Logo

बार्सिलोना शहरको क्याटलोनिया क्षेत्रका सडकहरुमा स्वतन्त्रताको माग गर्दै दशौं हजार पृथकतावादीहरुद्दारा प्रदर्शन

स्तावेज, आश्विन १७ गते मंगलबार, २०७४ – बार्सिलोना शहरको क्याटलोनिया क्षेत्रका सडकहरुमा स्वतन्त्रताको माग गर्दै दशौं हजार पृथकतावादीहरुले प्रदर्शन गरेका छन् । आइतबारको विवादास्पद जनमत संग्रहका बेला प्रहरीले मतदाताहरु विरुद्ध दुर्व्यवहार गरेको भन्दै त्यसका विरुद्ध पनि विरोध प्रदर्शन भएको छ। केही युनियनहरुले आम हडताल आह्वान गरेका कारण विध्यालय , क्लिनिक र पसलहरु बन्द छन् । बार्सिलोना, टारागोना र जिरोना शहरहरुमा सार्वजनिक यातायात प्रभावित भएको छ। 

बार्सिलोना शहरको मध्य भागमा हजारौं मानिसहरुको भिड लागेको छ भने क्याटलोनिया क्षेत्रभरका सडकहरुमा विरोध प्रदर्शनहरु भएका छन् । आइतबार भएको स्वतन्त्रता सम्बन्धी विवादास्पद जनमत संग्रहका बेला भएको हिंसात्मक प्रहरी हस्तक्षेपको प्रदर्शनकारीहरुले विरोध गरेका छन् । सार्वजनिक यातायात ठप्प छ भने क्याटलान ट्रेड युनियनहरुले जनमत संग्रहका बेला स्पेनको राष्ट्रिय प्रहरीले देखाएको व्यवहारका विरुद्ध आक्रोश व्यक्त गर्न हडतालको आह्वान गरेका हुन् । क्याटलोनिया क्षेत्रभर थुप्रै साना व्यवसायहरु बन्द छन् ।स्कूल, विश्वविध्यालय र चिकित्सा सेवाहरु कि त बन्द छन् कि न्यून स्तरमा संचालित छन्।

साग्राडा फामिलीया गिर्जाघर लगायत बार्सिलोनाको प्रमुख पर्यटकीय आकर्षणहरु पनि बन्द छन् । स्पेनी सरकारले गैरकानुनी भनेको आइतबार आयोजित जनमत संग्रह रोक्न प्रहरीले हस्तक्षेप गर्दा झण्डै नौसय जना घाइते भएका थिए । स्पेनका प्रधानमन्त्री मारिआनो राखोइले उक्त मतदानलाई “प्रजातन्त्रको उपहास” भनेका थिए । प्रहरी हस्पक्षेपका माझ झण्डै २२ लाख मानिसहरुले स्वतन्त्रता सम्बन्धी जनमत संग्रहमा भाग लिएका दावी गरिएको छ । क्याटलान सरकारले स्वतन्त्रताको पक्षमा ९० प्रतिशत मत खसेको बताएको छ तर मत परिणामको औपचारिक घोषणा भने गरिएको छैन । यसैबीच राजनीतिक नेताहरु वर्तमान अवस्थाभन्दा अघि बढ्ने उपाय फेला पार्न प्रयासरत रहेका छन्।

     बीबीसी 

प्रतिक्रिया दिनुहोस्