Logo

दक्षिण कोरियाले पनि आणविक बम बनायो भने के हुन्छ ?

स्तावेज, आश्विन १५ गते आईतबार,२०७४,काठमाडौं — उत्तर कोरियाले लगातार आणविक परीक्षण गरेर संसारभरि पहिचान बनाएको छ । उत्तरको छिमेकी मुलुक दक्षिण कोरियालाई सधैं आणविक आक्रमणको त्रास विध्यमान छ । दक्षिण कोरिया आफैं आणविक शक्ति सम्पन्न राष्ट्र भयो भने चाहिँ के हुन्छ भनी प्रश्न उठ्ने गरेको छ । दक्षिण कोरियाको राजनीतिक वृत्तमा यस्ता चर्चाहरू आजकल खुबै हुने गरेका छन् ।

सउल नेसनल युनिभर्सिटीमा आणविक इन्जिनियरिङका प्राध्यापक सेओ ग्युन–युल भन्छन्, ‘दक्षिण कोरियाले आणविक हतियार बनाउन शुरु गरेमा दुई वर्षभित्रै १०० वटा आणविक हतियार बनाइदिन सक्छ ।’

सेओले सन् २०१५ मा एक साप्ताहिक पत्रिकामा लेखेका थिए, ‘आणविक कार्यक्रम स्थापित गर्नका लागि राजनीति प्रतिबद्धता सबभन्दा महत्त्वपूर्ण हुन्छ । हामीसँग पैसा र प्रविधि सबैथोक छ । नेताहरूले चाहने हो भने दक्षिण कोरिया पनि आणविक शक्ति सम्पन्न हुनसक्छ ।’

तर दक्षिण कोरियाले सजिलै आणविक कार्यक्रम शुरु गर्न सक्दैन किनकि यसो गर्दा विश्व समुदायले उसलाई प्रतिबन्ध लगाउन सक्छन् । दक्षिण कोरियामा नेसनल डिप्लोमेटिक प्राध्यापक वाङ इल–डोले बताए, ‘सन् १९७० मा आणविक अप्रसार सन्धि आएपछि आणविक कार्यक्रम विस्तार गर्ने देशहरूले आर्थिक कठिनाइ झेल्नुपर्यो ।’

आणविक कार्यक्रम शुरु गर्दा उत्तर कोरियामाथिको भन्दा कडा प्रतिबन्ध लाग्ने डर दक्षिण कोरियालाई छ । निर्यातमा आधारित अर्थतन्त्र भएकाले दक्षिण कोरियाले प्रतिबन्धका कारण अर्थतन्त्र भत्किने सम्भावना देखेको छ ।

यस्तो स्थितिमा चीनले विशेष रूपमा दक्षिण कोरियाविरुद्ध कडा कारवाही गर्न सक्छ । प्राध्यापक वाङका अनुसार चीनले दक्षिण कोरियामाथि प्रतिबन्ध लगायो भने दक्षिणलाई आर्थिक हानि पुग्छ ।’

दक्षिण कोरियालाई बिजुली र स्वास्थ्य क्षेत्रमा पनि प्रतिबन्धको स्थिति आउन सक्छ । दक्षिणमा बिजुली उत्पादनको एक तिहाइ भाग आणविक शक्तिमा निर्भर छ । दक्षिण कोरियाले आणविक ऊर्जा संयन्त्रका लागि इन्धन आयात गर्छ किनकि त्यहाँ युरेनियमको खानी छैन ।

आणविक संयन्त्रका लागि दक्षिणले इन्धन आयात गर्नुपर्छ र आणविक हतियार बनाउँदा अन्य देशले यो इन्धनको आपूर्ति रोकिदिन्छन् । आपूर्ति रोकिएमा बिजुलीको संकट अनि एक्सरे, सीटी स्क्यान र एमआरआईका लागि रेडियोएक्टिभ सामग्रीमा समस्या आउँछ । त्यसैले दक्षिण कोरियाले आणविक कार्यक्रम विस्तार गर्दा फाइदाभन्दा बढी घाटा बेहोर्नुपर्ने देखिन्छ ।

बीबीसी

 
प्रतिक्रिया दिनुहोस्