Logo

राष्ट्रपतिद्दारा मञ्जू कार्कीको बृत्तचित्र ‘नेपाली महिलाः संघर्ष र सफलता’ सार्वजनिक

स्तावेज भाद्र ३० गते शुक्रवार २०७४ – सञ्चारकर्मी मञ्जू कार्कीको बृत्तचित्र ‘नेपाली महिलाः संघर्ष र सफलता’ शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको छ । नेपाली महिलाको संघर्ष र सफलतालाई मुख्य रुपमा उल्लेख गरिएको वृत्तचित्रमा महिलाहरुले विश्वव्यापी रुपमा गरेका संघर्षलाई समेत समेटिएको छ ।

वृत्तचित्र हेरेपछि प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले नेपाली महिलाहरुले आजका दिनमा प्राप्त गरेको सफलतका लागि लामो संघर्ष गरेको बताइन् । राष्ट्रपति भण्डारीले महिलाहरुको संघर्ष र सफलताका तथ्यहरु दृश्यसहित संग्रहित गरेर बृतचित्र बन्नु उल्लेखनिय भएको बताइन् । उनले संसदको सदस्य भएर कानुन निर्माणका क्रममा आफूले व्यहोरोको अनुभव समेत सुनाएकी थिइन् । नयाँ संविधानले नेपाली महिलाहरुको हक र अधिकार सुरक्षित गरेको भन्दै त्यसलाई कार्यान्वयन गराउन सबैको सहयोग आवश्यक हुने राष्ट्रपति भण्डारीले बताइन् ।

यसका साथै सभामुख ओनसरी घर्तीले नेपाली महिलाहरुले संविधान मार्फत प्राप्त गरेको अधिकारलाई व्यवहारमा लागू गराउन सबैको सहयोग आवश्यक हुने बताइन् । उनले समानता र सहभागितामा महिलाहरुको अवस्थामा सुधार आएको भन्दै खुशी व्यक्त गरिन् । सभामुख घर्तीले भनिन्, ‘हिजोका दिनमा पानी नचल्ने दलित महिलाहरु आज जनप्रतिनिधि हुनुभएको छ । उहाँहरु समाज र देशका लागि केही गर्ने सोचका साथ आफ्नो क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । यसले पनि नेपाली महिलाको संघर्षलाई सफलताको थप शिखरमा पु¥याउन खोजेको स्पष्ट हुन्छ ।’ उनले भनिन्, ‘लामो संघर्ष बलीदानीबाट महिलाहरुले आफ्ना हक अधिकार संविधानमै सुनिश्चित गर्न सफल भएका छन ।’

कार्यक्रममा निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले बृत्तचित्रमा धेरै राम्रो कुरा समेटिएको भन्दै इतिहासको रुपमा राज्यले रेकर्ड गर्नुपर्ने बताइन् । उनले नेपाली महिलाका महत्वपूर्ण इतिहासलाई दृश्यसहित कैद गरेर तयार पारिएको बृत्तचित्रले समग्र नेपाली महिलाको इतिहास र वर्तमानलाई दस्तावेजीकरण गरेको बताइन् । उनले मुलुकको सम्पत्तिको रुपमा रहने बृत्तचित्रले नेपाली महिलालाई उत्साह र प्रेरणा प्रदान गर्ने बताइन् ।

बृत्तचित्रमा नेपाली महिलाहरुले प्राचिनकालदेखि गर्नुपरेको संघर्ष, त्यसयता पटक पटक अधिकारप्रातिका लागि लडेको लडाइँ र वर्तमान प्राप्त हुँदै गरेका उपलब्धिहरुलाई शिलशिलाबद्ध ढंगले समावेश गरेको छ । अधिकारको लडाइँमै रहेका नेपाली महिलाहरुले वर्ष २०७२ मा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख प्राप्त गरेको ऐतिहासिक घटनालाई आधारमानी तयार भएको बृत्तचित्रले सम्पूर्ण महिलाको इतिहासलाई उजागर गरेको छ । बृत्तचित्र नेपाली महिलाहरुको गौरवको साक्षी र वर्तमान उपलब्धिको आँखीझ्यालको रुपमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्