Logo

भगवान गणेशले भेडाको मासु खाएको विज्ञापन बनाएपछि हिन्दु धर्मालम्वीद्दारा चौतर्फी बिरोध

स्तावेज संवाददाता , भाद्र २७ गते मंगलवार २०७४,काठमाडौं – अष्ट्रेलियाले हिन्दू धर्म र आस्थाका धरोहर भगवान गणेशले भेडाको मासु खाएको विज्ञापन बनाएपछि संसारभरका हिन्दूहरुले यसको तीव्र विरोध गरेका छन् । भारतले यसबारेमा आक्रोश व्यक्त गर्दै कुटनीतिक रुपमा विरोध जनाइसकेको छ । त्यहाँको एक मासु उत्पादन गर्ने कम्पनीले बनाएको टीभी विज्ञापनमा सबै धर्मका भगवानहरु बसेर खाना खाइरहेको देखाइएको छ ।

उक्त विज्ञापनको अष्ट्रेलियामा पनि विरोध भएको छ । हिन्दू धर्मका भगवान गणेशले मासु खाँदैनन् । तर पनि विज्ञापनमा भेडाको मासु खाएको देखाइएपछि त्यहाँ रहेका हिन्दूहरुले यसबारेमा विरोध जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हिन्दू धर्मको मुल मर्ममा प्रहार गर्नेगरी बनाईएको बिज्ञापनप्रति लक्षित गर्दै भारतले कुटनीतिक तरिकाले यसको विरोध गर्दै त्यो विज्ञापन हटाउन आग्रह गरेको बीबीसीले जनाएको छ । भारतीय उच्चायोगले हिन्दू धर्ममा यसले चोट पुर्याएको भन्दै कारवाहीको माग गरेको छ । अष्ट्रेलियाको विज्ञापन नियामक संस्था एडभटाइजिङ स्टान्डर्डले यस विज्ञापनको विरुद्धमा ३० बढी उजुरी दर्ता भएको जनाएको छ । गणेश चतुर्थीको केहीदिन पछि नै उक्त विज्ञापन जारी गरिएको जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस्