Logo

एक श्रमजीवी जसले २२ वर्षदेखि भगवान बनाए, तर भगवानले उनलाई कहिल्यै पूर्ण बनाएनन् !

स्तावेज , भाद्र २७ गते मंगलवार २०७४ ,डडेल्धुरा – सानो टिनको टहरो, दायाँ हातमा हथौडा, बायाँ हातमा तामाको पाता । अनि यही टहरोमा बित्ने गरेको छ दैनिकी महादेव ताम्रकारको । दायाँ हातमा हतौडा,बायाँ हातमा फलामको पाता यसरीनै उनी झुपडीमा धमाधम फलाम पिट्दैछन् ।

डडेल्धुराको अजयमेरु गाउँपालिका–२ हाटका महादेव ताम्रकार २२ वर्षदेखि आरनमा काम गरिरहेका छन् ।  तीन छोरा र एक छोरीका बुवा ताम्रकारको ६ जनाको परिवार छ । महादेवले आफ्नो आरनमा बसेर भगवानका मूर्ति, मन्दिरको गजुर, कलस, पानस, रुईसिङ, दमाहा, कुटो, कोदालो, माना लगायतका भाडाकुडा समेत बनाउने गर्छन् ।

विहान ६ बजेदेखि साँझ ६ बजेसम्म महादेव ताम्राकारको यसरी नै तुफान डाँडामा रहेको जस्ता झुपडीमा दिन बित्छ । पुस्तौंदेखि आरन पेशा अङ्गाल्दै आएका ताम्रकारले काठमाडौं, पिथौरागढ, अलमोडा लगायतका ठाउँमा पनि काम गरेका थिए । १३ वर्षदेखि भने उनले डडेल्धुरा सदरमुकाम तुफानडाँडामा आरन सञ्चालन गरिराखेका छन् । काठमाडौं, भारतको पिथौरागढ, अलमोडा लगायतका विभिन्न ठाँउमा पनि काम गरेका ताम्राकारले आफ्नो पूर्खाको पेशालाई जोगाउँदै कामलाई निरन्तरता दिएको बताउँछन् । यो पेशा उनको चौथो पुस्ताको हो ।

सानैदेखि यही पेशा गर्दै आउनुभएका ताम्रकारलाई आफू गरिब भएकै कारण स्कुल जान नपाएको जस्तो लाग्छ । उनी भन्छन् ‘१८ वर्षको उमेरमा नै यो पेशालाई व्यावसायिक बनाएर काम गर्न थालेँ ।’ 

ताम्रकारले २२ वर्षदेखि विभिन्न प्रकारका भाँडाकुँडा बनाउँदै आएका छन् । उनी अहिले आफ्नो आरनमा बसेर भगवानका मूर्ति, मन्दिरको गजुर, कलस, पानस, रुईसिङ, दमाहा, कुटो, कोदालो, माना लगायतका सामग्री बनाउँछन् ।

उनलाई आरन पेशाले परिवार पाल्न ठिकै भए पनि, आर्थिक स्थिति मजबुत होला भन्ने अशा भने छैन । ‘तातो दूध मुख हालेपछि थुकौँ कि निलौँ भने जस्तै’ उनले भने ‘आरन पेशा छौडौँ भने अरु रोजगारीको बाटो केही देख्दिन, नछोडौँ भने खान लाउन मात्र पुग्ने पेशाले के गर्नु ?’

आरन पेशा छोडे भने एकातिर आफ्नो सँस्कृति हराउँछ भने अर्कोतिर किसानलाई चाहिने कृषि सामग्रीको अभाव हुन्छ भन्ने डर पनि छ उनलाई ।

भगवानका मूर्ति, कलश, आदिले ७ नम्बर प्रदेशका सबै जिल्लामा बजार पाए पनि बजारमा पाइने मेसिनले बनाएको सामानले गर्दा आफ्नो व्यवसाय धरासयी बन्न पुगेको ताम्रकारको बुझाई छ । 

डडेल्धुरासँग प्रधानमन्त्री, ४ सांसद त्यसमा पनि दुई सांसद दलित हुँदापनि आफूहरुले भने दलित भत्ता बाहेक अरु केही नपाएको गुनासो उनले गरे ।

‘चाड पर्वको बेला महिनामा १५ हजारदेखि १८ हजार रुपैयाँसम्म कमाई हुन्छ’ उहाँले भन्नुभयो ‘अन्य सयममा भने ८ हजारदेखि १० हजारसम्म हुन्छ ।’

सरकारले आरन पेशालाई व्यवस्थित बनाए राम्रो सम्भावना भएको उनले बताए । महादेवलाई आफू ४० वर्ष लाग्नै लाग्दा पनि उपलब्धी भने केही नभएको जस्तो लाग्छ । अब त उनलाई भगवान बनाउँदा भगवान नै छैनन् कि जस्तो पनि लाग्न थालिसक्यो ।

‘न त राम्रो घर नै बनाउन सकेँ, न बैंक ब्यालेन्स नै छ, सम्पत्तिको नाममा एक आना जति जमिन छ’ तामाको पातामा हथौडा बजाउँदै उनले भने, ‘२२ वर्षदेखि निरन्तर भगवान बनाउँदै आएको छु तर मलाई भगवानले कहिल्यै बनाएनन् ।’

प्रतिक्रिया दिनुहोस्