Logo

७५ बर्षिय अमरबहादुर थापामगर नर्सरीमा भर्ना

स्थान :बेनी 
नाम : अमरबहादुर थापामगर
उमेर : ७५ वर्ष
कक्षाः नर्सरी
रोल नं : १०
स्तावेज भाद्र २७ गते मंगलवार २०७४बेनी नगरपालिका-१ रत्नेचौरमा सञ्चालित नेसनल प्रोग्रेसिभ एजुकेसन एकेडेमीमा भेटिने एउटा बिध्यार्थीको यस्तो ‘प्रोफाइलले’ सबैलाई आश्चर्यमा पार्छ । ढाका टोपीमा सजिएर उनी बिहान साढे ९ बजे बिध्यालय आइपुग्छन्। अनुहार चाउरिएका र दाँत पनि झरिसकेका अमरबहादुर नर्सरीमा ५/६ वर्षका बालबच्चासँगै पढ्छन्, खेल्छन् र छुट्टी भएपछि उनीहरूसँगै लाइनमा घर फर्कन्छन् ।

१९९९ सालमा जन्मेका अमरबहादुरले १५ वर्ष भारतीय सेनामा काम गरे । जागिरे जीवनमा होस् या अवकाशपछि, दिनहुँ पढाइको महत्व खड्किएपछि उनी एक महिनाअघि बिध्यालय भर्ना हुन आए । बिध्यालयका प्रिन्सिपल, शिक्षक तथा अभिभावकले सुरुमा ठट्टा सम्झे। भर्ना शुल्क र पुस्तक किन्ने पैसा सहित झोला बोकेर नियमित बिध्यालय आउन थालेपछि प्रिन्सिपल यामबहादुर थापाले उनलाई भर्ना गरिदिए।

उनी राम्रोसँग कान सुन्न सक्दैनन् तर एकपटक भनेको कुरा भुल्दैनन् र कपीमा नोट गरिहाल्छन् । ‘थुप्रै वर्ष भारतीय सेनामा काम गरेँ, विभिन्न ठाउँ घुमें, पढाइ नभएकाले ठूलो मान्छे बन्न सकिनँ’, अमरबहादुर भन्छन्, ‘केही कुरा सिक्नलाई मान्छे कहिल्यै बूढो हँदैन ।’ उनलाई नेपाली र गािणत एकदमै अप्ठ्यारो लाग्छ । अंग्रेजी त्यति गाह्रो लाग्दैन । ‘नेपाली भएर नेपाली मात्रा लेख्न गाह्रो भइरहेको छ।

विश्वको सबैभन्दा अप्ठ्यारो पनि नेपाली लेख्न रहेछ भन्ने बुझ्दै छु’, उनी थप्छन्, ‘साना बच्चाहरू ज्ञानी र इमान्दार हुन्छन्, उनीहरूसँगै बसेर पढ्दा आनन्द आउँछ, त्यही भएर नर्सरीमा भर्ना भएको हुँ ।’ अमरबहादुरसँग बालबच्चा चाख मानेर पढ्ने गर्छन् । केहीले जिस्क्याउछन् पनि । तर उनी बडो उत्सुकतापूर्वक लेख्न र पढ्न तल्लीन हुन्छन् । इच्छाशक्ति भए पढ्न र सिक्न उमेरले छेक्दैन भन्ने उदाहरण बनेका अमरबहादुरलाई सुरुमा घरपरिवार र छरछिमेकले पत्याएनन् । ‘नजाऊ भो’ भनेर दबाब दिए।

‘अहिलेसम्म नसिकेका कुरा सिक्न चाहन्छु । त्यही भएर बिध्यालय आइरहेको छु’, उनी भन्छन् । बिध्यालयका प्रिन्सिपल, शिक्षक शिक्षिका र बिध्यार्थी सबै उनलाई बाजे भनेर बोलाउँछन् । बाजेलाई साना बच्चाहरूसँग राखेर पढाउँदा सुरुमा अप्ठ्यारो लागे पनि अहिले सहज बन्दै गएको नर्सरी कक्षाकी शिक्षिका टीकादेवी थापाले बताइन् । ‘पहिला ३, ९, ७ लेख्न सक्नुहुन्थेन तर अहिले ९९ सम्मै लेख्नुहुन्छ।

एकपटक यसो हो बाजे भनेपछि उहाँले गरिहाल्नुहुन्छ’, उनले भनिन्, ‘बच्चाहरूले जेजे क्रियाकलाप गर्छन्, उहाँ पनि त्यस्तै गर्नुहुन्छ ।’ बिध्यालयका प्रिसिन्पल याम थापाले बिध्यालय आउन र जान अन्य बिध्यार्थीलाई जस्तो कडाइ नगरिएको बताए । ‘तै पनि बिहान समयमै आउनुहुन्छ, खाजा खाने समयमा खानुहुन्छ, छुट्टी भएपछि बच्चाहरूसँगै लाइनमा जानुहुन्छ’, उनले भने, ‘एक महिना निरन्तर आउनुभएको छ, उहाँ धेरै जिज्ञासु पनि हुनुहुन्छ।’ 

साभार ,अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्