Logo

नुवाकोट बस दुर्घटना: अस्पतालको शय्याबाट घाइतेहरुको बयान (फोटो फिचर र भिडियो)

 

स्तावेज,भाद्र २५ गते आईतवार, २०७४, काठमाण्डौं – नुवाकोटको थाना भन्ञ्याङमा आज दिउँसो भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । काठमाडौंबाट छहरे नुवाकोटका लागि गुडेको बा १ ख ६३४८ नम्बरको यात्रुबस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भयो भने थप तीन जनाको काठमाडौंमा उपचार क्रममा ज्यान गएको हो। २८ जना घाइतेको राजधानीको ग्रान्डी र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। क्षमताभन्दा बढी यात्रु बोकेको बस घुम्तीमा मोडिन नसकेर दुर्घटना भएको घाइतेहरुले बताएका छन् । बस सडकबाट २ सय मिटर तल खसेर एउटा घरमाथि बज्रिएको थियो। 

‘जब बसले घरलाई थिच्यो’

बस सडकबाट ढलपलाउँदै तल खसेर एउटा घरमाथि बज्रिँदा घरका एक जना घाइते भएका छन्।राजधानीको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचाररत घाइतेका श्रीमान् तथा घरधनीले सुरुमा भूकम्प आए जस्तो आवाज आउँदै बस घरमाथि बज्रिएको बताए ।

‘भूकम्प आए जस्तो गर्जनसँगै भाग-भाग भन्ने चिच्याहट पनि सुनियो । घरमाथि केही हुँदै छ भन्ने लागेपछि म भागेँ । श्रीमती भने घरमा थिचिएर घाइते भइन्’, उनले नेपाल लाइभसँग भने।

११ महिने बच्चाले गुमाए आमा

मृतकमध्ये एक जनाको मात्र परिचय खुलेको नुवाकोट प्रहरीले जनाएको छ । नुवाकोट रालुका गाउँपालिका २ सिम्ले की २१ वर्षीया सविना तामाङको सनाखत भएको हो।बसभित्र गम्भीर घाइते अवस्थामा उद्धार गर्दा उनले ११ महिने छोरालाई काखमा च्यापिरहेकी थिइन्।सविनाका पति जिसिङ तामाङ रोजगारीका लागि साउदी अरेबियामा रहेको मृतककी नन्दले बताइन्।

प्रतिक्रिया दिनुहोस्