Logo

अमेरिकी ग्रीनकार्ड त्यागेर नेपाल फर्किएका गणेश प्रसाई भए मेयर

स्तावेज संवाददाता आश्विन ७ गते शनिबार २०७४ सर्लाही – अमेरिकाको ग्रीनकार्ड त्यागेर नेपालको स्थानीय निर्वाचनमा उम्मेदवार भएका दुई उम्मेदवारहरुले सफलता प्राप्त गरेका छन् । अमेरिकी ग्रीनकार्ड छाडेर नेपाल फर्किएका गणेश प्रसाईले नगरपालिकाको मेयर जितेका छन् । प्रदेश नम्बर २ अन्तरगत सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा उनले विजय हासिल गरेका हुन् । 
 
पहिलो चरण अन्तरगत गत बैशाखमा भएको चुनावमा पनि ग्रीनकार्ड त्यागेर नेपाल फर्केका एकजनाले विजय प्राप्त गरेका थिए । लामो समय अमेरिकाको न्यूयोर्कमा बसेका वंशलाल तामांग सिन्धुपाल्चोकको इन्द्रावती गाउँ पालिकाको अध्यक्ष निर्वाचित भएका थिए । लामा अमेरिकामा रहँदा नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समितिका बिभिन्न पदमा रहेर काम गरेका थिए । चुनाव हुनुभन्दा केही महिना अघिमात्र तामांग ग्रीनकार्ड त्यागेर नेपाल फर्किएका थिए । 
 
उनी १२ वर्ष अमेरिका बसेर उनी चुनावको केही महिना अघिमात्र नेपाल फर्किएका थिए । तामाङले पाँच हजार ३६५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्दन्दी नेकपा एमालेका झम्क नेपालले पाँच हजार १६५ मत प्राप्त गरेका थिए । ग्रीनकार्ड त्यागेर नेपालको चुनावमा नगरपालिकाको मेयर हुने पहिलो व्यक्ति भने प्रसाई भएका छन् । हरिवन सर्लाहीको पूर्बपश्चिम राजमार्गमा पर्ने औध्योगिक  तथा व्यापारिक केन्द्र हो । प्रसाई डिभी मार्फत अमेरिका आएर झण्डै चारवर्ष अमेरिका बसेका थिए । 
 
‘उहाँ र म यहाँ बाल्टिमोरमा सँगै बस्यौँ । चार वर्ष बसेपछि उहाँ राजनीति गर्छु भनेर नेपाल फर्किनुभएको हो,’ प्रसाईका नजिकका मित्र तथा प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले भने । 
‘नेपालमा गएर मेहनत गर्ने हो भने ठाउँ छ भन्ने पुष्टी भएको छ,’ थापाले भने–‘अमेरिकामा बसेर नेपालको राजनीति गर्नुभन्दा बरु उतै फर्किए ठाउँ रहेछ भन्ने बुझियो ।’ चार वर्ष अमेरिका बस्दा प्रसाईले प्रवासी नेपाली मञ्च अमेरिकाको बिभिन्न कमिटीमा रहेर काम गरेका थिए । अमेरिका आउँदाकै समयमा प्रसाई एमालेको सर्लाही जिल्ला कमिटीका सदस्य थिए ।
प्रतिक्रिया दिनुहोस्