Logo

गाडी किन्ने पैसा कृषिमा लगाएर निजी गाडीमा चढ्ने गाउँपालिका अध्यक्षको निर्णय

स्तावेज भाद्र ३० गते शुक्रवार २०७४ ,पर्वत – जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले गाउँपालिकामा गाडी किन्नका लागि आएको बजेट कृषि र पशु कार्यक्रममा विनियोजन गरेका छन् । गाउँसभाबाट पारित गरेको बजेटलाई पुनरावलोकन गर्दै मल्लले किसानको माग सम्बोधन गर्नका लागि गाडी खरिदको रकम लगाएर आफू भने निजी गाडी चढ्ने गरेका छन्। ‘मैले बरु आफ्नै गाडी चढ्छु, कृषकका माग सम्बोधन गर्नुपर्छ भनेर सवारी किन्ने बजेटलाई कृषि र पशुपालनमा लगानी गर्ने भनेर बैठकले बजेटको पुनरावलोकन गरेको छ’ उनले भने ।

 गाउँ कार्यपालिकाको बैठकले गाडी, बिध्युतका पोल र सडक निर्माणको शीर्षकमा बिनियोजन भएको बजेटलाई पनि कृषि र पशुपालनमा खर्च गर्ने निर्णय गरेको छ । गाउँपालिकाले यस बर्ष अध्यक्षका लागि सवारी साधन खरिदमा ६० लाख रुपैयाँ बिनियोजन गरेको थियो । त्यस्तै, कृषिमा १ करोड १० लाख र पशुपालनमा ६३ लाख बिनियोजन भएको थियो ।

यसअघि गाउँसभा हुँदा कृषि र पशु सेवा तर्फबाट बजेट गाउँ पालिकामा गएको बारेमा जानकारी नभएपछि सडक, बिध्युत र सवारी साधन खरिदमा बिनियोजन भएकोले यस पटक किसानहरुको आवाज र सरोकारवाला निकायहरुको आग्रहमा बजेटको पुनरावलोकन गरिएको पनि गाउँ पालिका अध्यक्ष मल्लले जानकारी दिए । कृषि र पशुपालनको पकेट क्षेत्र रहेको उक्त गाउँपालिकामा कृषकहरुले कृषि र पशुपालनमा बजेट बिनियोजनको माग गर्दै आएका थिए । गाउँसभाले चालु आर्थिक बर्षका लागि ३६ करोड १४ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्