Logo

बाढीले बगाएर एकको मृत्यु, पाँच बेपत्ता

स्तावेज, आश्विन १७ गते मंगलबार २०७४,मलंगवा – सर्लाहीको लखन्देही खोलामा सोमबार साँझ आएको बाढीले बगाएका ६ मध्ये एक जनाको मृत्यु भएको छ । पाँचजना अझै बेपता रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो पहाडी क्षेत्रमा भएको वर्षापछि साँझपख आएको बाढीले जिल्लाको पत्थरकोट स्थित जियाजोरबाट आमासहित ३ छोराछोरी, लालबन्दी २ स्थित जुटपानीबाट एक महिला र पिडारीबाट एक पुरुषलाई खोलाले बगाएको प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए ।

दसैंको टिका लगाउन बाराको गढीमाई नगरपालिका १७ बाट सर्लाहीको जियाजोर स्थित माइती आउँदै गरेकी २९ वर्षीया राधिका ढुंगाना, ७ वर्षको छोरा किस्मत, ५ वर्षकी छोरी कृतिका र १ वर्षको छोरा क्रितीलाई खोलाले बगाएको हो । खोला तर्ने क्रममा बाढीले उनीहरुलाई बगाएको प्रहरीको भनाइ छ । सँगै सोमबार नै भैंसी चराएर फर्किदै गर्दा लालबन्दी २ जुटपानीकी ५५ वर्षीया भिममाया काफ्ले र पिडारीका ६० वर्षका रामदेव साह कलुवारलाई खोलाले बगाएको छ।

खोलाको पानी कम भएपछि अहिले लालबन्द २ की भिममाया काफ्लेकी शव कविलासी नगरपालिकाको हेमपुर भन्ने गाउँ नजिक खोलाको किनारमा फेला परेको हो । बेपत्ता सबै जनाको बिहानैदेखि प्रहरी परिचालन गरी खोजी गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक खाँले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्