाहीलाई निर्घात कुटपिट गरेको,सिपाहीलाई हाकिमले जुत्ताको तुना बाध्न लागाएको, घरेलु बालश्रमिक तथा घरेलु महिला कामदर माथि यौन तथा शारीरिक हिंसा, आर्मी पुलिसभित्र यौन शोषण, जागिर लगाइदिने भन्दै गरेको यौन शोषण आदी जस्ता समाचार सुन्नमा आउने गर्दछन् । यस कुराले कार्यस्थलहरुमा हुने मानसिक समस्यालाई सहजै अनुभव गर्न सकिन्छ ।

  -गोपाल ढकाल, मनोविद

मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भएका समस्या, चुनौती एवं उपलब्धिका विषयमा छलफल तथा पैरबि गर्ने जस्ता विविध उद्देश्यका साथ प्रत्येक वर्ष १० अस्टुबरका दिन विश्वमानसिक स्वास्थ्य दिवस मनाइदै अइरहेको छ । विश्वमानसिक स्वास्थ्य संघको अगुवाइमा सन् १९९२ देखि विश्वभरि नै यो दिवस मनाउन थालिएको हो । यो वर्षको विश्व मानसिक दिवसको नारा कार्यस्थलमा मानसिक स्वास्थ्य भनी तय गरेको छ ।

प्रायः हामी सबै व्यक्तिले दैनिक ८–१० घण्टा तथा आफ्नो जीवनको ठुलो हिस्सा कृषि, उध्योग ,वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य संस्था, प्रहरी प्रशासन, सुरक्षा निकाय, कलकारखाना, सरकारी तथा गैर सरकारी संघ संस्था आदिजस्ता कार्यस्थलमा काम गरेर विताउने गर्दर्छौ । कार्यस्थलको वातावरणले त्यहाँ काम गर्ने व्यक्तिको शारीरिक एवं मानसिक स्वास्थ्यमा असर पारिरहेको हुन्छ । यस विषयमा त्यति ध्यान दिइएको पाइदैन । त्यसो त अझै पनि हाम्रो समाजमा मानसिक स्वास्थ्य प्रति व्यक्तिको बुझाई, धारणा, एवं सोच सकारात्मक हुन सकेको छैन ।

मानसिक स्वास्थ्यलाई कलंकको रूपमा हेरिन्छ । मानसिक स्वास्थ्य समस्यालाई लुकाउने, भन्न, उपचारको खोजी गर्न डराउने, अप्ठारो मान्ने गरेको पाइन्छ । आफ्नो समस्या भन्दा सहयोग पाउनुको सट्टा साथीभाइ, सहकर्मीबाट अपमानित भएको, आफ्नो कामबाट हात धुनु परेका उदाहरण पनि प्रशस्त भेटिन्छन् ।

कामदार, कर्मचारी, मजदुरको मानसिक स्वास्थ्य सबल नहुँदा उनीहरूको काम गर्ने क्षमतामा कमी आउने, काम गर्न मन नलाग्ने, बिदामा मात्र बस्न खोज्ने वा जागिर छोड्ने, अनुपस्थित रहने, दुघटनामा पर्ने, जाँड रक्सीको कुलतमा फस्ने, रिसाउने, झगडालु हुने, सेवाग्राहीसंग राम्रो व्यवहार नगर्ने, झकर्ने जस्ता लक्षणहरु देखाउने गर्दछन् ।

हाम्रो समाजमा कामलाई त्यति धेरै सम्मान गरेको पाइदैन । उसले गर्ने काम र उसको पोष्टको आधारमा व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक फरक हुन्छ । सानो जात ठुलो जात भनेर उसले गर्ने कामकै आधारमा जातको समेत बर्गिकरण गरिएको छ । लुगा सिउने, जुत्ता सिउने, फलामको काम गर्ने, व्यक्तिहरूलाई अछुतको व्यवहार गरिन्छ । यस्तो व्यवहारले पक्कै पनि उनीहरूको आत्म सम्मानमा चोट पुग्छ । काममा तनाव र निराशा बढाउछ । उनीहरूको मानसिक स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने गर्दछ ।

कार्यस्थलमा मानसिक समस्या

विश्व मानिसक स्वास्थ्य संघका अनुसार कलकारखाना तथा विभिन्न कार्यालयहरूमा काम गर्ने व्यक्ति मध्ये पाँच जनामा एक जनालाई कुनै न कुनै मानसिक समस्या हुने गरेको पाइएको छ । रोजगारीमा रहेका धेरै व्यक्तिहरूलाई हुने मानसिक स्वास्थ्य समस्या भनेको तनाव, एन्जाइटि र उदासिनता नै हो । तरपनि कामदारमा देखिएको मानसिक समस्याको उपचार पचास प्रतिशत मात्र पाउने गरेको देखिन्छ ।

कार्यस्थलमा मानसिक तनाव बढ्नु तथा मानसिक स्वास्थ्य समस्या देखा पर्नुका पछाडि धेरै कारक तत्वहरु हुन सक्छन् । कार्यस्थलमा हुने बुलिङ र हेरेस्मेन्ट, हाकिम तथा व्यवस्थापनले गर्ने व्यवहार, कामको प्रकृति, महिला पुरुष बिच एउटै कामको ज्यालामा गर्ने असमानता, कार्य सम्पादनमा मात्र जोड दिनु, महिला कर्मचारीप्रति गरिने यौन शोषण, आर्थिक शोषण, सेवा सुविधामा कमी,काम गर्ने उत्प्रेरणा नहुनु, नयाँ प्रविधिको प्रयोग नहुनु, तलबले आफ्नो आधारभूत आवश्यकता पुरा नहुनु, मनोरन्जनको अभाव, कामको अनुभव नहुनु, कामबाट कहिले निकाल्ने हो ग्यारेन्टी नहुनु, आफ्नो रुचि भन्दा बाहिरको काम गर्न बाध्य हुनु, व्यक्तित्व विकासको अवसर नपाउनु, बिदा नपाउनु, आफ्नो क्षमता भन्दा बढी र कठिन काम गर्न बाध्य हुनु, काम गर्ने कार्यस्थल सफा, स्वस्थ नभई धुवा, धुलो र कोलाहालपूर्ण हुनु, ठुलो पद सानो पद भनेर भेदभाव गर्नु, निरुत्साहित बनाउनु, प्रमोसन नहुनु, चाकडी तथा चाप्लुसी प्रथा, नाताबाद कृपावाद आदिजस्ता कारणले व्यक्तिको मानसिक स्वास्थ्यमा असर पुर्याउने गर्दछ ।

नेपालको परिप्रेक्षमा पनि कार्यस्थलमा हुने यस्ता बाधा, अवरोध र कठिनाइले धेरै व्यक्तिको मानसिक स्वास्थ्यमा असर र प्रभाव पारेको अनुमान गर्न सकिन्छ । एउटा भनाइ नै छ , “सरकारी काम कहिले जाला घाम” यस भनाइले सरकारी कर्मचारीहरुमा काम गर्ने जोश जाँगर र उत्प्रेरणा कम भएको देखाउछ । सरकारी कर्मचारीले तुरुन्त काम नगरिदिएको, राम्रोसँग नबोलेको, रुखो व्यवहार गरेको, पैसा खान खोजेको जस्ता आरोप उनिहरुमाथि नलाग्ने गरेका पनि होइनन् । हामी धेरैले गरेको तितो अनुभव पनि हो यो ।

मिडिया हाउसहरुले श्रमजिवि पत्रकारलाई न्यूनतम परिश्रमिक नदिएको, हस्पिटल/स्वास्थ्य संस्थाहरूले नर्सहरुलाई पारिश्रमिक नदिइ काममा लगाएको, सलुट नहान्दा हाकिमले सिपाहीलाई निर्घात कुटपिट गरेको,सिपाहीलाई हाकिमले जुत्ताको तुना बाध्न लागाएको, घरेलु बालश्रमिक तथा घरेलु महिला कामदर माथि यौन तथा शारीरिक हिंसा, आर्मी पुलिसभित्र यौन शोषण, जागिर लगाइदिने भन्दै गरेको यौन शोषण आदी जस्ता समाचार सुन्नमा आउने गर्दछन् । यस कुराले कार्यस्थलहरुमा हुने मानसिक समस्यालाई सहजै अनुभव गर्न सकिन्छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरू मानसिक समस्याबाट झनै बढी प्रभावित हुने गरेका छन् । कामको प्रकृति, साहुको दुर्व्याहार , मानसिक टर्चर , शारीरिक एवं यौन शोषण, कार्यस्थलको वातावरण जस्ता कारणबाट मानसिक समस्यामा पर्ने, आत्महत्या गर्ने, दुर्घटनामा पर्ने, केही समय पछाडिनै नेपाल फर्कन बाध्य हुने गर्दछन् । वैदेशिक रोजगारीमा गएर नेपाल फर्केका महिलामा गरिएको एक अध्ययन अनुसार झन्डै ६८ प्रतिशत महिलाहरुमो कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या भएको पाइएको छ ।

आफ्ना कर्मचारी कामदार मजदुरहरूको मानसिक स्वास्थ्य स्थिति स्वस्थ, सबल र मजबुत भए मात्र उनीहरूले राम्रोसँग काम गर्न सक्छन् । यसले कामको उत्पादकत्वमा समेत वृद्धि गर्दछ । तर उनीहरू मानसिक रूपमा स्वास्थ्य नहुँदा उनीहरूको कार्य क्षमतामा कमी आउँछ । जसले गर्दा उत्पादन लागत समेत बढ्न जान्छ । डिप्रेसन, तनाव लगायतका मानसिक समस्याको कारण मजदुर, कर्मचारीको कार्य क्षमतामा कमी आई प्रत्येक वर्ष एक टिलियन अमेरिकी बराबरको उत्पादनमा ह्रास आउने गरेको एक अध्ययनले देखाएको छ । यसै गरी मानसिक स्वास्थ्यमा एक अमेरिकी डलर बराबरको लगानीले चार अमेरिकी डलर बराबरको प्रतिफल दिन सक्ने पनि अर्को एक अध्ययनले देखाएको छ ।

यस कारण मानसिक स्वास्थ्यमा लगानी गर्नु, आफ्नो कर्मचारी, कामदारको मानसिक स्वास्थ्य अवस्थाको ख्याल गर्नु, मानसिक स्वास्थ्य समस्या देखिएमा बेलैमा उपचारको पहल गर्नु, उपचारको खोजी गर्न, उत्प्रेरित गर्नु यसलाई सबैको चासो र सरोकारको विषय बनाउनु आवश्यक छ । मजदुर/कर्मचारीहरू खुसी, सन्टुष्ट र मानसिक रूपमा स्वस्थ भए मात्र राम्रोसँग काम गर्न सक्छन् र राम्रो परिणाम आउँछ । कम्पनी, अफिले गरेको प्रगतिको पछाडि आफ्ना कामदार र कर्मचारीहरूको ठुलो हात हुन्छ भन्ने कुरालाई बिर्सनु हुँदैछ । कार्यस्थलको मानसिक स्वास्थ्यमा सुधार ल्याउनको लागि व्यवस्थापक, हाकिम तथा साहु, मानसिक स्वास्थ्य कर्मी, पैरवि कर्ता, स्वयम् कामदार, सरोकारवाला, समाज र राष्ट्र सबैको त्यतिनै ठुलो भूमिका हुन्छ ।

कर्मचारी/कामदार र व्यवस्थापक बिचको सम्बन्धलाई सुमधुर बनाएर पारिवारिक वातावरण श्रृजना गर्ने, निर्णय प्रकिृयामा कर्मचारी, मजदुरहरूलाई समेत सहभागी गराउने, सबैको कामलाई उत्तिकै महत्व र सम्मान गर्ने, स्वास्थ्य बिमाको व्यवस्था गर्ने, बेला बेलामा कर्मचारीहरूलाई सम्मान र पुरस्कृति गर्ने, प्रमोसन गर्ने, उनीहरूको व्यक्तित्व विकासका तालिमहरु सञ्चालन गर्ने, भ्रमण तथा पिकनिक लैजाने, तनाव व्यवस्थापनको तालिम दिने, आवश्यकता अनुसार सेवा सुविधा बढाउने, प्रविधिको प्रयोग गरेर कामको बोझलाई घटाउने आदी कार्य गरेर मजदुर, कर्मचारीको तनाव घटाउन सकिन्छ र उनीहरूको मानसिक स्वास्थ्य अवस्थामा सुधार ल्याउन सकिन्छ ।

          विश्व मानसिक स्वास्थ्य दिवस –  २०१७ 

 प्रकाशित मिति, २०७४ साल आश्विन २४ गते, मंगलबार 

प्रतिक्रिया दिनुहोस्