Logo

महिलाको मृत्युपछि ओम अस्पताल तनावग्रस्त,प्रहरीद्दारा लाठी चार्ज,स्वास्थ्य मन्त्रालयले थाल्यो छानविन

         बिरामीको मृत्यु भएपछि अस्पताल परिसरभित्र रहेको तनावग्रस्त भिड 

स्तावेज संवाददाता भाद्र २८ गते बुधवार २०७४,काठमाडौं – उपचारका क्रममा बिरामीको मृत्यु भएपछि राजधानीका दुई अस्पतालमा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाएका छन् । ओममा बिरामीका आफन्तले डाक्टरको लापरबाहीले आफन्तको ज्यान गुमेको आरोप लगाउँदै नाराबाजी तथा घेराउ गरेका हुन् भने वीरमा डाक्टरले अभद्र व्यवहार गरेको आरोप लगाइएको छ । सामान्य बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले यसबारे सोध खोज गर्न खोज्दा उल्टै सुरक्षाकर्मी लगाएर लाठी चार्ज गर्दै खेदेका थिए । अहिले अस्पताल परिसर तनाव ग्रस्त रहेको छ । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

ओममा घटेको आजको यो घटना पहिलो हैन । गत साउन १९ गते ओम अस्पतलामा उपचारका क्रममा ५० वर्षीय नन्दकुमारी लामिछानेको मृत्यु कसरी भयो ? पछि अस्पतालले आफन्तसँग मिलेमतो गरेर त्यो घटना सल्टायो । तर, एक महिना पूरा नहुँदै फेरी आज अर्काे घटना घट्यो ।  यसरी महिनै पिच्छे सामान्य विरामीलाई उपचार गर्दा मृत्युको मुखमा पुर्याउने कमलाको नाकको उपचार गर्ने डा. राजेन्द्रप्रसाद गुरागाईँ अस्पतालको कोठा बाहिर निस्केका छैनन् ।

         अपरेशनको क्रममा मृत्यु भएकी कमला भट्टराई

चावहिल स्थित ओम अस्पतालमा गुल्मीको मदाने गाउँपालिका पुर्कोट म्यालपोखरीकी ४० वर्षीया कमला भट्टराईको  बुधबार दिउँसो भएको हो । उनी चार दिनअघि (शनिबार अस्पताल) भर्ना भएकी थिइन् । उनी नाकको कुरकुरे हाड सोझ्याउन केही दिनअघि अस्पताल भर्ना भएकी थिइन् । डाक्टरले उपचारमा लापरबाही गरेकाले ज्यान गएको भन्दै भट्टराईका आफन्तले निष्पक्ष छानविन सहित क्षतिपूर्तिको माग गरेका छन् । 

यो घटनाको छानविन गर्न अस्पतालले स्वास्थ्य मन्त्रालयलाई सहयोगको लागी अपिल गरेको छ । ओम अस्पतालमा बिरामीका आफन्तको तोडफोडबाट क्षति पुगेको अस्पताल निर्देशक बाबुकाजी कार्कीले बताए । लापरबाहीका कारण नभइ उपचारका क्रममा बिरामीको मृत्यु भएकाले छानविन गरिदिन मन्त्रालयलाई गुहारेको उनले बताए । 

‘जन्मजातै उनको नाक थोरै बांगो थियो, दुख्ने-घोच्ने केही हुन्थेन । बुझ्न जाँदा डाक्टरले सामान्य शल्यक्रिया गर्नुपर्छ भन्यो,’ मृतकका श्रीमान बसन्त भट्टराईले भने । कमलाको उपचारमा अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. राजेन्द्रप्रसाद गुरागाईं संलग्न थिए ।

                           प्रहरीको लाठी चार्जबाट घाईते भएका आफन्त

शल्यक्रिया पश्चात बिरामीको नाकबाट निरन्तर रगत बगिरहेको, बारम्बार बान्ता भएको, पिसाब रोकिएको मृतकका आफन्तले बताए । ‘रगत नरोकिएपछि हामीलाई डेढ लाखको औषधि किन्न लगाए, डाक्टरले अत्याधिक औषधिकै कारण मृगौला फेल भयो पनि भने,’ मृतकका आफन्त विदुर दाहालले भने, ‘शल्यक्रियापछिको  उपचारपछि डाक्टरले कहिले संक्रमण कहिले हृदयघात भएको खबर दिइरहेको दाहालले सुनाए ।’

‘शल्यक्रियापछि उनी आधा होशमा मात्रै थिइन्, केके बर्बराइरहेकी थिइन्,’ श्रीमान वसन्तले भने, ‘हामीलाई मृत्युको स्पष्ट कारण दिनुपर्छ, नत्र हामी  डाक्टरलाई कानुनी कारबाही गर्छौं ।’ 

बिरामीको मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले आफ्नो लापरबाही स्विकारेर माफी माग्नुपर्ने मृतकका आफन्तहरुको माग छ । माग पुरा नभए आन्दोलनमा जाने उनीहरुले बताएका छन् । बिरामीको मृत्यु भएसंगै आफन्तहरुले अस्पताल घेरेका छन् ।

यता अस्पताल प्रशासनले भने कमलाको उपचारमा डाक्टरको लापरवाही अस्विकार गरेका छन् । ‘नाकको शल्यक्रिया सुन्दा सामान्य लागेतापनि यो संवेदनशिल अंग हो, यसको शल्यक्रियामा इन्फेक्सन बढी हुन्छ, कहिलेकाहीँ बिरामीलाई बचाउन सकिँदैन,’ अस्पताल प्रसाशन प्रमुख बिनय प्याकुरेलले भने ।

मृतकका आफन्तलाई डाक्टरको लापरवाही जस्तो लागे छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन उनले आग्रह गरेका छन्  ।अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले भने, ‘सानो शल्यक्रियामा बिरामीको मृत्यु भयो, यस्तो घटना निकै कम हुन्छ, हामीलाई पनि दु:ख लागेको छ ।’ घटनाको छानबिन गरि कारबाही अघि बढाउने डा. गौतमले बताएका छन् ।

यसैगरी वीर अस्पतालमा एक चार वर्षीय बालकको मृत्यु भएको छ । दिमागमा पानी बग्ने समस्याको उपचारका लागि ल्याइएका उनको शल्यक्रिया भएको तीन दिनपछि मृत्यु भएको हो । गम्भीर प्रकृतिको अप्रेशन भएकाले शल्यक्रिया अघि नै जोगाउन सकिने सम्भावना कम रहेको अवगत गराइएको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए ।

तर, बालकको मृत्युपछि आफन्तलाई डाक्टरलाई दोष लगाएर तथानाम गाली गरेको अस्पतालले जनाएको छ । बुधवार राति आफन्तले एकोहोरो गाली गरेपछि ड्युटीमा रहेका डाक्टरले चुप लगाउन कोशिश गर्दा भनाभन भएको अस्पतालका निर्देशक डा बस्नेतले बताए । उनले भने, ‘उहाँहरुले गाली गर्न थालेपछि ड्युटीमा रहेका डाक्टर साहेबहरुले प्रतिक्रिया जनाउनुभएको हो ।’

आफन्तले भने डाक्टरले आफूलाई झ्यालबाट फालिदिने धम्की दिँदै अभद्र व्यवहार गरेको र उनैले आफ्नो बच्चाको ज्यान लिएको आरोप लगाएका छन् ।  अस्पतालले घटनाको निष्पक्ष छानविन गर्ने बताएपनि स्वास्थ्य मन्त्रालयले नै छानविन गर्नुपर्ने आफन्तले माग राखेका छन् । निर्देशक डा. बस्नेतले भने, ‘मन्त्रालयमा उहाँहरुको पहुँच रहेछ । त्यतैबाट छानविन गराउने भन्नुभयो । हामीले छानविन गरिदिन लेखि पठाएका छौं ।’

ओम अस्पतालको घटना छानविनका लागि मन्त्रालयले प्रक्रिया थालेका छ । मन्त्रालयका डा विकास देवकोटालाई प्रारम्भिक अनुसन्धानका लागि खटाइएको  चिकित्सा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठले जानकारी दिए । वीर अस्पताल बारे मौखिक जानकारी आएपनि पत्र आइनसकेकाले भोलि मात्रै कमिटि गठन हुन सक्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्