Logo

सगरमाथा अञ्चल अस्पतालमा बिरामीको चाप बढ्दै

स्तावेज , भाद्र २७ गते मंगलवार २०७४ ,राजविराज- वर्षा र बाढीपछि विगत एक सातादेखि बढेको गर्मीका कारण यहाँ विभिन्न रोगको संक्रमणका बिरामी बढ्दै गएका छन्। 

केही दिनदेखि बढेको गर्मीका कारण सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा विभिन्न रोगका संक्रमित बिरामीको चाप बढेको छ। सो अस्पतालमा आजभोलि भाइरल ज्वरो, ज्वरो, झाडापखाला, रुघाखोकी र सर्पदंशलगायतका बिरामी आउने गरेको अस्पतालले जनाएको छ। 

गर्मी बढेसँगै अञ्चल अस्पतालमा दैनिक ८० देखि ९० जनासम्मका विभिन्न रोगका बिरामी आउने गरेको अस्पतालबाट थाहा भएको छ। पच्चीस शय्याको सो अस्पतालमा बिरामीको चाप बढेपछि अहिले अस्पतालमा शय्याको समेत अभाव भएको बताइएको छ। शय्याको अभाव भएपछि अधिकांश बिरामीलाई भुँइमै राखेर उपचार गराउन बाध्य रहेको अस्पताल प्रशासनले जनाएको छ। 

गर्मी बढेसँगै जिल्लामा रहेका एक सरकारी अस्पतालसहित, चार स्वास्थ्य केन्द्र र १११ वटा स्वास्थ्य चौकीमा समेत भाइरल ज्वरो तथा टाइफाइडका बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन्। त्यस्तै, जिल्लाका निजी अस्पतालमा समेत भाइरल ज्वरो, झाडापखाला, रुघाखोकीका बिरामी उपचारका लागि भर्ना भएको पाइएको छ।

 रासस 

प्रतिक्रिया दिनुहोस्