Logo

रसुवामा नक्कली प्रहरी पक्राउ

स्तावेज, आश्विन ८ गते शनिबार, २०७४ ,रसुवा– प्रहरी बनेर गाडी चेकिङ गर्ने दुई जनालाई रसुवा प्रहरीले पक्राउ गरेको छ।शनिबार साँझ युवा संघका महासचिव किरण पौडेल सहितको गाडीलाई रसुवाको कालिकास्थानमा सिआइबीबाट आएका प्रहरी हौं, यो गाडीमा सुन छ भन्दै खानतलासी गर्ने व्यक्तिहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नुवाकोटका पशुपति थपलिया र कुमार थपलिया रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, पौडेलको गाडीमा ८ किलो सुन ल्याएको भन्दै उनीहरुले गाडीको चेकजाँच गरेका थिए । बा १६ च ५४९४ नम्बरको गाडीमा आएका उनीहरुले महासचिव पौडेल चढेको बा १५ च ३३३३ नम्बरको गाडी खानतलासी गरेको प्रहरी नायव उपरीक्षक शरदकुमार थापा क्षेत्रीले बताए।

गाडीको खानतलासी गर्न थालेपछि पौडेलले प्रहरीलाई खबर गरेका थिए। ‘प्रहरी बनेर उनीहरु गाडीको खानतलास गर्दै थिए, हामीले खबर पाउनासाथ प्रहरी पठाएर पक्राउ गर्‍यौं’, प्रहरी नायव उपरीक्षक क्षेत्रीले भने । पक्राउ परेका उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिरहेको क्षेत्रीले बताए । 

‘रसुवागढीबाट काठमाडौं जान लागेका पौडेलको गाडी रसुवागढीमा चेकजाँच गर्दा केही भेटिएन’, प्रहरी नायव उपरीक्षक क्षेत्रीले भने,  यसअघि रसुवाको विभिन्न स्थानमा सुन लुट्ने समूह यही भएको प्रहरीको भनाइ छ । सीमाक्षेत्रमा केही व्यक्ति बस्ने, सुन आएको सूचना संकलन गर्ने र बीच बाटोमा गाडी रोकेर हामी प्रहरी हौं भन्दै सुन लुटेर फरार हुने गिरोह यही भएको प्रहरीको भनाइ छ।

 

 

प्रतिक्रिया दिनुहोस्